Comments Add Comment

नेकपामा नेतासँग आँखा जुधाएर बहस गर्ने छुट छ : विष्णु पौडेल

१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफ्ना कार्यकर्तालाई आन्तरिक लोकतन्त्रको भरपुर उपयोग गर्न आग्रह गरे ।

शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीले काठमाडौंका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई पार्टीको नीति र नेतृत्वको आलोचना गर्ने छुट भएको बताए । ‘कस्तो नीति अवलम्बन गरेर पार्टीलाई अगाडि बढाउन सकिन्छ ? भनेर नेताको आँखामा आँखा जुधाएर बहस गर्ने छुट छ । यहाँहरुलाई आन्तरिक लोकतन्त्रको भरपुर उपयोग गर्न आग्रह गर्न चाहन्छु’ उनले भने ।

आन्तरिक लोकतन्त्रको नाममा अराजक प्रवृत्ति नदेखाउन पनि महासचिव पौडेलले सचेत गराए । ‘आन्तरिक लोकतन्त्रको उपयोग गर्ने नाममा अजाजक प्रवृत्ति देखिन थालेका छन् । हामीले आन्तरिक लोकतन्त्रको उपयोग अनुशासनमा रहेर उपयोग गर्ने हो । यसतर्फ सचेत गर्न चाहन्छु’ उनले भने ।

आफूहरु जनताको पनि स्वच्छ आलोचना सुन्न तयार रहेको भन्दै महासचिव पौडेलले सरकारका काम कारबाही र नेकपाको गतिविधिका सन्दर्भमा आलोचना गर्न आग्रह गरे ।

‘पार्टीको नीति र नेतृत्वको आलोचनालाई ग्रहण गर्दछौं । सरकारको आलोचना ग्रहण गर्दछौं । स्वच्छ सुझाव र आलोचना हामी सुन्न चाहन्छौं’ उनले भने ।

चुनावमा हारियो भनेर ब्यवस्थाविरुद्ध नसोचौं

महासचिव पौडेलले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था विरुद्ध गतिविधि गरेको अराोप लगाएका छन् ।

उनले भने, ‘कांग्रेसभित्र हिन्दु अधिराज्य चाहियो भन्ने ढङ्गको छलफल हुन थालेको सुनिएको छ । निर्वाचनमा हारजित हुन्छ । कम्युनिस्टले जिते भनेर ब्यवस्थाकै विरुद्ध सोच्ने गल्ती गर्न हुँदैन ।’

राजतन्त्र नै चाहिन्छ भन्नेहरुलाई समेत संविधानसभा हुँदै गणतान्तिक ब्यवस्थामा ल्याइएको भन्दै पौडेलले थपे, ‘धर्मनिरपेक्षता, संघीयता जस्ता उपलब्धीहरुमा हामीले गर्व गर्नुपर्छ । फरक ढङ्गले सोच्ने होइन ।’

कार्यक्रममा नेकपाको सम्पर्क समन्वय कमिटीका इन्चार्ज छविलाल विश्वकर्माले जनताको जीवनमा परिवर्तन ल्याउन संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment