Comments Add Comment

दासी पुत्र विदुर कसरी बने महाराज धृतराष्ट्रको सल्लाहकार ?

विदुर नीति महाभारत कालको एउटा चर्चित नीति हो । परिवार, राज्य व्यवस्था र समाज चलाउनको लागि विदुरले तयार पारेको यो नीति पूर्वीय दर्शनमा यज्ञवाल्क्य नीति एवं चाणक्य नीति समान मान्ने गरिन्छ ।

भारत वर्षमा चाणक्यकाल पूर्वका चर्चित नीतिहरुमा भीष्म नीति, विदुर नीति, मनु नीति (मनुस्मृति), चार्वाक, शुक्र नीति, बृहस्पति नीति, परशुराम नीति, गर्ग नीति आदि महत्वपूर्ण छन् । आचार्य चाणक्य पूर्वका नीतिज्ञहरुमा भर्तृहरि, हर्षवर्धन, बाणभट्ट आदि महत्वपूर्ण छन् । यही विदुर नीतिका प्रणेता विदुर धृतराष्ट्रका सौतेनी भाइ हुन् । उनी एक दासी पुत्र थिए ।

विदुरको जन्मलाई नेपाली समाजमा मल्लकालसम्म पनि प्रचलनमा रहेको नियोग प्रथासँग जोड्न सकिन्छ । नियोग प्रथा लिच्छविकालीन नेपालमा त झनै प्रचलनमा थियो । मनुस्मृतिले कुनैपनि महिलाको पति मरेमा वा सन्तान नभएमा आफ्नो देवर या सगोत्रीसँग सम्पर्क गरेर सन्तानोत्पादन गर्न सकिने अधिकार दिएको छ । जसलाई नियोग प्रथाको नामबाट चिनिन्छ । यही प्रथा अनुसार नै एक दासीको कोखबाट जन्मिएका विदुर धृतराष्ट्रको सल्लाहकारसम्म बने ।

हस्तिनापुर नरेश शान्तनु र रानी सत्यवतीको चित्रांगद र विचित्रवीर्य नामक दुई पुत्र थिए । शान्तनुको स्वर्गवास चित्रांगद र विचित्रवीर्यको बाल्यावस्थामा नै भएको थियो । भीष्मले चित्रांगदलाई जेठो भएका कारण राजगद्दीमा राखे । केही समयमा नै गन्धर्वसँग युद्ध गर्ने क्रममा चित्रांगद मारिए । त्यसपछि भीष्मले राज्यको जिम्मेवारी कान्छा भाइ विचित्रवीर्यलाई सुम्पिए । राज्यको कार्यभार सुम्पिएसँगै विचित्रवीर्यको विवाह सम्बन्धी चिन्ता सुरु भयो ।

कन्या खोज्दै जाँदा भीष्मले काशीराजका तीन जना छोरीहरु अम्बा, अम्बिका र अम्बालिकासँग अरु नै देशका युवराजहरुको स्वयंवर हुँदै गरेको देखे । तर, ती कन्याहरु विचित्रवीर्यको लागि उपयुक्त रहेको भन्दै भीष्म एक्लैले समस्त राजाहरुलाई पराजीत गरी तीनै कन्याहरु हरण गरेर हस्तिनापुर लगे । हस्तिनापुर लैजाने क्रममा राजा जेठी कन्या अम्बाले भीष्मलाई आफूले तन मन सबै राजा शाल्वलाई सुम्पिसकेको बताईन् । त्यसपछि अम्बालाई राजा शाल्वको साथमा पठाएर अम्बिका र अम्बालिकाको विवाह विचित्रवीर्यसँग गराईदिए ।

उता, भीष्मले अपहरण गरेर अशुद्ध बनाईसकेको भनेर राजा शाल्वले अम्बालाई स्वीकारेनन् । जसका कारण उनी फेरि हस्तिनापुर आएर भीष्मलाई नै विवाह गर्नको लागि दबाब दिन थालिन् । भीष्मले कहिलै पनि विवाह नगर्ने प्रतिज्ञा गरिसकेका थिए । उनी आफ्नो प्रतिज्ञा तोड्न पनि सक्ने अवस्थामा थिएनन् । जसका कारणले उनले अम्बाको प्रस्ताव स्वीकार गरेनन् । त्यहाँबाट अम्बा रुष्ट भएर परशुराम कहाँ गएर आफ्नो व्यथा सुनाईन् । परसुरामले अम्बाको विवाह जसरी पनि भीष्मसँग गराउने बचन दिए । यता आक्रोशित भएका परशुराम र भीष्मबीच भयानक युद्ध भयो । दुबै युद्धको अभूतपूर्व योद्धा भएका कारण उनीहरुबीच युद्ध टुङ्िगएन । यसबाट निराश भएर अम्बा जंगलमा तपस्या गर्नको लागि हिँडिन् ।

उता, विचित्रवीर्य दुबै रानीहरुसँग भोगविलासमा लीन थिए । तर पनि दुबै रानीबाट सन्तान भएन । बरु विचित्रवीर्यको क्षयरोगका कारण मृत्यु भयो । कुलको नाश हुने भयो भनेर माता सत्यवतीले एक दिन भीष्मलाई रानीहरुसँग भोगविलास गरेर सन्तानोत्पादन गर्न प्रस्ताव गरिन् । तर, भीष्मले आफ्नो प्रतिज्ञा तोड्न नसक्ने स्पष्ट पारे । त्यसपछि माता सत्यवतीले दुबै रानीहरुलाई वेदव्याससँग नियोग प्रथा अनुसार सन्तानोत्पादन गर्न आग्रह गरिन् ।

वेदव्यासले एक वर्षसम्म गर्नुपर्ने नियम सुनाए । त्यसपछि मात्रै गर्भ धारण हुने भनेपछि एक वर्षसम्म अम्बिका र अम्बालिकाले नित्य नियम पालना गरेर बसे । एक वर्षपछि सबैभन्दा पहिले वेदव्यास रानी अम्बिकाको साथमा गए । अम्बिकाले वेदव्यासको तेजलाई देखेर आँखा चिम्लिईन् । जसका कारण तेज पुत्र भएपनि अन्धो पुत्र धृतराष्ट्रको जन्म भयो । दोस्री रानी अम्बालिकाको कक्षमा वेदव्यास प्रवेश गरेपछि उनी एकाएक पहेँली भईन् । जसका कारण उनको गर्भबाट दुबी लागेको जस्तो पाण्डुको जन्मभयो । यसबाट साह्रै चिन्तित भएर सत्यवतीले आफैंले दासीलाई लगेर वेदव्याससँग भोग गराईन् । दासीले आनन्दसँग वेदव्यासलाई भोग गराएको कारण अत्यन्त नीतिवान पुत्र विदुरको जन्म भयो । यिनै विदुरले लेखेको नीति नै विदुर नीति हो ।

विदुर नीति अन्तर्गत् नीति सिद्धान्तको सुन्दर वर्णन गरिएको छ । विदुर नीति वास्तवमा महाभारत युद्धभन्दा पूर्व युद्धको परिणामप्रति सशंकित हस्तिनापुरका महाराज धृतराष्ट्रको साथमा भएको उनको संवाद मात्रै हो । युद्धपूर्व महाराज धृतराष्ट्रले आफ्ना सल्लाहकार विदुरलाई बोलाएर राम्रो र नराम्रोको बारेमा चर्चा गरेका थिए । महषिर् वेदव्यासद्वारा रचित महाभारतको उद्योगपर्वमा यस चर्चाको वर्णन पाईन्छ । यो सम्पूर्ण पर्व नै विदुर नीतिको नामले चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment