Comments Add Comment

सत्यमोहन जोशीको अनुभवः उबेला दशैंको रौनक नै बेग्लै

२५ रुपैयाँमा टर्थ्यो दशैं

२१ असोज, काठमाडौं । आफ्नो जीवनकालमा सयवटा दसैं मनाउन पाउने भाग्य कमै व्यक्तिहरुलाई जुर्छ । यस्तै एक भाग्यमानी हुन्, संस्कृतिविद् सत्यमोहन जोशी ।

उमेरले एक शताब्दीको यात्रा पार गरेका जोशीको मानसपटलमा आफ्नो बाल्यकालका दशैंहरुको सम्झना अहिले पनि ताजा नै छ । बुवाले नयाँ लुगा सिलाउन सूचीकारकहाँ पुर्‍याएपछि दशैंको रौनक सुरु हुन्थ्यो ।

सत्यमोहन भन्छन्, ‘त्यतिबेलाको दशैं र अहिलेको दशैंमा आकाश– जमिनको फरक छ । बाल्यकालको त्यो उमंग अहिले कहाँ पाउनु ?’

‘आजभोलि त ओखलमा चिउरा कुट्ने चलन नै हरायो । पिर्के पिङ देखिनै छाडे । उपत्यकामा मात्रै होईन, बाहिर पनि घरको ढिकीमा चिउरा कुटेपछि मात्रै दशैं आएको जस्तो हुन्थ्यो । तर, अहिलेको पुस्ताले यो रौनक गुमाइरहेको छ ।’

जोशीको दशैं अनुभव उनकै शब्दमाः

घरमै आउँथे सुचीकार

अहिलेको जस्तो रेडिमेड कपडाको चलन थिएन । प्राय परिवारमा वर्षभरीमा एक–पटक दर्शैंमा मात्र कपडा सिलाइने भएकोले सूचीकारकोमा एकदमै भीड हुन्थ्यो ।

ठाउँ–ठाउँमा सूचीकारहरु आफ्नो अड्डा जमाएर लुगा सिलाउने गर्दथे । मैले कपडा सिलाउने सूचीकार भने पाटन दरबार क्षेत्र पछाडि बस्थे । कपडा सिलाउन दिएको सात दिनपछि मात्रै पालो आउँथ्यो । कपडा सिलाउनुअघि नापो लिन बोलाउँथे ।

सूचीकारको घरमा आफ्नो पालो आएपछि बालबालिकाहरुको भीड हुने गर्दथ्यो । कपडा सिलाउने मेसिनको गड्गडाहटमा नै बालबालिकाहरु दंग पर्थे । त्यो मनोरञ्जन अहिले छैन । अहिलेका बच्चाहरुलाई त्यसले खासै आकर्षित पनि गर्दैन ।

दशैंको लुगा दौरा–सुरुवाल र कोट

त्यतिबेला काठमाडौंका नेवारहरुले दशैं भनेर मान्दैनथे । नेवारी भाषामा ‘मोहनी’ भन्नाले दशैंलाई बुझिन्छ । दशैं आयो भन्नको लागि ‘मोहनी बोलो’ भन्ने गरिन्थ्यो ।

इन्द्रजात्राको समाप्तिसँगै परिवारका सदस्यहरु दशैं तयारीमा लाग्थे । दशैंमा सिलाउने कपडाको नापो लिएसँगै बालबालिकाहरु एक–आपसमा भेला भएर आफ्नो लुगाको बखान र अर्काको आलोचना सुरु गर्थे ।

सामान्यतः दशैंमा नयाँ दौरा सुरुवाल र कोट हाल्ने गरिन्थ्यो । बच्चाहरु चंगा उडाउनमा नै व्यस्त हुन्थे भने गृहिणीहरु दशैंको परिकार तयार पार्नमा । तन्नेरीहरु जात्राको तयारीमा लाग्थे ।

घर लिपपोत

नेवारहरुको हरेक पर्वमा अनिवार्य रहेको रक्सी आफ्नै घरमा बनाउने गरिन्थ्यो । यो काम पनि प्रायः तन्नेरीहरुले नै गर्ने गर्दथे । त्यस्तै, कमेरो माटोले भित्ताको माथिल्लो भागमा र रातो माटोले तल्लो भागमा पोतेर घरलाई चिटिक्क पारिन्थ्यो । यो चलन उपत्यकाभन्दा बाहिर अझै कतैकतै देख्न सकिन्छ ।

लिङ्गे पिङ/पिर्के पिङको चलन त्यतिबेला थियो । शहरभित्र त यस्ता पिङहरु कमै मात्रामा हुन्थे । तर, गाउँमा भने बाक्लै हुन्थे । बाँसको चारवटा लिंगो गाडेर पिङ हाल्ने चलन पहिलेदेखि नै चलिआएको हो ।

बालबच्चालाई यसै रमाइलो

बच्चाहरुको लागि पिङ हाल्ने बाँस काट्न जाँदा होस् या त रातो र कमेरो माटो लिन जाँदा, मनमा बेग्लै उर्जा भरिन्थ्यो । ती पिङहरुसम्म पहुँच नपुगिसकेका बच्चाहरुको लागि घरकै मूल थाममा बाबियो बाटेर त्यसैको डोरीबाट पिङ हाल्ने गरिन्थ्यो ।

घरहरु साना–साना थिए । आफ्नै आँगनबाट पनि चङ्गा उडाउन र भिडाउन सकिन्थ्यो । कहिलेकाहीँ साथीभाइहरु एकै ठाउँमा बसेर पनि चङ्गा उडाउने गर्थे । ६ वर्षको उमेरलाई स्मरण गर्दा धेरै रमाईलो त यही चङ्गा उडाउने र सूचीकारकोमा गएर कपडा सिलाएको हेर्दा नै हुन्थ्यो । अहिले सूचीकारकोमा लाईनमा बस्ने चलन त लगभग हराईसकेको छ । चङ्गा पनि बिस्तारै हराउने क्रममा छ ।

मासु चिउराको आकर्षण

त्यतिबेला पनि दशैंमा मासु चिउरा खाने चलन धेरै थियो । बौद्ध धर्म मान्नेहरुले समेत बलि दिने गर्दथे । अहिले सनातन पर्वलाई हिन्दूहरुको भनेर व्याख्या गर्न थालेपछि उनीहरुमा पनि दशैंको अपनत्व गुमेको अनुभव हुन्छ ।

घरमै बनेको चिउरा र रक्सीसँग सकेसम्म घरमै पालेको, नत्र किनेर कम्तिमा एक डेढ महिनासम्म खानपिनमा विशेष ध्यान दिएर मोटो बनाएको खसी या च्याङ्ग्राको मासु खाने चलन थियो । त्यतिबेला बलिप्रथा अनिवार्य नै थियो ।

सरकारले नै बलिप्रथालाई प्रश्रय दिँदै आएको थियो । नियमानुसार निजामतिमा डिठ्ठादेखि माथि र पल्टनमा सुवेदारभन्दा माथिका कर्मचारीहरुले हरेक वर्ष आश्विन शुक्ल अष्टमीको दिन कोतमा लगेर बोकाको बलि दिनै पथ्र्याे ।

मेरो पल्टनको नाम सिंहनाथ पल्टन थियो । मेरो कोत पहिले भक्तपुरमा थियो र पछि हनुमानढोकामा सर्‍यो । मैले पनि २००१ तिर जागिर खाँदा नियमित कोटमा बलि चढाउने गरेको थिएँ । तर, अहिले भने घरमा पनि बलिप्रथा बन्द गरिसकेको छु ।

धार्मिक संस्कार

पहिले र अहिलेको धार्मिक संस्कार केही परिवर्तन भए पनि धेरैले निरन्तरता पाइरहेका छन् । पहिले पनि घटस्थापनाको दिनदेखि नौ दिनसम्म पीठ पूजा गर्ने चलन थियो । पीठ भनेको शक्ति पूजा हो । जसको मूर्ती हुँदैन ।

शक्तिको मूर्ति बालकुमारी मन्दिरमा बाहेक कतै पनि पाइँदैन । अरु मन्दिरहरुमा रहेका तोरणलाई नै शक्तिको मूर्ति मानेर पूजा गर्ने गरिन्छ । दशैंमा मालाश्री गीत गाउने चलन छ । यो गीतमा भगवतीको स्तुति गरिन्छ ।

पहिले खड्ग जात्रा गर्ने चलन थियो र अहिले पनि कतैकतै चलिरहेको छ । जसमा नवरात्रको राति सबै तन्नेरीहरु हातमा खड्ग लिएर घर बाहिर आउने गर्दथे । यी चलनहरु पनि अहिलेसम्म चलिआएको भएपनि विस्तारै कम हुँदै गएको छ ।

कर्मचारीहरुलाई सुविधा

सरकारी या गैरसरकारी कर्मचारीहरुलाई दशैंमा १५ दिन बिदा दिने प्रचलन थियो । यो विदा १५ दिनबाट ८ दिन हुँदै अहिले ४ दिनमा झरेको छ ।

दशैंमा बिदा दिनुअघि एक महिनाको तलव बराबर पेस्की दिने गरिएको थियो । तर, त्यो पछि सम्बन्धित कर्मचारीको तलबबाट बिस्तारै बिस्तारै कटाउने गरिन्थ्यो । ५÷६ महिनासम्म थोरै थोरै मात्रामा तलबबाट कटाएर पेस्की फच्छ्र्यौट गर्ने प्रचलन थियो । अहिले चाहिँ दशैं पेश्की छुट्टै दिइन्छ, र तलवबाट कट्टा हुँदैन ।

२००७ सालपछि दशैंमा सरकार प्रमुखले सम्पूर्ण नेपाली मूलका व्यक्तिहरुलाई शुभकामना दिन सुरु गरे । सरकारीस्तरमा पनि दशैं मनाउन थालियो ।

२००७ सालसम्म दशैंमा टीका लगाउँदा दक्षिणा दिने चलन थिएन । केवल आशीर्वादको लागि टीका लगाउने गरिन्थ्यो । तर, २००७ सालले दशैंमा धेरै परिवर्तन ल्यायो ।

त्यतिबेला एउटा परिवारले मन खोलेरै खर्च गर्दा २५/३० रुपैयाँमा दशैं सकिन्थ्यो । त्यतिबेला ५–६ रुपैयाँमा भेँडा–च्याङ्ग्रा पाईन्थ्यो । चिउरा घरमै कुटिन्थ्यो, रक्सी घरमै पारिन्थ्यो । घरपरिवारको लागि कपडामा केही खर्च हुन्थ्यो । त्यत्ति न हो ।’

काठमाडौंबासीको त्यो दशैं

राणा शासनकाल वा आजभन्दा ९० वर्षअघि काठमाडौंमा नेवारहरुको बाहुल्यता थियो । के हिन्दू के बौद्धमार्गीहरु सबैले धुमधामका साथ देवीको पूजा गरेर दशैं मनाउने गरेका थिए । हिन्दूहरुले गणेशको पूजा गरेर पूजा सुरु गर्दथे भने बौद्ध धर्मालम्बीहरुले विघ्न विघ्नान्तकको पूजा गर्दथे ।

दुबैको विधि फरक थियो । तर, पूजा गर्ने लक्ष्य र देवी एउटै थिए । दशैंमा बौद्ध धर्मालम्बीहरुले महांकालको पूजा गर्दथे । त्यो चलन अहिले पनि छ । उनीहरु शनिलाई महारोशन नामले पूजा गर्छन् । हिन्दूहरु देवीको नामबाट पूजा गर्छन् । बौद्धहरु नयरात्मा देवीलाई पूजा गर्छन् । दुबै देवी एकै हुन् केवल नाम मात्रै फरक हो ।

नेवारहरुले दशैंमा कालो र सेतो टीका लगाउँछन् । गाजल जस्तो टीका लगाउनुपर्छ । त्यो आगम वा पूजा कोठामा लगाउने गरिन्छ । पश्चिमका गुरुङ एवं मगरहरुले चामलको मात्रै टीका लगाउँछन् । ब्राह्मण क्षत्रीहरुले पहिले रातो टीका मात्रै लगाउँथे । पछि अक्षता थपेर लगाउन थाले ।

काठमाडौंमा पहिले घटस्थापनाको दिन विधिपूर्वक बागमतीमा गएर बालुवा ल्याउने र त्यसैमा जौ उमार्ने चलन थियो । अहिले त बागमतीमा बालुवा पाउनै छाडेको छ ।

लगातार ५ दिनसम्म टीका लगाउने चलन काठमाडौंमा पहिलेदेखि नै चलिआएको थियो । टीका लगाउँदा आमाको तर्फको एक पुस्ता र बाबुको तर्फको एक पुस्ता सम्भव भएसम्म टीका लगाउन आउँथे । नेवारहरुको एउटा कूलको मूलीलाई थकाली भन्ने गरिन्छ । म अहिले ८ वटा घरको थकाली छु । टीका लगाउने बेलामा सबै थकालीको घरमा गएर एकै ठाउँमा टीका लगाउने गर्दछन् ।

यसरी झण्डै ९० वर्ष अघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आएको छ । पहिलेको परम्परालाई विस्तारै बिर्सँदै गएको पाईन्छ ।

संस्कार र संस्कृति देख्दा एकै लाग्ने भए पनि यो भिन्न अवधारणा हो । संस्कारको छोटो समयमा बदलिने स्वभाव हुन्छ भने संस्कृति हजारौं वर्षसम्म चल्ने खालको हुन्छ । दशैं हाम्रो संस्कृति हो । हजारौं वर्षसम्म चलिरहने संस्कृतिका लागि १०० वर्षे समयावधि लामो होइन । तर, यही संक्षिप्त समयमा समेत दशैं मनाउने प्रक्रियामा भारी परिवर्तन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment