Comments Add Comment

मेलम्चीको काम एक वर्षमै सक्न सिनो हाइड्रोसँग सम्झौता

१२ आसेज, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम एक वर्षमा सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार सम्झौता गरेको छ ।

१२ महिनाभित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने बताएको छ । आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ ।

छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । यदि काममा ढिलाई भए पनि सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

आयोजनाका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार सिनोसँग सम्भवतः केही दिनमै हेडवर्क्सतर्फको कामका लागि सम्झौता हुनेछ । कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का सकारेको छ । हेडवक्सतर्फ पनि २९ प्रतिशत बिलोमा गएर सिनोले ९० करोडमा ठेक्का पाउँदैछ ।

हेडवर्क्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्नेछ ।

यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्नेछ ।

सिनोले सम्झौता आगावै कार्यस्थलको अवलोकन गरिसकेको छ । सिनो माथिल्लो तामाकोसीको सिभिल ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा पनि काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुईवटा प्याकेजमा डिभिजन गरेर ठेक्का लगाएको थियो । सरकारले सिनोलाई मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर कार्यस्थलमा तत्काल काम थाल्न आग्रह गरेको छ । त्यसका लागि आवश्यक सहजीकरण गर्न आयोजना तयार रहेको प्रवक्ता पन्तले बताए ।

यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सक्ने जिम्मा उसैले पाएको छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर त्यसमा ढिलाइ भइरहँदा काठमाडौंमा मेलम्चीको पानी कहिले आईपुग्छ भन्ने अन्योल छ । मेलम्चीको बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment