Comments Add Comment

कर्मचारीको कर मिनाहा गराउन परराष्ट्रले गरायो लेखा समितिका सदस्यलाई विदेश शयर

१३ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कर मिनाह प्रकरणमा परराष्ट्र मन्त्रालयले सार्वजनिक लेखा समितिलाई प्रभावमा पारेको, सरकारी कामकारबाहीप्रति प्रधानमन्त्री स्वयं असन्तुष्ट रहेको, करोडौंका आयोजना अलपत्र परेको लगायतका समाचार आजका पत्रिकाहरुमा छापिएका छन् ।

परराष्ट्र मन्त्रालयले वैदेशिक भत्ताको आयमा लाग्ने कर मिनाहा गराउन संसदको सार्वजनिक लेखा समितिलाई दुरुपयोग गरेको समाचार नागरिक दैनिकमा छापिएको छ । परराष्ट्रले लेखा समितिका पदाधिकारीलाई विभिन्न देशको भ्रमण गराएर आफूअनुकूल निर्देशन दिन लगाउँदै आएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले समाचारमा लेखेको छ, ‘परराष्ट्रको खर्चमा लेखा समितिका सभापति भरत शाहसहित सदस्यहरु प्रेम आले, चन्दा चौधरी, अमनलाल मोदी, राजेन्द्रकुमार केसी तथा समितिका सचिव रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमान र साउदी अरब घुमेर असार २३ गते नेपाल फर्किएका थिए । त्यसको एक सातापछि नहुँदै समितिले कर मिनाहा गर्न निर्देशन दिएको हो ।’ समाचारमा लेखिएअनुसार २०७२ सालमा पनि सार्वजनिक लेखा समितिले कर्मचारीको कर मिनाहा गर्न निर्देशन दिएको थियो ।

समितिले विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्तामा लाग्ने कर मिनाहा गराउन मन्त्रिपरिषदलाई निर्देशन दिने विवादास्पद निर्णय असार अन्तिम साता गरेको छ । त्यही निर्णयलाई टेकेर परराष्ट्रले करिब कर वाफतको १८ करोड रुपैयाँ मिनाहाका लागि सहमति लिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

आयकर ऐन २०५८ अनुसार कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी २५ प्रतिशत रकममा आयकर गणना गर्नुपर्ने उल्लेख छ । वैदेशिक भत्ताको ७५ प्रतिशत कर छुट पाएका परराष्ट्रका अधिकारीहरु बाँकी प्रतिशतमा लाग्ने कर पनि मिनाहा गराउन चलखेलमा लागेका हुन् ।

नागरिक दैनिकमा मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक सिनो हाइड्रोसँग सम्झौता भएको विषयको मुख्य समाचार छ । मेलम्चीको सुरुङलगायतका बाँकी काम एक वर्षभित्रै सक्ने गरी सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ ।

लगानी खोल्न सैनिक ऐन संशोधन गरिँदै

कान्तिपुर दैनिकले सैनिक ऐन संशोधन गर्न लागिएको विषयलाई मुख्य समाचारको रुपमा छापेको छ । लगानीको बाटो खोल्न ऐन संशोधन गर्न लागिएको समाचारमा उल्लेख छ । व्यवसायतर्फ आकर्षित भएको भन्दै सेनाको आलोचना भइरहेको छ ।

कान्तिपुरमै प्रधानमन्त्रीले प्रतिफल देखाउने गरी काम गर्न चाहेको तर काम नभएको विषयको अर्को समाचारले पनि प्राथमिकता पाएको छ । प्रधानमन्त्री ओलीले डेढ वर्षदेखि सरकारी काममा समन्वय गरेर प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिइरहेका छन् । तर, भनेअनुसार काम नहुँदा उनी असन्तुष्ट छन् । राष्ट्रिय गौरवका २१ वटा आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अरुको प्रगति उत्साहजनक नभएको समाचारमा लेखिएको छ ।

राजधानी दैनिकले सडक निर्माणमा चरम ढिलासुस्ती हुँदा करोडौंका आयोजना अलपत्र परेको विषयलाई मुख्य प्राथमिकता दिएर छापेको छ । राजधानीमै सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड खर्चन लागेको समाचार पनि छ ।

सांसदले छान्न पाउने योजना वृद्धि

गोरखापत्र दैनिकले सांसदले छान्न पाउने योजना वृद्धि भएको समाचार छ । स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रमको बजेट ६ करोड पुर्‍याएसँगै संघीय सांसदहरुले छनोट गर्न पाउने योजनाको संख्या पनि बढेको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र दैनिकले काभ्रेको एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेताहरुप्रति पोखेको आक्रोशलाई मुख्य समाचार बनाएको छ । नेपाल शिक्षक संघ काभ्रेले आयोजना गरेको शुभकामना आदान प्रदान तथा शिक्षक सम्मान कार्यक्रममा देउवाले आक्रोशित हुँदै भने, ‘आ-आफू झगडा गरेर बस्ने, जनताको घरदैलोमा कहिल्यै नजाने अनि कांग्रेसलाई कहाँ भोट आउँछ र चुनाव जित्छ ?

कारोबार दैनिकमा बालाजु नयाँ बसपार्कमा अवस्थित बिजी मलका व्यवसायीले सरकारी अनुगमन टोलीलाई घेराबन्दी गरेर अवरोध पुर्‍याएको मुख्य समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment