Comments Add Comment

दौड जिते एकदिने राजा बन्न पाइने !

११ असोज, गोरखा । दशौं लिगलिगे दौड प्रतियोगिता १६ असोजमा हुने भएको छ । पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा हुने दौडमा सहभागीले चेपे र मर्स्याङ्दी नदिको दोभान चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म १३.८ किलोमिटरको दुरी पार गर्नुपर्नेछ ।

प्रतियोगीताको उपाधि बिजेतालाई लिगलिगे राजा घोषित गरिने छ । श्रीपेच र पगरीसहित राजा बनाएर उनलाई मोटरमा राखेर नगर परिक्रमा गराइने नगर प्रमुख दिपक बाबु कडेलले बताए । ‘एक रात लिगलिगे राजा बनाएर त्यो दिन उहाँलाई लिगलिगकोटमा राख्छौं,’ उनले भने, ‘एक वर्षसम्म लिगलिगकोट दूत पनि हुनेछन् ।’

विजेतालाई ६० हजार नगद पुरस्कार पनि दिइनेछ । दोस्रोले ३५ र तेस्रोले २५ हजार नगद पनि पाउने अभियानका अध्यक्ष पूर्ण रानाले बताए ।

यसैगरी महिलातर्फ बड्डाँडाबाट लिगलिगकोटसम्म ५ किमी खुल्ला दौड प्रतियोगिता हुनेछ । पहिलो हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले ७ हजार नगद पुरस्कार पाउनेछ ।

लिगलिगवासीका लागि १३.८ कि.मी दुरीको छुट्टै दौड प्रतियोगिता पनि हुनेछ । यसमा पहिलो हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रो हुनेले ७ हजार नगद पुरस्कार पाउनेछ ।

स्थानीय छात्रछात्रा र ४० बर्ष माथिका भेट्रानहरुको दौड पनि हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न २९ लाख लाग्ने अनुमान छ । नगरपालिकाले १३ लाख रकम छुट्याएको नगर प्रमुख कडेलले जानकारी गराए । खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग प्राप्त भएको उनले बताए । प्रतियोगीताको पुरस्कार खर्च भनेे नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए ।

लिगलिगकोटमा विस १६०४ बाट दौड जितेर राजा हुने प्रचलन शुरु भएको इतिहास छ । द्रव्य शाह पनि दौडेर लिगलिगकोटको राजा बनेको इतिहासकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment