
३ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
म्याद थपका लागि अदालतमा पेश गर्नुअघि उनको सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।
बयानका क्रममा महराले अभियोग अस्वीकार गरेका छन् । पीडित भनिएकी महिलासाग आफ्नो पारिवारिक सम्बन्ध रहेको तर घटना भएको भनिएको दिन आफू नगएको र बलात्कार प्रयास पनि नभएको उनको दाबी छ ।
पीडित भनिएकी महिलाले नै आफूमाथि बलात्कार प्रयास नभएको भनेर भनिसकेकाले आफूले थप भनिरहनु नपर्ने उनको तर्क थियो ।
महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि गरेको यौन दुर्व्यवहारको आरोप छ । तर पीडित भनिएकी महिलाले बयान फेरिसकेकी छन् । आइतबार अदालतमा उपस्थित भएकी उनले इजलाससमक्ष प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।
महरा १९ गते पक्राउ परेका थिए । दशैंको विदापछि प्रहरीले जबरजस्ती करणी प्रयासमा अनुसन्धानका लागि १३ दिन म्याद लिएको थियो ।
प्रतिक्रिया 4