Comments Add Comment

सीको भ्रमणअघि सडक चम्काउने तयारी, दशैंमा विभागलाई चटारो

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ अहिले । तर, अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ ।

दशैं आउन लागेर सबै सरकारी निकाय चिसिएका बेला सडकमा सुधारमा चाहिँ किन व्यग्रता ? यसको एक मात्र कारण हो, चिनियाँ राष्ट्रपति सि जिन पिङको आसन्न भ्रमण । विशिष्ट विदेशी अतिथिलाई राजधानीको जिर्ण सडक नदेखाउने परम्परागत रणनीतिअनुसार यसपाली पनि तयारी गरिएको हो ।

असोजको अन्तिम साता चिनियाँ राष्ट्रपति काठमाडौंमा ओर्लने कार्यक्रम छ । उनको भ्रमण पूर्व नै काठमाडौंमा सडकको खाल्डा पुर्ने र कालोपत्रे गर्नेेदेखि अस्तब्यस्त बनेको तार व्यवस्थापनसम्मको काम गरिदैछ । सुरक्षा संवेदनशीलता र देशको प्रतिष्ठालाई ध्यानमा राखेर भ्रमणअघि यी काम गर्न लागिएको सम्वन्धित निकायका अधिकारी बताउँछन् ।

यस्तै सकडबाट हेर्दा लाज मर्नु अवस्थामा रहेको तीनकुनेको चौरदेखि सडक छेउका निर्माण साइटहरुलाई फ्लेक्स लगाएर छोपछाप पारिनेछ । स्वागत गेटहरुको निर्माण गरिनेछ भने मुख्य सडकका पेटीमा पनि सुधार गर्ने योजना छ । एयरपोर्टदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको सडकलाई उच्च महत्वका साथ सिंगारिने सडक विभाग स्रोतले बतायो ।

विभागका अनुसार दशैंअघिबाटै काठमाडौंका मुख्य सडकहरुमा खाल्डा पुरेर कालोपत्रे गर्नेदेखि पेटीहरुमा रंगरोगन लगायतका काम सुरु हुनेछन् ।

पानी नै परिरहे पनि काम गर्नैपर्ने दबाव रहेको सडक विभागका एक अधिकारीले बताए । ‘दशैंको आसपासमा हाईप्रोफाइल भिजिट हुने भन्ने जानकारी आएको छ । भ्रमणलाई लक्षित गरेर मुख्य सडकहरुको व्यवस्थापन सही तरिकाले गर्नुपर्नेछ,’ ती अधिकारीले भने, ‘पानी परिरहेको छ । दशैंका बेला कामदार पाउन गाह्रो छ । तर पनि काम गर्नैपर्छ ।’

उनका अनुसार अहिले राजमार्गभन्दा बढी काठमाडौंको सडकमा ध्यान दिनुपर्ने अवस्था छ । राजमार्गहरुको व्यवस्थापनका लागि सडक डिभिजनहरुलाई सक्रिय गराइएको र काठमाडौंको सडकलाई टल्काउने कामका लागि निकै दबावका साथ काम सुरु गर्न लागिएको विभाग स्रोतले जनाएको छ ।

यस्तै दूरसञ्चार प्राधिकरणले पनि बिजुली तथा टेलिफोनका खम्बामा अव्यवस्थित रुपमा झुण्ड्याइएका इन्टरनेट तथा केबल तारहरु हटाउन तयारी गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले दशैंअघि नै यस्ता तार हटाउन निर्देशन दिएको छ ।

अव्यवस्थित तारका कारण शहरको सुन्दरतामै असर परेको र आगलागी तथा दुर्घटना बढेको भन्दै प्राधिकरणले सेवा प्रदायकलाई तुरुन्तै काम थाल्न भनेको हो । दशैंअघि नै त्यो काम नगरिए प्राकिरण आफैं अघि सर्ने सोचमा छ ।

‘शहरलाई सन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एवम् व्यवस्थित रुपमा सेवा जडान गराउन अव्यवस्थित, असुरक्षित तथा शहरलाई नै कुरुप बनाउने गरी जडान भएका तारहरुलाई आगामी बडादशैं अगावै व्यवस्थापन गरी शहरको सुन्दरता कायम गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

सूचनाको अवज्ञा गरी अव्यवस्थित रुपमा तारहरु टाँग्ने तथा तारालाई रोड वारपार गराएको पाएमा आवश्यक कानूनी कारबाही गर्ने सूचनामा उल्लेख छ ।

यस्तै यो समयमा काठमाडौं महानगरपालिकाले पनि आफ्ना क्षेत्रभित्रका सडकहरुको सुधार गर्ने छ भने सरसफाइमा यान दिनेछ । सडकबत्तीहरुको मर्मत सम्भार र फ्लेक्स बोर्डहरु हटाउने काम महानगरपालिकाले गर्नेछ ।

विभिन्न सडक खण्डमा हरियाली व्यवस्थापनका लागि जिम्मेवारी लिएका नेपाल टेलिकम लगायतका निकायलाई पनि सक्रिय गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment