Comments Add Comment

पोखरा स्वास्थ्य प्रतिष्ठानमा अब चिकित्सा शिक्षाको पढाई

१६ असोज, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा पढाइ सुरु गर्ने भएको छ ।

प्रतिष्ठानले दुई महिनाभित्रै मास्टर इन डक्टरेट र मास्टर इन सर्जरीको पढाइ सुरु गर्ने भएको हो । नेपाल मेडिकल काउन्सिलको मापदण्ड पूरा गरेपछि एमडी/एमएसको पढाई गर्न लागिएको प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले बताए ।

प्राज्ञिक परिषदबाट पेश भएको कार्यक्रम दोस्रो सभाबाट पारित गरेर चिकित्सा शिक्षालाई प्रतिष्ठानले अगाडि बढाएको थियो । लेक सेवा आयोगको मार्ग निर्देशनअनुसार फ्याकेल्टी प्रतिष्ठानमा छ, जसमध्ये ९ जना प्राध्यापक, ७ जना सहप्राध्यापक र बाँकी उपप्राध्यापक छन् ।

गत वर्ष नेपाल मेडिकल कलेजले प्रतिष्ठानको निरीक्षणपछि स्नातकोत्तर अध्यापनका लागि स्वीकृत प्रदान गरेको थियो । यही जेठमा फेरि काउन्सिलकै विज्ञ टोलीले निरीक्षण गरी प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनअनुसार प्रतिष्ठानको सिट संख्या र विधा चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको थियो ।

प्रधानमन्त्रीको संयोजकत्वमा १ असोजमा बसेकोे आयोगको बैठकले ६ विधामा पढाउने गरी १७ सिट संख्या तोकेको हो । जनरल सर्जरीमा र प्रसुति तथा स्त्रीरोगमा ४/४ वटा सीट संख्या छ । हाडजोर्नीमा ३, जनरल मेडिसिन २, बालरोग २ र ऐनेस्थेसियोलोजीमा २ गरी १७ सीट संख्य स्वीकृत भएर अध्यापनको तयारी गरिएको उपकुलपति डा. थापाले जानकारी दिए ।

‘काउन्सिलको मापदण्ड पूरा गर्दै सिट संख्या स्वीकृत भइसकेको छ । अब २ महिनाभित्र पढाई सुरु हुन्छ,’ उपकुलपति थापाले भने, ‘प्रतिष्ठानको यो ठूलो सपना थियो । त्यो पूरा हुँदैछ । अब यहाँबाट दक्ष र सिर्जनशील डाक्टर उत्पादन हुने छन् ।’

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य प्रतिष्ठानको छ । ‘स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा सुलभ एंव गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यलाई साकार पार्न विद्यार्थी भर्नाको विज्ञापन प्रकाशित गर्ने तयारी गर्दैछौं,’ उपकुलपति थापाले भने, ‘नेपाल सरकारको अनुदानबाट कार्यक्रम चल्ने भएकाले यहाँ विद्यार्थीले निशुल्क पढ्न पाउने छन् ।’

लोकसेवा पास गरेका र दुर्गममा काम गरेका विद्यार्थीलाई छात्रवृत्तिमा एमडी/एमएसको पढाइ गर्ने तयारी प्रतिष्ठानको छ । प्रतिष्ठानले विद्यार्थी भर्नाको मापदण्डलाई अन्तिम रुप दिँदैछ । यो ३ वर्षे कोर्ष हो । ३ वर्ष सेवासँगै विद्यार्थीले अनुसन्धानको काम गर्नेछन् । एमडी÷एमएसको पढ्ने विद्यार्थीले सरकारले खटाएको जुनसुकै ठाउँमा पनि सेवा गर्ने सर्तसहित उत्रिर्णको सर्टिफिकेट प्राप्त गर्ने छन् ।

स्नातकोत्तर तहबाट सुरु गरी एमबिबिएस, नर्सिङ, जनस्वास्थ्य, एलाइड हेल्थ सास्न्सेज, डिएम र एमसिएच जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार पार्ने काम पनि सुरु भइसकेको उपकुलपति थापाले जानकारी दिए । प्राज्ञिक कार्यक्रम चलाउन एमडी/एमएस गरेका सबै विभागका चिकित्सकलाई शिक्षकको जिम्मेवारी दिइएको छ । एमडी र एमएसको अध्यापन सञ्चालन गर्न खोजिएको ६ वटा विभागका चिकित्सकलाई जिम्मेवारी तोकिसकेको छ ।

२०७२ सालमा प्रतिष्ठान ऐन आएपछि त्यसको अर्को वर्ष प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका थिए । २०७४ को जेठमा डिन र निर्देशकको नियुक्ती भइ प्रतिष्ठानले काम अगाडि बढाएको थियो । प्रतिष्ठानको ऐनमा रजिस्टार सम्बन्धी व्यवस्था छैन । ऐन संशोधन गरी रजिस्टारको व्यवस्था गर्न प्रतिष्ठानले प्रक्रिया अगाडि बढाएको छ । प्रतिष्ठानका प्राध्यापकको सेवा, सुविधा, सर्त र दरबन्दीका लागि आगामी बैठकमा पेश गर्ने तयारी भइरहेको उपकुलपति थापाले बताए । प्रतिष्ठानले अहिलेसम्म २ वटा स्रोत पत्र प्रकाशित गरेको छ ।

प्रतिष्ठानले गुरुयोजनासमेत तयार गरेको छ । प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न डिन प्राडा नरेन्द्रविक्रम गुरुङको अध्यक्षतामा अस्पताल व्यवस्थापन समिति पनि गठन भएको छ ।

अस्पतालप्रति विश्वास बढोस्

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको सक्रियतामा प्रतिष्ठान घोषणा भएको थियो । अधिकारी स्वस्थ्यमन्त्री भएका बखत प्रतिष्ठान बनाएका थिए । प्रतिष्ठान बनाउन र चिकित्सा शिक्षा चलाउन नदिन ठूलो शक्ति लागेको अधिकारीले बताए । ‘यहाँकै निजी मेडिकलले प्रतिष्ठानमा चिकित्सा शिक्षा हुन नदिन ठूलो चलखेल गरे,’ अधिकारीले भने, ‘चिकित्सा शिक्षा सुरु भएरै छाड्यो ।’

अब प्रतिष्ठानको गरिमा र यसअन्तर्गतको अस्पतालप्रति सर्वसाधारणको विश्वास जगाउनुपर्ने उनको भनाइ थियो । प्रतिष्ठानमा काम गर्ने डाक्टर र चिकित्सकले नै त्यसलार्य स्थापित गर्नुपर्ने अधिकारीले बताए । ‘त्यत्रो भूकम्प जाँदा सबै ठिक बनाएका हाम्रै चिकित्सकले हो । नेपाली चिकित्सकसँग ठूलो खुबी छ । त्यति हो कि सरकारी सेवामा ध्यान दिएर लाग्नुप¥यो,’ सांसद अधिकारीले भने, ‘प्रतिष्ठानमा स्थापनाको चरणमा हुँदा सबै ध्यान यतैतिर दिएर काम गरे यसको गरिमा बढ्ने कुरामा दुई मत छैन ।’

प्रतिष्ठानका सिनेट सदस्य आनन्दराज मुल्मीले सरकारी अस्पतालमा कुनै पनि उपचार नपाएर मान्छे फर्कँदैनन् भन्ने जनविश्वास आर्जन गर्नतर्फ लाग्न आग्रह गरे । ‘सरकारी अस्पतालप्रति किन जनविश्वस घटिरहेको छ । किन हाम्रो सेवामा मान्छेको विश्वास छैन,’ मुल्मीले भने, ‘अब गम्भीर समीक्षा गर्नुपर्छ ।’

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले राजनीतिक दलका नेताले पनि सरकारी अस्पतालप्रति गरिमा बढाउने गरी काम गर्न नसकेको बताए । ‘सरकारी नेता नै विदेशका अस्पताल धाउँछन् । धेरैलाई सरकारी अस्पतालमा कसैले देखे लाज लाग्छ,’ केसीले भने, ‘यो विषयमा गम्भीर भएर सोचौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment