
यतिखेर सामाजिक सञ्जालदेखि राष्ट्रिय दैनिकसम्म नौविसे-नागढुङ्गा सडकमार्गको जामले तातेको छ । राजधानी छिर्ने र बाहिरिने मुख्य नाकामा घण्टौंसम्म जाम पर्न थालेको छ। यसले सर्वसाधारण यात्रुको दैनिकी नराम्ररी प्रभावित पारेको छ। जामकै कारण समयमा उपचार नपाएर बिरामीको ज्यान सम्म गएको छ। नेपालीहरुको महान पर्व बडा दसैं नजिकिँदै जाँदा घटस्थापना पस्चात अधिकांश स्कुल, कलेज बन्द हुने र लाखौं यात्रुले काठमाडौं छोड्ने हुंदा राजमार्गमा सवारी चाप अझै बढ्ने निश्चित छ।
उक्त राजमार्ग भएर यात्रा गर्नेका निम्ति यस्तो जाम नौलो भने होइन। विगत केही वर्षदेखि साँघुरो, उकालो तथा जिर्ण अवस्थामा रहेको सडक र सवारी चापका कारण उक्त समस्या बारम्बार दोहोरिने गरेको छ। सामान्य अवस्थामा पनि दैनिक ८ हजार भन्दा बढी गाडीको आवात जावत र उकालो बाटोमा कयौँ टन लोड बोकेका लरी बिग्रिदा यातायात अवरुद्ध हुन पुगेको ट्रफिक प्रहरी र यातायात व्यवस्था विभागको निष्कर्ष छ। यात्रालाई सहज बनाउन विभागले आईतबारदेखि ठूला सवारीसाधन प्रवेशमा रोक लगाएको छ । तर, यसले अर्को समस्या निम्त्याउने खतरा छ। देशको अर्थतन्त्रमा मात्र नभई चाडपर्वको मुखमा यसले सर्वसाधारणको भान्सासम्म ठूलो असर पार्ने देखिन्छ।
यसरी समस्या विकराल बन्नुमा हाम्रो कार्यशैली नै मुख्य रुपमा दोषी छ। नौविसे-नागढुङ्गा सडक मर्मतको जिम्मा पाएको ठेकेदार कम्पनी जीएमआरले सम्झौता अनुसार गत असार मै काम सक्नु पर्ने थियो। तर कम्पनीले मर्मतको काम अहिले चाडपर्वको मुखमा सुरु गरेको छ। खै के लाभ लिन हो हाम्रो देशमा गर्नै पर्ने काम पनि समस्या परेपछि मात्र गर्ने पुरानै प्रवृत्ति हो। देशमा हर क्षेत्रमा सुधारका निमित्त यस्तो प्रवृत्तिको अन्त्य अनिवार्य छ।
यस्तै दिगो विकासकालागि चाहिने दूर दृष्टिको अभावको परिणाम पनि हामीले पाइला पाइलामा भोगिरहेका छौं। हामी बुझेर नबुझे झैं गर्छौं या साच्चै बुझ्दैनौ, अचम्म छ। यस्ता दुख हाम्रो आजको कर्मको प्रतिफल होइन। हिजो हामीले समयमै गर्नुपर्ने कामहरु नगर्दा आज त्यसको परिणाम भयावह भोग्दै छौँ। हामीले हिजै हाम्रो सवारी आयातको दर र अवस्था हेरेर सडक पुर्वाधारको विकास गर्न सक्नुपर्थ्यो। नेपाली सेनाले हाल काठमाडौं हेटौंडा फास्टट्रयाक तिब्र गतिमा निर्माण गरिरहेको छ।सेनाको बिगत हेर्दा समयमै काम सक्ला पनि तर त्यो फास्टट्रयाक त्यतिबेला बन्ने छ, जतिखेरसम्म ४ लेनको फास्टट्रयाकले पनि यातायातको आयतन थेग्न नसक्ने अवस्थामा पुगेको हुनेछ।
यसरी हेर्दा २० वर्ष अगाडि बनाइसक्नुपर्ने फास्टट्रयाकको निर्माण दुःख पाएपछि आज सुरु गर्दैछौं, यसले ३-४ वर्ष पछि १-२ वर्ष त राहत देला । तर, पछि परिस्थिति उस्तै भयावह हुने छ। ट्राफिक आयातलाई उक्त फास्ट ट्रयाकको क्षमताले पनि नधान्ने प्रष्ट देख्न सकिन्छ। यस्ता जामबाट छुटकारा पाउने गतिलो उपाए भनेको रेलमार्गको निर्माण नै हो।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काठमाडौं–रसुवागढी हुँदै तिब्बतको केरुङसम्म पुग्ने रेलमार्ग निर्माण गर्ने विषय चर्चामा पुग्यो। यसलाई कतिपयले अपत्यारिलो र ठट्टाका विषयमा पनि लिए। जेहोस् प्रधानमन्त्रीको वक्तव्यले नेपालमा रेलमार्गको विषयको बहसले उच्च स्थान पाएको छ।

तथ्यसंगत ढंगबाट अध्यायन गर्दा पनि नेपालमा रेलमार्ग सहज यातायातका निम्ति एउटा भरपर्दो विकल्प हुने देखिन्छ। त्यसैले हाम्रा सोधहरु, छलफलहरुलाई यस दिशामा अझ घनीभूत पार्नुपर्छ ता कि सरकारलाई कार्यन्वयनका लागि ढाडस मिलोस, दबाव परोस्।
रेलमार्ग निर्माणको सन्दर्भमा ‘जटिल र कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ यस्तो स्थानमा पनि रेलमार्ग निर्माण गर्न सकिन्छ र? भन्ने प्रश्नले स्थान पाएको देखिन्छ। नेपाल भौगर्भिक रुपमा यस्तो भूभागमा पर्दछ जहाँ पहाड बन्ने प्रक्रिया अझै सक्रिय छ। पहाड बन्ने क्रममा पृथ्वीको सतह उचालिंदा या भासिँदा चट्टान कोल्टिएका, दोब्रिएका, चिप्लिएका र दरार परेका हुन सक्छन् ।
कतिपय ठाउँमा यी दरार अत्यन्त गहिरा र धेरै लामा हुन्छन् । तिनीहरूको चौडाइ भने केही सेन्टिमिटरदेखि केही मिटरसम्म मात्र हुन्छ । दरारहरु पृथ्वीको सतहमा प्राय: सजिलै देख्न सकिँदैन । पृथ्वीको सतहमा हुने प्राकृतिक प्रकृया जस्तै भल पानी, पहिरो तथा हावाले उडाएर ल्याएका ढुंगा माटोका निथारले ती चिरा पुरिएर नदेखिने भएका हुन्छन् ।
अनुभवी भूगर्भविद्हरूले दरारहरूको अवस्थिति पत्ता लगाउन सक्छन् । साधारण तया यस्ता दरार भएका स्थानहरु कमजोर हुने, पहिरोको उच्च सम्भावना हुने र भुकम्पको बेला असाधारण हलचल हुने हुँदा यिनीहरुको अध्ययन महत्वपूर्ण हुन्छ। अझ रेल, टनेल लगायतका पूर्वाधारको विकासमा त यिनीहरुको अध्ययनको महत्व अत्यन्तै धेरै छ।
विश्वका विभिन्न मुलुकहरु जस्तै जापान, चीन लगायतका थुप्रै ठाउँमा यस्ता भूकम्पीय जोखिमका क्षेत्र छन् । त्यस्ता ठाउँमा सफलतापूर्वक रेलमार्ग बनाइएका छन् । तर, डिजाइनमा भने विशेष ध्यान पुर्याउनुपर्छ। देशभित्र उत्पादन भएका इन्जिनियर, इन्जिनियरिङ भूगर्भविद, भूगर्भविद लगायतका जनशक्तिहरुको यथोचित परिचालन गरी पूर्वाधारको विकास गर्न अगाडि बढ्नुपर्छ।
प्रतिक्रिया 4