Comments Add Comment

सांसदलाई फौजदारी अभियोग : शक्ति दुरुपयोगको दुश्परिणाम

बहालवाला सांसदहरु एकपछि अर्को गर्दै विभिन्न अभियोगमा तानिन थालेको विषय यतिबेला राजनीतिक वृत्तमा बहसको ‘ट्रेन्डिङ’मा छ । निवर्तमान सभामुख कृष्णबहादुर महरादेखि मोहम्मद अफताव आलम र पार्वत गुरुङविरुद्धको मुद्दा अदालतसम्म पुग्नु आफैंमा सामान्य विषय होइन ।

घटना र अभियोगका आ-आफ्नै पृष्ठभूमि रहे पनि सारभुत रुपमा यी परिघटनाहरु शक्ति दुरुपयोगसँग अभिन्नरुपले जोडिएका छन् ।

औपचारिकताका लागि जेसुकै तर्क वितर्क गरिएता पनि यथार्थमा सत्ता र शक्तिको दुरुपयोगकै उपजका रुपमा यी घटनालाई लिन सकिन्छ ।

महरा र रोशनीबीचको सम्बन्ध शक्ति दुरुपयोगको जगबाट बिकसित भएको देखिन्छ । महरा आफ्नो पदीय गरिमा र मर्यादाभित्र रहिदिएको भए सायद घटनाले यो रुप लिँदैनथ्यो ।

महरा निरन्तर शक्तिको केन्द्रमा रहँदा रोशनी परिवार उनको नजिक हुनु र आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्नु स्वाभाविक हो । तर, पहुँचका आधारमा नाजायज माग र अपेक्षा पूरा गरिदिने र त्यसको मनोवैज्ञानिक प्रभावमा सम्बन्ध विस्तार गर्नाले घटनाले यो रुप लिएको अनुमान गर्न गाह्रो छैन ।

सांसद मोहम्मद अफताब आलम गम्भीर प्रकृतिको अपराधमा तानिनु राजनीतिक शक्ति दुरुपयोगकै परिणाम भन्न सकिन्छ । शक्तिमा रहँदा विपक्षी र प्रतिस्पर्धी तह लगाउन जस्तोसुकै हर्कत गर्न पछि नपर्ने प्रवृत्तिले अनावश्यक घटना र अपराध सिर्जना गरिरहेको छ ।

पार्वत गुरुङ प्रकरण

सांसद पार्वत गुरुङमाथि लागेको आरोपको पृष्ठभूमि अलि फरक भए पनि शक्ति दुरुपयोगसँग यसको पनि सम्बन्ध छ ।

निर्वाचनताका दोलखा जिल्ला चर्चामा हुन्छ । अस्वस्थ प्रतिस्पर्धा र बाहुवल प्रयोगले चुनाव अशान्त हुने गर्छ । गत स्थानीय तहको निर्वाचनमा पनि यहाँ दुईजनाको ज्यान गयो । अन्य कैयौँ अपि्रय लाग्ने घटना भए ।

पूर्वएमाले र माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपका क्रममा एमाले कार्यकर्ताको मृत्युपछि ३९ जना माओवादी नेता कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्दामा किटानी जाहेरी दिइयो । पूर्वराज्यमन्त्री देवी खड्का, गंगा कार्की, विशाल खड्कासहित जिल्लाका नेताहरुमाथि मुद्दा चलेपछि उनीहरुले चुनावका बेला भूमिगत बन्नुपर्‍यो ।

तत्कालीन एमालेले उक्त घटनालाई चुनाव जित्ने अस्त्रका रुपमा प्रयोग गर्‍यो । घट्नामा संलग्न खास व्यक्तिहरु विरुद्ध मात्रै जाहेरी दिनुभन्दा मुख्य-मुख्य नेता कार्यकर्तालाई छानी-छानी मुद्दा दायर गर्नुको कारण राजनीतिक प्रतिशोध नै थियो ।

उक्त घटनाको केहि दिनपछि मृतकका आफन्तले स्थानीय बीरध्वज खड्कामाथि काठमाण्डौँको गौशलामा आक्रमण गरे । उक्त आक्रमणमा संलग्न भएको भन्दै प्रतिनिधिसभा सांसद पार्वत गुरुङ विरुद्ध पनि किटानी जाहेरी दिइयो । सोही उजुरीका आधारमा गुरुङलाई अदालतले हाजिर हुन पत्राचार गरेको विषय अहिले चर्चामा छ । घटनामा गुरुङको भूमिका के कति थियो भन्ने विषय अनुसन्धानपछि प्रमाणले पुष्टि गर्ला ।

निर्वाचन र अरु बेला प्रतिस्पर्धी राजनीतिक दल र तीनका नेताहरुबीच हुने अनावश्यक अस्वस्थ प्रतिस्पर्धा, बहुबलको प्रयोगबाट सिर्जित समस्या नेताहरुको टाउको दुखाइको विषय बन्न थालेको छ । विगतका यस्ता घटना परिघटनाको तुष र तिक्तता मेटाउन र एकीकरणपछिको पार्टीमा वास्तविक रुपमा भावनात्मक एकता कायम गर्न चुनौती बनेको छ ।

निर्वाचनमा हुने अपि्रय घटनाहरुको मुद्दामा प्रहरी प्रशासन र अदालत पनि दोहोरो शिकार बन्ने गरेका छन् । प्रहरी र अदालतलाई राजनीतिक प्रतिशोध र बदला लिने मतियारका रुपमा प्रयोग गर्ने गलत संस्कार मौलाउँदैछ ।

निर्वाचनमा स्वस्थ बैचारिक/सैद्धान्तिक र कार्यक्रमिक विकासे मुद्दाहरुमा प्रतिस्पर्धा भन्दा बल प्रयोग र झडप गर्ने प्रवृत्तिले आम नागरिकबीचको मानविय सम्बन्ध बिगारिरहेको छ । फलस्वरुप ती घटनाहरु सामाजिक विग्रह र अराजकताको मुख्य कारकका रुपमा देखिन थालेका छन् । यसबाट सामाजिक सद्भाव, सहिष्णुता र एकतामा खलल पुगेको छ ।

निर्वाचनमा हुने साम, दाम, दण्ड, भेदको गलत अभ्यास र संस्कारलाई निर्ममतापूर्वक निरुत्साहित नगर्दासम्म त्यसले समाज विकासको गतिमा समेत गत्यावरोध सिर्जना गरिरहन्छ ।

त्यसकारण, नेताहरुले निर्वाचनमा अनावश्यक तडक-भडक देखाएर, हुलहुज्जत, झडप र बल प्रयोग गरेर मतदाताको मनोविज्ञानमा इमोशनल ब्ल्याकमेल गर्ने परिपाटी अन्त्य गर्न जरुरी छ ।

(थामी नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment