Comments Add Comment

प्रधानमन्त्री ओली भन्छन् – कानून हरेक नागरिकका लागि समान हो

२० असोज, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उहाँले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए ।

प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे । वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको जनाए ।

प्रधानमन्त्री ओलीले भने, “वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ ।”

कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हरेक वर्षको दशैँंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन् । यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए । यस वर्ष भने उनले आफ्नै गृहनगर दमकमा कार्यक्रमको आयोजना गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली समाजको सद्भाव र एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए ।

स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्गले चाडपर्वलाई सांस्कृतिसंगै मौलिकताका रुपमा मनाउनुपर्ने बताए ।

नेकपाका प्रदेश नं. १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्धरुपमा लागि परेको भन्दै केही भ्रमलाई चिर्न सवै एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा झापाका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओली सोमबारै काठमाडाैँ फर्किएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment