Comments Add Comment

फिल्म समीक्षा : रातो टीका निधारमा

‘सिनेमाले कथा वा कन्टेन्ट मात्र होइन, स्टाइल, फेसन, डायलग, संगीत सबै बेच्न सक्नुपर्छ’ निर्देशक-कवि प्रकाश सायमी यसै भन्ने गर्छन् ।

एक जमना थियो, नेपाली सिनेमको संगीत उधुम बिक्ने । ठिक त्यही बखत अशोक शर्माहरु सिनेमा बनाउँथे, सिनेमाका गीतहरुले मेलापातदेखि विवाह–भोजसम्म संगीतमय बनाइदिन्थे ।

‘रातो टीका निधारमा’ एक यस्तै सर्वप्रिय गीत थियो, जो अशोक शर्मा निर्देशित ‘अल्लारे’ चलचित्रमा समाविष्ट छ । यसै गीतको फेरो समातेर उनै शर्माले चलचित्र बनाए, रातो टीका निधारमा ।

रातो टीकाले दशैंलाई इंगित गर्छ । दशैंको माहौल सुरु हुँदै गर्दा यो चलचित्र सार्वजनिक गरिएको छ । यसैले ‘फेस्टिभ मुड’मा दर्शकलाई हलसम्म तान्छ भन्ने अपेक्षा यहाँ घुलिएको छ । आफ्ना छोरालाई हिरोको रुपमा पर्दापण गराउने  प्रयास पनि हो यो ।

अब यहाँ दुई वटा प्रश्नले टाउको उठाउँछ ।

पहिलो प्रश्न, ५० को दशकका निर्देशकले अहिलेका दर्शकको मर्म र सिनेमा–चेतलाई कसरी सम्बोधन गर्छन् ? दोस्रो प्रश्न, छोरालाई हिरो बनाउने निर्देशक शर्माको यो जोडबल कति सार्थक होला ?

यी उत्सुकता मेट्नका लागि चलचित्र ‘रातो टीका निधारमा’लाई खोतल्नुपर्ने हुन्छ ।

कस्तो छ कथा ?

आकाश (अंकित शर्मा) एक शैक्षिक परामर्श केन्द्रका एजेन्ट हुन्, जो डिपेन्डेट भिषामा विदेश जानेहरुका लागि नक्कली विवाहको तारतम्य मिलाइदिन्छन् । आकाश स्वदेशमै श्रम गर्न चाहन्छन् । यसमा उनका सहयोगी छिन्, दृष्टि (साम्राज्ञी राज्यलक्ष्मी शाह) ।

आकाश आफ्ना समवयी दृष्टिलाई एकतर्फी र अव्यक्त प्रेम गर्छन् । जबकि दृष्टि भने अब्रोड स्टडीको बहानामा अमेरिका उड्ने जमर्को गरिरहेकी छिन् । आखिरमा विदेश जाने चक्करमै उनी ग्रीनकार्ड होल्डर युवासँग विवाह गर्न पुग्छिन् र स्वदेश छाड्छिन् ।

अब वियोगले विरक्तिएका आकाश आफ्ना दुई हितैषी गणेश (बुद्धि तामाङ) र मोहित (रबिन्द्र झा)सँग मदिरा पिएर मनको वह पोख्न  थाल्छन् । अन्ततः उनी पनि डिपेन्डेट भिषा च्यापेर विदेशिने तयारीमा लाग्छन् । यसका निम्ती लाग्ने कुल ३० लाख मध्ये आधा अर्थात १५ लाख उनले जुटाउनुपर्ने हुन्छ । त्यही रकम जुटाउनका लागि उनी वैदेशिक रोजगारका एजेन्ट बनेर पूर्ख्यौंली गाउँ फर्कन्छन् । गाउँमा जुवातास खेल्दै वा यसै बरालिएर बस्नु भन्दा खाडी मुलुक गएर श्रम गर, पैसा कमाएर मोजमस्ती गर । आकाश यस्तै भन्छन् ।

आकाशको कुरा मनासिव ठान्दै जुवाडे काकासहितका सबै युवा धमाधम विदेश जान थाल्छन् । ठिक त्यही बखत आकाशको अप्रत्यासित भेट हुन्छ, दृष्टिसँग । अमेरिका उडेकी दृष्टि कसरी यहाँ आइपुगिन् ? जिज्ञासा उठ्ने नै भयो । दृष्टिले सुनाउँछिन्, श्रीमान् र उनी गाउँ फर्किएर स्वदेशमै केही गर्ने योजनामा थिए । त्यही योजना अनुरुप सबै कुरा ठिकठाकसँग भइरहेको थियो । तर, एकदिन अचानक हृदयघात भएर उनका श्रीमान् विते ।

श्रीमान् वितेपछि उनको अधुरो इच्छा पुरा गर्नका लागिपरेकी छिन्, दृष्टि । उनी गाउँमै उद्यम गर्नुपर्छ, विदेश जानुहुन्न भनेर गाउँलेहरुलाई जागरुक बनाउने अभियानमा छिन् । यसको विपरित कित्तामा उभिएका छन् आकाश । प्रेमले नजिकिएका उनीहरु अब सामाजिक द्वन्द्वले एकअर्काका विरोधी बन्न पुग्छन् ।

यो मोडमा आइपुगेपछि कथाले आकाश र दृष्टिको प्रेमलाई मलजल गर्छ वा उनीहरुले बोकेको भिन्न आदर्श र अभियानतर्फ मोडिन्छ ? जवाफका लागि सिनेमाघरमा करिब दुई घण्टा गुजार्नुपर्नेछ ।

के छ राम्रो ?

एकसरो हेर्ने हो भने यसको कथा समय–सापेक्ष, स्वादिलो र सन्देशमुलक छ । पढेलेखेका युवाहरुमा जागेको विदेश मोह, डिपेन्डेट भिषाको नक्कली खेल, कन्सल्टेन्सीहरुको धन्दा जस्ता अहिलेका जल्दोवल्दो मुद्दालाई यसले उँधिनेको छ । यता श्रमको खोजीमा खाडी मुलुक भाँसिनेहरुका कारण गाउँघर रित्तिदै गएको यर्थाथलाई पनि यसले सम्बोधन गरेको छ ।

सामाजिक-आर्थिक विच्छृंखलता ल्याउने यी परिघटनाहरु पेश गर्दै चलचित्रले स्वदेशमै श्रम, स्वदेशमै उद्यम गर्नुपर्ने वकालत गर्छ । ‘वर्षेनी करोडौंको गुन्द्रुक समेत चीनबाट आयत गरिरहेको’ तथ्य पेश गर्दै चलचित्रले गाउँमा बाँकी रहेका दिदीबहिनीहरुमा उद्यमशिलता विकास गर्नुपर्ने आवश्यकता औंल्याउँछ र त्यसको सुनौलो प्रतिफल देखाउँछ ।

दुई वैंशालु किशोर–किशोरीको प्रेमकथालाई मियो बनाएर चलचित्रले सामाजिक रुपान्तरणको कथा भन्छ ।

कहाँ चुक्यो ?

‘रातो टीका निधारमा’ चलचित्र कुनै परिपक्क निर्देशकको उत्पादन होइन भन्नका लागि मुख बारिरहनु पर्दैन, जब यसको टिठलाग्दो दृश्यभाषा देखिन्छ । भलै, ५० को दशकमा यत्तिको अभ्यास दर्शकले पचाउँथे, पत्याउथे । तर, अहिले दर्शकलाई यस्तो चलचित्र पच्नका लागि हजमोलाको अतिरिक्त डोज लिनुपर्ने हुन्छ ।

जस्तो, आफुले असाध्य मन पराएकी दृष्टि अमेरिका उडेपछि आकाशले धेरै रात मदिरा पिएर गुजार्छन् । आखिर आफुले प्रेम गर्न नपाएकै झोंकमा उनी विदेश जाने मोडमा पुग्छन् र त्यसैका लागि खर्च जोहो गर्न गाउँ पुग्छन् । गाउँमा अचानक दृष्टि भेट हुन्छे, जो स्वदेश फर्किएकी मात्र छैनन् विधुवा पनि भएकी छिन् । कति अपत्यारिलो प्रसंग ?

अमेरिका भनेर मरिहत्ते गर्ने दृष्टि स्वदेश फर्कन कति चाडै राजी भइन् ? उनले स्वदेश फर्किएको कुरा, आफ्नो श्रीमान् वितेको कुरा, आफूले नयाँ अभियान सुरु गरेको कुरा आकाशलाई सुनाइनन् । आकाश पनि यत्तिका अवधिसम्म दृष्टिबारे बेखबर भए । के उनीहरुसँग मोबाइल थिएन ? फेसबुक वा अरु कुनै माध्याम थिएन ?

विदेश गएका काका कफिनमा लास बनेर फर्किन्छन् । आँगनमै लास ल्याइपु¥याउँदा मात्र काकीलाई यो खबर थाहा हुन्छ । के वैदेशिक रोजगारीमा गएकाहरुको उतै मृत्यु भएमा यसरी चुपचाप र अप्रत्यासित घरमा लास पठाइन्छ ?

शहरमा बस्ने आलाकाँचो किशोर आएर गाउँलेहरुलाई विदेश जानुपर्छ भन्दैमा गाउँभरका युवाहरु पंक्तिबद्ध भएर विदेश जान्छन् ?

गाउँमा युवाहरु छैनन्, लास उठाउने महिला मात्र छन् । तर, लास उठाएर लगेको दृश्य पनि कम्ता नाटकिय छैन । अर्कोतिर महिलाहरु नै हलो जोत्न र खेती गर्न बाध्य छन् । दृष्टि सुकिलो–मुकिलो भएर हलो जोत्छिन्, आकाश टिपटप भएर गोबर सोर्छन् ।

विषयगत कोणबाट यस्ता त्रुटी कति छन् कति, जसलाई सामान्य दर्शकले पनि सजिलै खुट्याइदिन्छन् । कथाको वहकाव र प्रसंगहरुको गाँठो पनि धिमा र खुकुलो छ । यसमा निर्देशकिय शिल्प खोज्दै नखोज्दा हुन्छ । अभिनयको कुरा गर्ने हो भने अंकित शर्मा भर्खरै जन्मिएर नतंग्रिएका गाईको बाछो जस्तै लाग्छ । साम्राज्ञीले आफ्नोतर्फबाट सक्दो प्रयास गरेकी छिन् । बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, निता ढुंगाना आदिलाई जोकरभन्दा माथि उठ्न दिइएको छैन ।

यो चलचित्र कहिले कृषि कार्यक्रम जस्तो त कहिले सन्देशमुलक टेलिशृंखला जस्तो लाग्छ । त्यसो हुनुको पछाडि सन्देशमुलक बनाउने चक्कर र कथा सक्ने हतारोवीच तालमेल नमिल्नु नै हो । आफ्नै छोरोलाई हिरो बनाउनु अर्को गल्ती हो ।

हँसाउनका लागि थोपरिएको पात्र र जोडजाड गरिएको उपकथाले अन्ततः चलचित्रकै मजाक उडाएको छ । खासमा कमजोर पटकथा र निर्देशकिय कौशलको खडेरीले ल्याएको नतिजा हो यो ।

फितलो ठट्यौली, नाटकिय रोइकराई, झर्कोलाग्दो मदिरापान र पट्यारलाग्दो घटनाक्रम । सोझै भन्नुपर्दा, ‘रातो टीका निधारमा’ दर्शकको रक्तचाप बढाउने चलचित्र हो । यसका कुनैपनि प्रसंग स्वभाविक र तर्कसंगत लाग्दैन । हचुवाको सन्देश पेश गर्दै चलचित्रले आफ्नो लय गुमाएको छ ।

चलचित्र : रातो टीका निधारमा

निर्देशक : अशोक शर्मा

कलाकार : अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह आदि

अवधि :  एक घण्टा ५५ मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment