Comments Add Comment

डोटी कारागारका कैदीको गुनासो : पानी चुहिएर सुत्न सकिदैन

२४ असोज, डोटी । ‘यो दश जनाको कोठा हो तर हामी यसमा १४ जना सुतिरहेका छौं’ पुरानो होँचो कोठा देखाउँदै डोटी जिल्ला कारागारका चौकीदार दिपेन्द्र जेठाराले भने ‘कारागारले दिने अरु सुविधाहरुमा हामीलाई केही कमी छैन तर भौतिक पूर्वाधारको भने अभाव छ ।’

कारागार निरीक्षणका लागि डोटी पुगेको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी नेतृत्वको टोलीलाई कैदीहरुका समस्या राख्दै जेठाराले भने ‘यो कारागारको क्षमता २५ जनाको मात्रै हो तर हामी ५० जना कैदी बन्दीहरु छौं ।’ उनले भवन पुरानो भएका कारण चुहिने गरेको वताए । जेठाराले कैदीहरुको तर्फबाट तीन बुँदे ज्ञापन पत्र समेत सहन्यायाधिवक्ता जोशीलाई बुझाए ।

खान बस्न कुनै समस्या नभएको तर छत चुहिने भएका कारण राति सुत्नै नपाउने गरेको वताउँछिन् अर्का कैदी बबिता (नाम परिवर्तन) । उनले थपिन् ‘बाहिर हेर्दा घर चिटिक्क जस्तो छ तर बर्षाका बेला चुहिन्छ ।’ लगातार पानी परे कहिलेकाँही त लुगा पनि नसुक्ने गरेको उनी बताउँछिन् ।

सहन्यायाधिवक्ता जोशीलाई भवनको सिलिङमा लगाइएको कालो प्लाष्टिक देखाउदै कैदी नारायण चन्दले भने ‘सर पानी परेको बेला राति चुहिन्छ, त्यसैले यो प्लाष्टिक लगाएका छौं ।’ उनले प्लाष्टिकमा पानी भरिएपछि फाल्नु पर्ने वताए । क्षमता भन्दा बढी कैदी भएका कारण खानेपानीको पनि समस्या भएको उनले वताए । उनी थप्छन् ‘कहिलेकाँही त बजारबाट पानी किनेर खानुपर्ने अवस्था छ ।’

क्षमताभन्दा बढी कैदी भएका कारण व्यवस्थापन गर्न समस्या रहेको बताउँछन् कारागार प्रमुख राजन केसी । ‘हाल कारागारमा जम्मा ५० जना रहेका छन्’ केसीले भने ‘जसमध्ये ३७ जना कैद भुक्तान गरिरहेका छन् भने १३ जना पुर्पक्षका लागि थुनामा छन् ।’ उनले कारागारमा चार जना महिला समेत रहेको जानकारी दिए ।

बाल सुधार गृहमा पनि उस्तै

२०७५ साल भदौ ११ गतेदेखि सञ्चालनमा आएको बाल सुधार गृहमा पनि क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन् ।

२५ जनाको क्षमता रहेको उक्त गृहमा हाल ३६ जना रहेका गृह प्रमुख सानुमाया लिम्वुले बताइन‍् । ‘एक पटक त ४४ जना पुगेका हुन्, अहिले घटेका छन्’ उनले भनिन् ‘संख्या बढी भएपछि एक पटक त हामीले अदालतहरुमा पत्र पठाएर बालबालिका नपठाउन अनुरोधै गर्‍यौं ।’

पुरानो महिला तथा बालबालिका कार्यालयको भवनमा सञ्चालन गरिएको बाल सुधार गृहमा १० जना कैदी र २६ जना पुर्पक्षका लागि थुनिएका १३ देखि १८ बर्ष उमेर समूहका बालकहरु रहेका छन् । गृहमा सूदरपश्चिम प्रदेश र ५ नं. प्रदेशका पनि रहेको लिम्वुले जानकारी दिइन् ।

सुधार गृहमा रहेका एक कैदीले भने ‘हामी पढ्न चाहान्छौ तर यहाँ शिक्षक छैन्, पढ्नका लागि छुट्टै कोठा पनि छैन ।’ खेल मैदान अभाव रहेको र खेल सामग्रीहरु पनि पर्याप्त नभएको कैदी बालकहरुले बताए ।

वैतनिक वकिल आउँदैनन् कारागारमा

‘मैले पुनरावेदन गर्ने प्रक्रियाको वारेमा जानकारी पाएको छैन । वैतानिक वकिल आउनु नै हुन्न, अनि कसरी पुनरावेदन गर्नु ?’ सवारी ज्यानमा दुई सजाय तोकिएका एक कैदीलाई पुनरावेदन गर्नु भएन भनी सहन्यायाधिवक्ता जोशीले सोधेको प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिए ।

उनीजस्तै गुनासो पोखे जवरजस्ती करणीको आरोपमा सुरुको अदालतले सात बर्ष कैद तोकेका एक अर्का कैदीले । उनले भने ‘पहिलो कुरा त वैतनिक वकिल कारागारमै आउँदैनन्, आईहाले पनि दुई चार हजार गाडी भाडा त चाहिन्छ भन्नु हुन्छ, मसंग पैसा छैन । अनि कसरी पुनरावेदन गर्ने ?’

जिल्ला अदालत र उच्च अदालत दुवैका वैतनिक वकिलहरु नियमित नआउने गरेको वताउँछन् चौकीदार जेठारा । आक्कलझुक्कल आए पनि महिनौसम्म नफर्किने गरेको उनलको भनाइ छ ।

जवाफमा सहन्यायाधिवक्ता जोशीले यस बिषयमा आफुले सम्वन्धित निकायमा कुरा उठाउने बताए । ‘वैतनिक वकिल भनेकै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको न्यायमा पहुँच पु¥याउनका लागि हो’ जोशीले भने ‘उहाँहरुले नियमित रुपमा अदालतमा आउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment