+
+
Shares

अतिरिक्त शुल्क फिर्ता गर्न सीएमसीलाई २४ घण्टे अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १७:४६

१२ असोज, चितवन । अतिरिक्त शुल्क सहमति अनुसार फिर्ता नगरेको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् ।

गत असोज ४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सहमति अनुसार असोज १० गतेसम्म कलेजले लिएको भनिएको अतिरिक्त शुल्कको भर्पाइ रसिद दिने र सोबारेको प्रतिवेदन बनाउने भन्ने उल्लेख छ । तर, सो बमोजिम कलेज प्रशासनले रसिद नदिएको र प्रतिवेदन पनि तयार नभएको भन्दै विद्यार्थी र अभिभावकले संयुक्त रुपमा आइतबार विज्ञप्ती जारी गरि २४ घण्टा भित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । जारी विज्ञप्तीमा चितवन मेडिकल कलेजका प्रतिनिधीहरुले भर्पाइ नदिने, प्रतिवदेन तयार पार्ने काममा आलटाल, ढिलासुस्ती र अवरोध सिर्जना गर्ने, नाजायज विवाद उठाउने गरेको कारण समयमा नै प्रतिवदेन तयार हुन नसकेको आरोप लगाइएको छ ।

चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संघर्ष समितिका अध्यक्ष निर्मला कँडेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘अवैध लिएको रकम फिर्ता नभइञ्जेल आन्दोलनलाई जारी राख्ने छौं ।’

माग पूरा नभए असोज १३ गते विहान ११ बजेबाट विद्यार्थी, नागरिक समाज र अभिभावकहरुको संयुक्त बिरोधसभा गरी आन्दोलन सुरु गर्ने विद्यार्थीको रहेको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले बताए ।

तयार भएन प्रतिवदेन

भदौ १५ गतेबाट आन्दोलन थालेका विद्यार्थी, स्थानीय प्रशासन र कलेज प्रशासनका बीचमा गत असोज ४ गते समस्या समाधान गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा शुल्क फिर्तासम्बन्धी अध्ययन गरि प्रतिवेदन पेश गर्न सात सदस्यीय समिति बनेको बन्यो । असोज १० गतेभित्र प्रतिवेदन तयार गर्ने गरी दिइएको समयसिमा कट्दा पनि प्रतिवेदन तयार भएन ।

तोकिएको समय भित्र प्रतिवेदन तयार नभएपछि पुनः तीन दिनको समय थप गरिएको छ । थपिएको तीन दिनको समय सिमा पनि असोज १३ गते सकिदै छ । समितिका संयोजक टेकप्रसाद चापागाईले प्रतिवेदन तयारीमा ढिला भैरहेको स्वीकार गरे । विद्यार्थीहरुसँग बढी शुल्क दिएको रकमको भरपाई नपाएका कारणले समस्या भएको संयोजक चापागाईले बताए ।

अध्ययन समितिका सदस्यसमेत रहेका जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत दिवाकर पौडेलले कलेज प्रशासनले हिसाव देखाउन केही समय आवश्यक माग गरेकोले तीन दिन थपिएको बताए । उनले कलेजले एक आर्थिक वर्षको हिसाब देखाएको तर बाँकी तीन आर्थिक वर्षको हिसाव देखाउन नसकेको बताए ।

समितिको संयोजकमा अभिभावकको तर्फबाट टेकप्रसाद चापागाई, सदस्य विद्यार्थी सुकरात पौडेल, कला अधिकारी, कलेज व्यवस्थापका अरुण कोइराला, जिल्ला प्रशासनको तर्फबाट शाखा अधिकृत दिवाकर पौडेल र शिक्षा विकास तथा समन्वय एकाइबाट अधिकृत जानकी बराल र चितवन मेडिकल कलेजका लेखा शाखाका राम आशिष ठाकुर सदस्य सचिव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?