+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
ग्राउण्ड जीरो रिपोर्ट :

विप्लवका कार्यकर्ता खसी डोर्‍याउँदै आए…

२१ जना घेराउमा परेको मगराइना गाउँको कथा

शिवु खनाल शिवु खनाल
२०७६ कात्तिक २ गते १९:३७

२ कात्तिक, दाङ । विप्लव समूहका २१ नेता एकै ठाउँबाट पक्राउ परेदेखि दाङको राजपुर गाउँपालिका- ४ मगराइना गाउँका बासिन्दा त्रसित छन् ।

जम्मा सात घर रहेको यस गाउँमा २९ असोजको राति छापा मारेर दाङ प्रहरीले विप्लव समूहका मध्यपश्चिम ब्युरो इञ्चार्ज एवं नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजंग चन्दसहित २१ नेतालाई पक्राउ गरेको थियो । पक्राउ गरेको ३६ घण्टापछि जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेको औपचारिक जानकारी दिँदै उनीहरुमाथि फौजदारी अभियोगमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

नेपाल-भारत सीमानाको घना जंगलभित्र पर्छ मगराइना गाउँ । पूर्व-पश्चिम राजमार्गमा पर्ने लमही बजारबाट मोटरसाइकल चढेर करिब चार घण्टा दक्षिण-पश्चिमतिरको यात्रापछि पुगिने यो गाउँमा दलित र मगर समुदायका बासिन्दा छन् । उनीहरु नयाँ मान्छेसँग बोल्न हिच्किचाउँछन् ।

हामीलाई गाउँमा पुगेको देख्नासाथ स्थानीयबासी ढोका लगाएर भित्र पसे । कोही कोदाली बोकेर बारीतिर लागे । हाम्रो चिनजानका एक जना व्यक्तिलाई भेटेर कुराकानी गरेपछि मात्रै गाउँका अन्य बासिन्दा घटनाबारे बोल्न तयार भए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता-कार्यकर्ताहरुले विक्रम रानाको घरमा मेस सञ्चालन गरेका थिए । विक्रम भने रोजगारीको सिलसिलामा विदेशमा छन् ।

दूधे बालक काखमा लिएकी विक्रमकी श्रीमती शोभाले आफूहरुलाई उनीहरु विप्लव समूहका व्यक्ति भएको भनेर थाहा नभएको प्रतिक्रिया दिइन् । शोभाले भनिन्, ‘गाउँमा किड्नी र आँखा निकाल्ने समूह आएको छ भन्ने हल्ला सुनेका थियौं । धेरै मान्छे देख्दा हामीलाई पनि तिनै मान्छे हुन् कि भन्ने लागेको थियो, तर उनीहरुले हामीलाई केही गरेनन् । खानेकुरा, भाँडाकुँडा आफैं ल्याएका थिए । हामीलाई बास दिनुस् भने र बास मागेर बसे ।’

आफ्नो घर पाहुनालाई छाडिदिएर आमा-छोरा देवर गोपाल रानाको घरमा गएर बसेको शोभाले बताइन् ।

राति प्रहरी अपरेसनको सूचना मिडियामा फैलिएपछि गाउँका केही जान्ने सुन्ने व्यक्तिले पक्राउ परेकाहरु विप्लव समूहका व्यक्तिहरु भएको जानकारी दिएका थिए ।

माओवादीलाई सेल्टर दिएको आरोपमा जनयुद्धकालमा दमन भएको देखे-सुनेका उनीहरु अब पनि त्यस्तै अवस्था भोग्नुपर्ने हो कि हो कि भन्ने त्रासमा थिए । यद्यपि प्रहरीले स्थानीय कसैलाई पनि पक्राउ गरेको छैन ।

विप्लव समूहका नेता-कार्यकर्ताहरू गाउँमा पहिलादेखि आउने-जाने गरे पनि यति धेरै संख्यामा गाउँ आएको आफूले पहिलोपटक देखेको शोभाले बताइन् ।

उनीहरु चार-पाँच जना समूहमा थिए र स्थानीयका घरमा बाँडिएर बसे । शोभाका अनुसार उनीहरुले राति खसी काटेर भोज खाए । गाउँमा पस्दा खसी डोर्‍याउँदै आएका थिए ।

उनीहरु भीमबहादुर नेपालीको घरमा बैठक बसेका थिए । भीमबहादुर पनि घरमा थिएनन् । उनी पायल्स रोगको उपचार गर्न भन्दै तुलसीपुर गएका थिए ।

गाउँमा सिलाइ-बुनाइको काम गर्दै आएका भीमबहादुरले भने, ‘२७ गते बिहानै पाइल्सको उपचार गर्न तुलसीपुर गएको थिएँ र घरमा कोही नभएको मौका छोपी २९ गते राति १० बजे खाना खाएर मेरै घरमा बैठक बसेछन् ।’

विप्लव समूहका व्यक्तिहरु धेरै संख्यामा रहे पनि २१ जना मात्रै पक्राउ परेको स्थानीय बताउँछन् । स्थानीय भिउसन ओली भन्छन्, ‘चार-पाँच समूहमा बाँडिएर कोही बैठक बस्ने, कोही आगो ताप्दै सेन्ट्री बस्ने, कोही खाना पकाउने गरेका थिए, कोही त सुतिसकेका थिए, ‘पुलिस आएको थाहा पाएपछि भागाभाग भयो ।’

तत्कालीन विद्रोही माओवादीले पनि यो गाउँलाई भूमिगत गतिविधिका लागि प्रयोग गर्ने गर्थ्यो । जनयुद्धकालमा हतियार तथा विष्फोटक पदार्थहरुको ओसार-पसारदेखि घाइते तथा बिरामीहरुको उपचारका लागि भारत आउ-जाउ गर्ने बाटो यही थियो ।

तत्कालीन विद्रोही माओवादीले जस्तै अहिले विप्लव समूहले पनि मगराइना गाउँमा बैठक बस्ने र भावी योजनाहरु बनाउँदै आएको स्थानीय बताउँछन् ।

भारतसँग सीमाना जोडिएको यो गाउँमा सरकारको उपस्थिति छैन ।
पूर्वको करङ्गा गाउँ, पश्चिमको महतिनिया गाउँ, मुङ्ग्रेठा गाउँ र त्यस आसपासका क्षेत्रलाई विप्लव समूहले प्रयोग गर्दै आएको छ ।

केही दिनदेखि विप्लव समूहको गतिविधि बढेको सुइँको प्रहरीले पाएको थियो । त्यसैले करिब एक महिना अघिदेखि नै प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेर सूचना संकलन थालेको थियो ।

दशैंका बेलामा त्यहाँ राप्ती ब्यूरोको बैठक बस्न लागेको र त्यहाँ धेरै संख्यामा विप्लव समूहका नेताहरु आउने पत्ता लागेपछि गढवा, लमही र जिल्ला प्रहरी कार्यालय घोराहीको टोलीले संयुक्त अपरेसन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?