Comments Add Comment

कुन उमेरमा कस्तो मेकअप सुहाउँछ ?

समयसँगै श्रृंगारको अवधारणामा पनि परिर्वतन भएको छ । केही समय अगाडिसम्म पनि महिलाहरु आफ्ना प्रेमी अथवा श्रीमानका लागि सिँगारिन्थे भने आज महिलाहरु आफ्नै लागि सिँगारिन्छन् । उनीहरु आफ्नो आत्मविश्वास बढाउनको लागि सिंंगारिन्छन् । श्रृंगार अर्थात मेकअपले महिलाको आत्मविश्वास बढाउनको लागि ठुलो भूमिका खेल्ने गर्छ ।

मेकअप भन्ने शब्द सुन्नासाथ रंगीबिरंगी लिपस्टिक, अनुहारमा विभिन्न किसिमका श्रृंगारका प्रसोधनहरुको प्रयोग भन्ने बुझिन्छ, तर मेकअपको वास्तविक उद्देश्य भनेको अनुहारमा भएका कमि-कमजोरीलाई लुकाउनु, अनुहारको आकार-प्रकारलाई मिलाएर तपाईंको सुन्दरतालाई अझ आकर्षक बनाउनु हो ।

जसरी हरेक उमेरका मानिसहरुको चाहना र आवश्यकता परिर्वतन हुँदै जान्छ, त्यसै गरी उमेर अनुसारको सौन्दर्यप्रसाधन पनि परिर्वतन गर्नु पर्छ । प्रायः महिलाहरु एकै प्रकारको फाउन्डेशन अथवा फेस पाउडर र लिपस्टिक प्रयोग गर्छन् । तर जब  छाला उमेर उनुसार परिर्वतन हुन्छ भने सौन्दर्य प्रसाधन पनि उमेरको हिसाबले परिर्वतन गर्नु आवश्यक छ ।

६ वर्षको उमेर होस् अथवा ६० वर्षको, ऐना हरेक उमेरको महिलाहरुका लागि सबैभन्दा प्रिय साथी हुन्छ । सबैभन्दा पहिला ऐनाले नै उनमा भैरहेको परिर्वतनसंग परिचित गराउँछ । त्यसैले आफ्नो प्रिय साथीले दिएको परिर्वतनको सुचनालाई आत्मसात गर्दै हामी पनि आफ्नो उमेर अनुसारको सौन्दर्य प्रसाधन छनौट गरेर हरेक उमेरमा सुन्दर र गरिमामयी देखिन सक्छौं । यहाँ उमेर अनुसारको सौन्दर्य प्रसाधनको छनौट कसरी गर्ने भन्ने बारेमा केहि जानकारीहरु प्रस्तुत छ ।

१ देखि १० बर्षसम्म

यदि तपाईं यति सानो उमेरमा पनि मेकअप भन्ने सोच्नु हुन्छ भने मेकअप गर्नु सानी केटी तथा महिलाहरुको मौलिक प्रवृत्ति नै हो । त्यसैले १ देखि १० सम्मका बालिकाहरुले कसरी मेकअप गर्ने भन्ने बारेमा समेत जानकारी आवश्यक छ । यो उमेरमा छाला त्यसै पनि सुन्दर र कोमल हुन्छ, त्यसैले नुहाउनको लागि राम्रो साबुन र श्याम्पूको प्रयोग गर्नु पर्छ ।

ओठको सुन्दरताको लागि लिपस्टिकको प्रयोग गर्नु हुँदैन । यो उमेरमा प्राकृतिक रुपमा नै ओठ गुलाबी हुन्छ । तर यदि ओठ फुट्ने समस्या छ भने राती सुत्नु अगाडि ग्लिसरीनको प्रयोग गर्नु पर्छ । यदि  छोरी सानै उमेरमा लिपस्टिक लगाउन जिद्दि गर्छिन् भने उनलाई न्यूड लिपजेल प्रयोग गर्न सिकाउनु पर्छ । विहान-वेलुका फेस वासले अनुहार धुने बानी बसाल्नु पर्छ । सुन्दर छालाको शुरुवात यहि उमेरबाट हुन्छ र हरेक प्रकारको स्किनलाई सास फेर्नका लागि सरसफाई आवश्यक हुन्छ ।

११ देखि १७ वर्षसम्म

यो उमेरमा युवतीहरु अलि धेरै नै सौन्दर्यप्रसाधनको प्रयोग गर्न रुचाउँछन्, तर आफुलाई नसुहाउने र भद्दा मेकअपले तपाईलाई सुन्दर देखिनु भन्दा अरुको अगाडि हास्यपात्र बनाउँछ । त्यसैले यो उमेरमा मेकअप गर्दा धेरै कुरामा ध्यान दिनु आवश्यक हुन्छ । यो किशोरावस्था निकै नै संवेदनशिल हुन्छ ।

किशोरावस्थामा क्लिन्जर, ऐस्टि्रजेन्ट र टोनरको अति नै महत्वपुर्ण भूमिका हुन्छ । यी तीन प्रोडक्ट छालाको लागि अति नै आवश्यक पनि छ, किनभने यो उमेरमा तपाइर्ंको छाला अति नै तैलीय हुन्छ । रोमछिद्र बन्द भएपछि पिम्पलको रुप धारण गर्छ ।

सनस्क्रीनको प्रयोग गर्नु पर्छ तर यो उमेरमा छाला धेरै तैलीय हुने भएकाले तपाईंले प्रयोग गर्नु भएको प्रसाधन ननकोमोडेजीनिन नहोस् भन्ने कुरामा ध्यान दिनु पर्छ । सनस्क्रीन भन्दा राम्रो अरु कुनै विकल्प हुँदैन । यसले छालालाई राम्रो सुरक्षा प्रदान गर्छ र अक्साइड युक्त सनस्क्रीनको प्रयोगले पिम्पल पनि कम हुन्छ ।

यदि तपाइर्ंको अनुहारमा पिम्पल छ भने त्यसलाई लुकाउन फाउन्डेशनको प्रयोग गर्नु आवश्यक छैन । त्यस्तै पिम्पल कोट्याउने, फुटाउने पनि गर्नु हुदैन । तर सनस्क्रीनको प्रयोग गर्नु अति नै आवश्यक हुन्छ । सुर्यको किरणको प्रभावले पिम्पलको गहिरो कालो दाग बस्न भएकोले सनस्क्रीनको प्रयोग अनिवार्य रुपमा गर्नु पर्छ ।

यो उमेरमा ओठको सुन्दरताका लागि कलर्ड लिपजेलको प्रयोग गर्न सकिन्छ तर सस्तो उत्पादन ओठमा लगाउनु हुँदैन । ओठमा गुणस्तरीय प्रोडक्टको प्रयोग गर्नु आवश्यक हुन्छ ।

विवाह अथवा कुनै विशेष समारोहमा गुलाबी लिपस्टिक, एक कोट मसकारा, गाजल र सनस्क्रीमाथि कम्पेक्ट लगाउनु पर्छ । यो उमेरमा हरेक युवती सुन्दर देखिन्छन् । यो उमेरमा प्रयोग हुने सौन्दर्यप्रसाधनहरु ।

फाउन्डेशन

फाउन्डेशन छनौट गर्दा यसलाई हातको छालामा लगाउनु पर्छ । जुन फाउन्डेशन  हातको छालासंग मेल खान्छ, तपाईंको लागि त्यहि फाउन्डेशन उपयुक्त हुन्छ । हिजोआज बीबी क्रीमको प्रयोग पनि निकै हुन थालेको छ । त्यसैले यदि तपाईलाई फाउन्डेशन प्रयोग गर्न मन लागेन भने बीबी क्रीम पनि तपाईको लागि राम्रो विकल्प हुन सक्छ ।

यदि तपाईंको विवाह हुँदैछ भने र कस्तो लिपस्टिक छनौट गर्ने भन्ने सोचाईमा हुनु हुन्छ भने  रातो, गुलावी, कलेजी,रानी र कफी शेडको लिपस्टिकको छनौट गर्न सक्नु हुन्छ । तर यी सबैको पनि विभिन्न प्रकारका शेडहरु हुन्छन् । गाढा रंग गहुँगोरो अनुहारको लागि र हल्का रंग गोरो छाला भएकालाई सुहाउँछ । मेट, ग्लसी र क्रीम लिपस्टिकका शेडहरु तपाईं आफ्नो साथमा राख्न सक्नु हुन्छ जसलाई समय र अवसर अनुसार प्रयोग गर्न सक्नु हुन्छ ।

मस्कारा

मस्काराको प्रयोगले तपाईंको परेला लामो र बाक्लो देखिनुको साथै आँखा झन् आकर्षक देखिन्छ । मस्कारा छनौट गर्दा राम्रो कम्पनीको मस्कारा छनौट गर्नु पर्छ ।

आईलाइनर

आईलाइनरले आँखालाई सुन्दर बनाउन विशेष भूमिका खेल्छ । आईलाइनरको छनौट गर्दा वाटर प्रूफ लिक्विड आईलाइनरको छनौट गर्नु पर्छ । आईलाईनर लगाउँदा सधैं बाहिरी कुनाबाट भित्र तिर लगाउनु पर्छ ।

आई स्याडो

आई स्याडोको प्रयोग गर्दा राती गाढा र दिनमा हल्का रंगको आई स्याडोको प्रयोग गर्नु पर्छ ।

राति सुत्नु अगाडि मेकअप हटाउनु अति नै आवश्यक छ र नाइट क्रीम प्रयोग गर्नु पर्छ ।

१८ देखि ३५ बर्षसम्म

यो उमेरमा युवतीको विवाह हुने र बच्चा समेत हुने भएकोले छालामा केहि परिर्वतन आउन थाल्छ । बच्चा जन्मेपछि पिगमेन्टेसनको समस्या पनि हुन थाल्छ । यो उमेरमा कुन-कुन सौन्दर्य प्रसाधन कसरी प्रयोग गर्ने ?

३० वर्षपछि विस्तारै भिटामिन सी सीरमको प्रयोग गर्नु पर्छ । यो एउटा राम्रो एन्टीअक्सिडेन्ट हो, जसले छालालाई चाउरीन र तन्कनबाट रक्षा गर्छ । यसको प्रयोग राती गर्नु राम्रो हुन्छ ।

घर भित्र र बाहिर जहाँ भए पनि सनस्क्रीनको प्रयोग गर्नु आवश्यक छ । सूर्यको किरणबाट हुने एज स्पोटलाई रोक्ने भएकोले सनस्क्रीन छालाको लागि अति नै आवश्यक छ यसले  छाला स्वस्थ्य बनाइराख्न सहयोग गर्छ । ग्लसी भन्दा मेट लिपस्टिकको प्रयोग गर्नु पर्छ । ३० बर्ष पछि अन्डर आई सीरमको पनि प्रयोग गर्नु पर्छ ।

पिगमेन्टेसनको समस्य हरमोनल इम्ब्यालेन्सको कारण हुन्छ, त्यसैले यसलाई वेवास्ता गर्नु हुँदैन । कुनै राम्रो कन्सिलरको सहयोगले तपाइर्ं यसलाई लुकाउन सक्नु हुन्छ । त्यसमाथि एक कोट फाउन्डेसन लगाएर आफ्नो छालाको रंगसंग मिलाउन सक्नु हुन्छ ।

३६ दखि ५० बर्षसम्म

जब महिला ३६ वर्ष पुग्छिन्, उनको मेकअप गर्ने तरिका किशोरावस्था र युवावस्था भन्दा भिन्न हुन्छ । ४० वर्ष पुगेपछि त छाला पनि सुख्खा र थाकेको देखिन थाल्छ । यसको प्रमुख कारण कोलोजनको कमी । तर यदि  केहि प्रयास गर्नु भयो भने तपाईको छालाको चम्किलोपन पुन आउन सक्छ ।

प्राइमरको प्रयोग गर्नु पर्छ, जसले  छालालाई समतल रुप दिन्छ । तर प्राईमरको छनौट गर्दा हाइड्रेटिङ प्राइमर हुनु पर्छ नभए अन्य प्राइमरले तपाईको छालाको रेखाहरु प्रष्ट देखिने डर हुन्छ ।

फाउन्डेसनको सही प्रयोगले अनुहारलाई अति नै सुन्दर र कम उमेरको देखाइदिन्छ । तर फाउन्डेशनको प्रयोग गर्दा तपाईको छालासंग मेल खाने हुनु पर्छ र यसलाई हल्का र एक कोट मात्र लगाउनु पर्छ ।

-कुनै पनि राम्रो कन्सिलरको सहयोगले आँखा वरपरको कालो घेरा र पिगमेन्टेशनको दागलाई सजिलै छोप्न सकिन्छ ।

-लिपस्टिक लगाउनु अगाडि ओठलाई सुख्खा छालालाई स्क्रबको सहयोगले हटाउनु पर्छ ।  लिपस्टिक लगाउनु अगाडि लिप बामको प्रयोग गर्नु पर्छ र लिपलाइनर र लिपस्टिकको सहयोगले आफ्नो ओठलाई सुन्दर र आकर्षक बनाउन सक्नु हुन्छ ।

५० वर्षपछि

-यो उमेर प्राकृतिक रुपले छाला लत्रिन थाल्छ, त्यसैले राम्रो मोइश्चराइजरको सहयोगले हाइड्रेट राख्छ । यो उमेरमा सीरमको दिनमा दुई पटक प्रयोग गर्न सकिन्छ ।

-सनस्क्रीनको प्रयोग गर्नु पर्छ तर यो क्रीम बेस्ड हुनु आवश्यक छ ।  त्यस्तै फाउन्डेशन पनि लिक्किड र क्रीम बेस्ड हुनु आवश्यक छ ।

-आँखा र ओठको लागि गाढा रंग उपयुक्त हुन्छ । बढ्दो उमेरसंगै ओठ पनि पातला हुँदै जान्छ । त्यसैले लिपग्लसको सहायताले ओठलाई बाक्लो र ग्लसी देखाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment