Comments Add Comment
दूर्गालाल श्रेष्ठको अनुभव :

‘अचेलको दशैं, दशैं जस्तो रहेन’

अहिले हाम्रा भाषा, धर्म, संस्कृति, चाडपर्व सबै पीडित छन्

२० असोज, काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ८४ वर्षको उमेरमा पनि नेपाल भाषाको श्रीवृद्धिमा सक्रिय छन् । अनगिन्ति गीत, कविता र बाल साहित्यका स्रष्टा श्रेष्ठले कुनै समयमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका लागि चुनाव प्रचारको गीत पनि लेखेका थिए ।

खासमा अपमानको बदला लिन आफू नाटककार र नाट्य कलाकार बनेको उनी सुनाउँछन् । त्यो झ्वाँकमा ११ वर्षको हुँदै नाटक लेख्न थालेको श्रेष्ठले बताए । भएछ के भने, इन्द्रजात्रामा मञ्चन हुने नाटकको अभ्यास हेर्न बाहिरबाट चिहाउँदा भित्रबाट कसैले सुहिरोले घोचिदिएछ । ‘त्यो घोचाइ मेरो दिल र दिमागमा गढेर बस्यो’, उनी भन्छन्, ‘बडा अपमानित महसुश गर्दै प्रण गरेँ, म पनि यस्तो नाटकमा खेल्ने कलाकार बन्छु ।’

नभन्दै, पछि उनी रंगकलामा स्थापित भए । आफूलाई कवि’ भन्दा ‘कलाकार’ भनेको प्रिय लाग्ने श्रेष्ठ बताउँछन् । ‘कविता त मैले

रहरमा, लहडमा लेखेँ’, उनी भन्छन्, ‘अरुजस्तो कविता लेख्न पनि जान्दिनँ ।’

एकताका बौद्ध दर्शनको अध्ययनमा लाग्दा त्यसको प्रभावमा कवि बनेको उनी बताउँछन् ।

श्रेष्ठ मुलतः नेपाल (नेवारी) भाषाका साहित्यकार हुन् । उनको एउटा नेपाली गीत ‘फूलको आखाँमा फूलै संसार….’ अति लोकपि्रय बन्यो । आनी छोइङ डोल्माले गाएको उक्त गीतमा पनि वौद्व दर्शनको प्रभाव छ ।

त्यो गीतको रचनागर्भ पनि रोचक छ । एक बिहान संगीतकार न्ह्यु बज्राचार्य गितार बोकेर कविको घर पुगे । उनीसँग एक आनी पनि थिइन् । बज्राचार्यले नयाँ गीतको धून बनाएको भन्दै सुनाउन थाले ।

धुन सुन्दै कवि श्रेष्ठले ती आनीको मुहार नियाले । अनि फुर्‍यो- फूलको आखाँको फूलै संसार… ।’

त्यतिबेला गीत यती लोकपि्रय हुन्छ भन्ने कल्पनै नभएको बताउँदै श्रेष्ठ भन्छन्, ‘अहिले त मेरो अरु परिचय नै नभएजस्तो सबैले फूलको आखाँमा फूलै संसार भनेर चिन्छन् ।’
अर्को लोकपि्रय नेपाली गीत ‘सय थरी बाजा, एउटै ताल…’ का समेत लेखक रहेका श्रेष्ठ अहिलेका साहित्य र गीतसंगीतबाट सन्तुष्ट छैनन् । ‘पछिल्लो समय न मैले गतिलो लेख्न सकिरहेको छु’, उनी भन्छन्, ‘न त अरुको गतिलो पढ्न, सुन्न पाएको छु ।’

प्रस्तुत छ, साहित्यकार श्रेष्ठको दशैं अनुभव, उनकै शब्दमा-

काठमाडौँ, त्यो पनि असनमा हुर्किएको मान्छे म । मेरो बालापन मात्र होइन, पूरा जीवन एउटा सांस्कृतिक केन्द्रभित्र बित्न लागेको छ । गाईजात्रा, इन्ऽजात्रा लगायतका पर्वको डबलीमा सांस्कृतिक नृत्य हुन्थे । त्यही डबलीमा आयोजना हुने नृत्यबाट म ७५ वर्ष अघि यो क्षेत्रमा लागेको हुँ ।

म आफै नाटक लेख्थेँ । पहिला नेवारी भाषामा लेख्थे, पछि नेपालीमा पनि लेख्न थाले ।

काठमाडौँको माहोल नै यस्तो हुन्छ कि केही दिन बिराएर चाडपर्व आइरहन्छन् । संस्कृती नबुझेकालाई पनि यहाँको जीवन रमाइलै हुन्छ । चाडबाडले मानिसहरुलाई संस्कृतीमा भिज्न सहयोग गर्छ ।

मेरो व्यक्तिगत अनुभव के छ भने पहिले आर्थिकरुपमा विपन्न भए पनि मलाई दशैंका बेला कहिल्यै गरिबी महसुस नहुने । त्यसको एकमात्र कारण थियो, संस्कृतिको मोहनी । संस्कृतिभित्र त्यो तत्व हुँदोरहेछ, जसबाट मान्छेले आˆनो विपन्नता भुल्दोरहेछ ।

बरु मलाई अहिले पो गरिब भएको महशुस हुन्छ । राजनीतिक कारणले यस्तो महशुस हुदो रहेछ । हेर्नुस त अहिले महंगी कस्तो छ ? मानिसहरुले कसरी किनेर खान सक्लान् ? गरिबले दशैं कसरी मनाउलान् ?

अहिले हाम्रो भाषा, धर्म, संस्कृति, चाडपर्व सबै पीडित छन् । म त अहिले चाडबाडको रौनक नै देख्दिनँ । पहिले दशैं आउन लाग्दा सहरभरका मानिस चंगा उडाउँथे । अनेक खेलकुद हुन्थ्यो । नाचगान र सांस्कृतिक कार्यक्रमको छुट्टै रौनक हुन्थ्यो । पहिले व्यवस्थित मनोरञ्जन हुन्थ्यो । अहिले मनोरञ्जनको नाममा कोलाहल छ ।

पहिले मजाले मासु खान चाड कुर्नुपर्थ्यो । दशैं कहिले आउला भनेर औंला गन्दै बसिन्थ्यो । तैपनि हामी खुशी नै हुन्थ्यौँ । अहिले त मीठो खान, राम्रो लाउन चाडबाड कुर्न नपर्ने भयो । र पनि, दुः खी हुने मजस्ता मानिस सहरमा धेरै छन् । चाडबाड चाडबाड जस्ता रहेनन्, जताततै खपिनसक्नुको महंगी छाएको छ ।

पहिले हामी दशैंका बेला तीर्थ जान्र्थ्यौं । दिनहुँ विभिन्न देवीदेवताका थान धाउँथ्यौँ । रातभर जाग्राम बसेर विभिन्न सांस्कृतिक कार्यक्रम गर्थ्यौं । कार्यक्रम गर्ने भजन मण्डलीहरु थिए । अहिले त्यस्तो कहाँ छ र ?

पहिले दशैंका बेला खानपिन, नाचगान मात्र होइन, विविध सांस्कृतिक पक्षको विषेश रमाइलो हुन्थ्यो । अहिले त जताततै केवल महंगी । एकमुठो साग किन्न ५० रुपैयाँ पर्छ । मासु किन्न कसले सक्ने ? शासन व्यवस्था फेरिएपछि त हामीले त्यही अनुसार सुविधा भोग गर्न पाउनु पर्ने हो, तर खै ? गरिबले कसरी दशै मान्लान् ?

पहिलेका मानिसमा धर्म थियो, अहिलेका मानिसमा छैन । यो गर्न हुन्छ, यो हुन्न भन्ने छँदै छैन । पहिले नपढेको मानिस पनि विवेकी थिए । अहिलेका मानिस बाहिर सुकिला, भित्र फोहर भए । यो पुँजीवादमा यस्तै हुने हो कि ?

पहिला टाढा-टाढाका मानिस किनमेल गर्न असन आउँथे । देवताको थानमा टीका लाउने चलन पनि थियो । टीका पनि सप्तरंगी हुन्थ्यो ।

एकपटक म दशैंका बेला एउटा तामाङ वस्तीमा पुगेको थिएँ । त्यहाँ त निधारै छोपिने गरी सप्तरंगी टीका लगाउँदा रहेछन् ।

मैले कहिल्यै पनि ठालुहरुको घर गएर टीका लगाइनँ । म अरुलाई पनि टीका लगाइदिन्न । मेरो घरमा श्रीमतीले टीका लाइदिन्छिन् ।

मैले त चंगा पनि उडाइनँ । मेरो घरको छत जानै नमिल्ने थियो । टीका नलगाए पनि, चंगा नउडाए पनि पहिलेको दशैंमा धेरै खुशी हुन्थेँ ।

पहिला दशैंमा दक्षिणाको खासै चलन थिएन । कोही दक्षिणाको लोभले टीका लाउन जाँदैन थिए । अहिले त दक्षिणाको हिसाब हुने रहेछ ।

त्योबेला दशैं भनेको मासु र तिहार भनेको रोटीको चाड थियो । जाग्राम अनिवार्य थियो । रातभर नाटक हुन्थे । दशैं आउनु एक महिनाअघिदेखि नै घरमा बास हुन्नथ्यो ।

पहिला डबलीका सांस्कृतिक कार्यक्रमहरुलाई ‘ज्यापू नाच’ भनिन्थ्यो । सरकारले पनि खासै मान्यता दिन्नथ्यो । म त्यही मान्यता नपाएको कलाकार थिएँ । त्यो बेला सरकारले घटस्थापनादेखि तिहारसम्म बिदा दिन्थ्यो । रमाइलो गर्न फुर्सद हुन्थ्यो । अहिले सरकारले बिदा नै दिन्न, के फुर्सद हुनु ? बिदा कम भएकाले पनि होला, दशैंको रौनक घट्दै गएको छ ।

अहिले त म चाडबाडको रस नै पाउदिनँ । खासै घुम्दिनँ पनि । पहिला देवदेवीका थानहरु धेरै घुम्थेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment