Comments Add Comment

आईसीसीले गर्‍यो क्रिकेट संघको नयाँ नेतृत्वको स्वागत

१४ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघको नयाँ नेतृत्वको स्वागत गरेको छ ।

संघको हालै सम्पन्न विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । आईसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको स्वागत गरेको छ ।

आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘काठमाडौंमा भएको यो विकासक्रमप्रति हामी खुसी छौं, जुन पछिल्लो तीन वर्षदेखि जारी आईसीसीको सुधार प्रयासको परिणाम हो र यसले नेपाली क्रिकेटमा एकता ल्याएको छ ।’

यो सम्झनलायक प्रगतिका लागि प्रशंसक, खेलाडी, प्रशासकलगायत सबैलाई बधाई लिएका छन् । साथै सल्लाहकार समूह र स्वतन्त्र टोलीलाई विशेष धन्यवाद दिएको छ ।

प्रतिबन्धका बाबजुद नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको, युवा र महिला टिमले राम्रो प्रदर्शन गरेको भन्दै आईसीसीले यसले निलम्बनपछि पनि राष्ट्रिय टिमलाई खेल्न दिने आफ्नो निर्णय सही भएको पुष्टि गरेको बताएको छ ।

आईसीसी उपाध्यक्ष ख्वाजाले नयाँ कार्यसमितिले मैदानमा पनि प्रगति गर्ने आशा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आईसीसीको निलम्बन फुकुवाका लागि प्रमुख शर्त पूरा भएको छ । अब दुबईमा बस्ने आईसीसी बोर्ड बैठकले आगामी कदमबारे निर्णय गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment