Comments Add Comment

तिलोत्तमाका सामुदायिक विद्यालयमा विद्यार्थी बढे

तीन वर्षमा बोर्डिङ सरह बनाउने लक्ष्य

२३ असोज, बुटवल । अधिकांश स्थानीय तहका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भने विद्यार्थी संख्या बढेको छ ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र वजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नौला र रचनात्मक कार्यक्रम ल्याएसंगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि भएको हो ।

नगरपालिकाले नीति तथा कार्यक्रममा तीन वर्षभित्र सामुदायिक विद्यालयहरुलाई संस्थागत (निजी बोर्डिङ) विद्यालयसरहको गुणस्तरमा लैजाने लक्ष्य राखेर दिवा खाजा, विद्युतीय हाजिरी लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

निःशुल्क दिवा खाजा, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विद्युतीय हाजिरी जस्ता कार्यक्रमले एक वर्षमा ८ सय ३९ जना विद्यार्थी बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताए । नगरभित्र ४४ वटा सामुदायिक विद्यालयमा गत वर्ष १२ हजार एक सय ५४ विद्यार्थी भर्ना भएकामा यो वर्ष १२ हजार ९ सय ९३ विद्यार्थी भर्ना भएका छन् ।

बाल विकास कक्षामा गत वर्ष १२ सय ६४ जना भर्ना भएकामा यस वर्ष १८ सय ७७ जना भर्ना भएका छन् । ‘हरेक दिन प्रति विद्यार्थी २५ रुपैयाँ बराबरको दिवा खाजा, सबै विद्यालयमा एउटै कलर कोड, नगरस्तरीय शिक्षकको व्यवस्थापन, शिक्षकलाई तालिम, भौतिक पूर्वाधार सुधार जस्ता कार्यक्रमले विद्यार्थी संख्या बढेको हो’ उपसचिव आचार्यले भने ‘तीन वर्षभित्र सबै सामुदायिक विद्यालयलाई राम्रा नीजि बोर्डिङ स्कूलसरहको गुणस्तरमा लैजाने लक्ष्य छ, पहिलो वर्षको प्रगतिले हामी उत्साहित छौं ।’

दिवा खाजाका लागि नगरपालिकाले वार्षिक डेढ करोड वजेट छुट्याएको छ । शिक्षा क्षेत्रमा नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुनेबाहेक आन्तरिक स्रोतबाट मात्रै करिब ६ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

जनप्रतिनिधि र शिक्षकहरुले पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयहरुमा भर्ना गराएका छन् । वडा नं. ४ का वडा अध्यक्ष दिवाकर ढकालले आफ्ना दुई छोराछोरीलाई निजी विद्यालयबाट छुटाएर जनज्योति मावि डिंगरनगरमा भर्ना गराएका छन् ।

‘सामुदायिक विद्यालयमा राम्रो पढाई हुंदैन र विपन्नका छोराछोरीले मात्रै पढ्ने हो भन्ने भ्रम चिर्नका लागि मैले नाम चलेको बोर्डिङबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गरेको हुँ’ वडाध्यक्ष ढकालले भने, ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबाट म सन्तुष्ट छु ।’

जनज्योतिमा गत वर्ष भन्दा एक सय नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक रघुनाथ पोखरेलले बताए । तिलोत्तमा–११, शिवपुरस्थित शिवपुर माविमा यो वर्ष दुई सय पचास नयाँ विद्यार्थी थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भट्टराईले जानकारी दिए ।

नगरका ४४ वटा सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई चालु शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापन गरेपछि बालबालिकाको भर्ना दर बढेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । अहिले बालविकास केन्द्रका कक्षा कोठामा ३२ इन्चको एलइडी टिभीसहित आरामदायी ठाउँमा बालबालिकालाई राखेर सिकाइन्छ ।

नगरपालिकाले प्रति बालविकास केन्द्रमा २ लाख रुपैयाँका दरले लगानी गरेको छ । बाल विकास कक्षामा पढाउने शिक्षकलाई संघीय सरकारले दिने मासिक ६ हजार तलबमा नगरपालिकाले मासिक तीन हजार रुपैयाँ थपेर दिने गरेको छ । यसले पनि बालविकास कक्षामा विद्यार्थीको आकर्षण बढाएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी अनिवार्य गरेको छ । यसले शिक्षकहरुलाई नियमित रुपमा कक्षा लिन वाध्य बनाएको छ । कम्पाउन्ड नभएको विद्यालयलाई कम्पाउन्डवालले घेर्ने, टिनको छानो भएका विद्यालयमा फल्ससिलिङ, विद्यालयमा जङ्क फुड प्रतिबन्ध, हरेक वर्ष सबै सामुदायिक विद्यालयका एकएक जनालाई नगर प्रमुखको तलबबाट छात्रवृत्ति वितरण, सरसफाई र हरियाली प्रवर्द्धन, विद्यालय वाटिका तथा वृक्षारोपण कार्यक्रमले पनि विद्यार्थी र अभिभावकमा सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षण बढाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री बताउँछन् ।

नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नो पाँच वर्षकै तलब नगरभित्रका सबै सामुदायिक विद्यालयका एक–एक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप दिने गरेका छन् । घिमिरेले पहिलो वर्ष नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४४ विद्यार्थीलाई एक वर्षको पारिश्रमिक बराबर तीन लाख ८५ हजार रुपैयाँ वितरण गरेका छन् ।

सम्बन्धित वडा कार्यालयको सिफारिसअनुसार विद्यालयबाट छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिन्छ । छात्रवृत्ति पाउनेमा कक्षा १ देखि ११ सम्मका विद्यार्थी हुन्छन् । कक्षा १ र २ का लाई ६ हजार, ३ र ४ का लाई ७ हजार, ५ र ६ का लाई ८ हजार, ७ र ८ का लाई ९ हजार, ९ का लाई ९ हजार ५ सय, १० का लाई १० हजार र ११ कक्षाका विद्यार्थीलाई १७ हजारका दरले प्रमुख घिमिरेले छात्रवृत्ति बाँड्छन् ।

आर्थिक अभावमा शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य तथा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको नगर प्रमुख घिमिरेले बताए । घिमिरेले आफ्नो पाँचवर्षे कार्यकालको सबै पारिश्रमिक छात्रवृत्तिमा खर्च गर्ने घोषणा गरेका छन् । प्रदेश ५ सरकारले नगर प्रमुखहरुको पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ तोकेको छ । पाँच वर्षमा प्रमुख घिमिरेले करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment