Comments Add Comment

बाढीले भारतमा १२९ को मृत्यु, पटना र बनारस जलमग्न

१३ असोज, काठमाडौं । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् ।

भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा पनि तहसनहस पारेको छ ।  बिहीबारदेखि हालसम्ममा यो राज्यमा २९ ले ज्यान गुमाइसकेका छन् ।

दुवै राज्यमा केही मानिस घाइते भएको बताइएको छ । घाइतेमध्ये केही गम्भीर रहेकाले  मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

वर्षाले जनजीवन प्रभावित भएको छ । अधिकारीहरूका अनुसार रेलसँगै अन्य यातायात सेवा प्रभावित भएका छन् । अविरल वर्षापछि विद्यालय र स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्न सकेका छैनन् भने विद्युत् आपूर्तिमा समेत समस्या भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार बाढीले बिहारको मुख्य सहर पटना जलमग्न भएको छ । यहाँका आवासीय बस्तीहरू डुवानमा परेका छन् । सडकमा पानी जमेका कारण मानिसहरू डुंगा चढेको दृश्य सञ्चारमाध्यमहरूले प्रसारण तथा प्रकाशन गरिरहेका छन् ।

उत्तर प्रदेशका बनारसलगायत स्थान पनि बाढीको चपेटामा छन् । बनारसको पानीको निकास थुनिँदा जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment