Comments Add Comment

झगडालु बालबालिका : कसरी गर्ने नियन्त्रण ?

जब साना केटा-केटीहरु आपसमा झगडा गर्न थाल्छन्, आमा-बुबाका लागि उनीहरुको झगडालाई सुल्झाउनु कुनै चुनौतीभन्दा कम हुँदैन । प्रारम्भमा त उनीहरु एक-अर्कासँगै मिलेर खेल्नका लागि जिद्दी गर्छन् । उनीहरुको जिद्दीका अगाडि बुबा-आमाको केही लाग्दैन । बुबा-आमाको अनुमती पाएपछि छोरा-छोरी सँग-सँगै खेल्न थाल्छन् । तर, समस्या त्यति बेला आउँछ, जब उनीहरुले खेल्न थालेको केही मिनेटपछि नै उनीहरु एक-अर्काको कपाल भुत्ल्याउँदै आमा-बुबाको अगाडि उपस्थित हुन्छन् ।

त्यस्तो बेलामा जब तपाईंले उनीहरुलाई गाली गर्न थाल्नुहुन्छ । के कुरामा ध्यान दिनु अनिवार्य हुन्छ भने तपाईंले दुईमध्ये कुनै एकलाई एक शब्द मात्रै कम गाली गर्नुभयो भने तपाईं उनीहरुको नजरमा पक्षपाति आमा बन्न पुग्नुहुनेछ । यस्तो द्विविधाले भरिएको स्थितीमा तपाईंलाई सहयोग गर्नका लागि यहाँ हामी केही उपायहरु प्रस्तुत गर्दैछौं । यी त्यस्ता नियमहरु हुन्, जसले तपाईंले आफ्नो छोराछोरीको आपसी-झगडामा नियन्त्रण गर्न सक्नुहुनेछ ।

थोरै दूरी बनाउने

छोरा-छोरीहरु हरेक क्षण सँगै बस्नाले उनीहरुको आपसी माया बढ्छ भन्ने कुरा सही होइन । यदि उही उमेरका अथवा एक-दुई वर्ष उमेर अन्तरका बालबालिकाहरु एउटै कोठामा बस्छन् भने के कुरामा ध्यान दिनुपर्छ भने उनीहरुको ओछ्यान, दराज, डेक्स, कुर्सी, खेल्ने स्थान, खेलौना आदि अलग-अलग हुनैपर्छ । यदि सम्भव छ भने छोरा-छोरीकै रुचि अनुसार एउटै कोठामा दुई फरक-फरक रंग लगाइदिनुपर्छ । थोरै मात्र निजी स्थानले बालबालिकाहरुको मनोविज्ञानमा धेरै नै सकारात्मक प्रभाव पार्छ ।

तुलना गर्नुहुँदैन

छोरा-छोरीबीच एक-अर्कासँग तुलना गर्नाले उनीहरुले आफैंलाई कमजोर महसुस गर्न थाल्छन् । जसबाट आफ्नै भाइ-बहिनीप्रति रिस पैदा हुनसक्छ । त्यसपछि उनीहरु हरेक साना-ठूला कुराहरुका लागि झगडा गर्न थाल्छन् ।

समस्या समाधान गर्न सिकाउने

कुनै पनि काम गर्ने समयमा दुबैबीच कामलाई बाँडिदिनुपर्छ । जस्तो, एक जनालाई छरिएका खेलौनाहरु मिलाउन लगाइयो भने अर्कालाई ओछ्यान मिलाउन लगाउनुपर्छ । एउटै काम गर्न दुबैलाई लगाउनुको साटो दुई जनालाई दुई भिन्न काम लगाउनुपर्छ । यसो गर्नाले दुबैलाई जिम्मेवारी पुरा गरेको सुखद अनुभूति हुन्छ र दुबैबीच प्रतिस्पर्धा पनि हुँदैन ।

दुबैको कुरा सुन्नुपर्छ

जब छोरा-छोरीहरु तपाईंसँग कुनै कुरा भनिरहेका छन् भने उनीहरुको पुरै कुरा सुनिदिनु पर्छ । खासगरी दुबै दिदीबहिनी वा दिदी-भाइले एकै साथ आफ्ना-आफ्ना कुरा सुनाउने प्रतिस्पर्धा गर्न थाले भने । ध्यान राख्नुपर्ने कुरा के हो भने तपाईंले दुबैको कुरा सुन्नका लागि समान समय दिनुपर्छ ।

उनीहरुलाई संवेदनशील बनाऔं

यदि घरमा छोरा-छोरीले झगडा गर्न थाले भने उनीहरुलाई के कुरा महसुस गराउनुपर्छ भने उनीहरुको झगडाले उनीहरुभन्दा साना भाइ-बहिनीहरुलाई कस्तो प्रभाव परिरहेको होला, कति नराम्रो लाग्यो होला । उनीहरुले गरेको व्यवहार राम्रो थियो कि नराम्रो थियो ? भन्ने कुरा पनि सोध्नुपर्छ । ताकि उनीहरुले आफ्नो गल्तिको अनुभव गर्न सकुन् र अर्कोपटक एक-अर्कासँग झगडा गर्नुभन्दा पहिला दोहोर्‍याएर सोच्न सकून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment