Comments Add Comment
१४ मंसिरको उपनिर्वाचन :

कास्कीमा आकांक्षीको होड, पर्खिंदै केन्द्रको निचोड

स्थिति बुझ्दै नेकपा, कार्यकर्ता फकाउँदै कांग्रेस

५ कात्तिक, पोखरा । उपनिर्वाचन मिति जति नजिकिँदै छ, उति कास्कीका राजनीतिक दल, उम्मेदवारका आकांक्षी, कार्यकर्तामा कौतुहलता बढिरहेको छ । कात्तिक २१ गते मनोनयन गर्ने दिन तोकिएको छ । उपनिर्वाचन हुने ठाउँमा निर्वाचन अधिकृत को खटिने भन्ने पनि सोमबार टुंगो लागिसक्यो । तर टिकटका आकांक्षी र कार्यकर्तालाई भने टुंगो छैन, पार्टीले कसलाई उम्मेदवार तोकिदिने हो ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसलाई हेरिएको छ । यद्यपि साझा पार्टीलगायतका दल पनि चुनावी प्रतिस्पर्धामा छन् ।

नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छैनन् । दुवै दलको केन्द्रीय कमिटीले ३/३ उम्मेदवारको नाम सिफारिस गरेर पठाउन जिल्लालाई भनेका छन् ।

कांग्रेसभित्र आकांक्षीहरु धेरै छन् । ३ जनाको मात्र नाम सिफारिस गर्न असम्भव जस्तै देखिएको छ । कांग्रेसको क्षेत्रीय समितिमा १६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

१० हजार तिरेर १६ जना आकांक्षी

कांग्रेसले यो पटक उम्मेवारको सम्भावित सूचीमा पर्न पनि १० हजार तिर्नुपर्ने व्यवस्था गरेको थियो । १० हजार रुपैयाँ तिरेर आकांक्षा देखाउने १६ जनामा पाका नेता खेमराज पौडेलदेखि निर्मल कर्माचार्यसम्म छन् । खेमराज कास्की कांग्रेसका पुराना र निष्ठावान नेता मानिन्छन् । उनीसँगै यसअघि रवीन्द्र अधिकारीकै प्रतिस्पर्धी देवराज चालिसे आकांक्षीमध्ये पनि अगाडि छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा रवीन्द्र अधिकारीसँग पराजित भएका सोभियतबहादुर अधिकारी पनि यसपटक आकांक्षी छन् । यसैगरी पूर्वराज्यमन्त्रीसमेत भइसकेका महादेव गुरुङ पनि यसपटक कांग्रेसबाट टिकट लिने होडमा छन् ।

कांग्रेसबाट क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला ‘मधु’ महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण बिजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषी, केदारप्रसाद तिवारी, विमला भण्डारीले पनि आकांक्षा देखाएका छन् ।

कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य पनि उम्मेदवारको आकांक्षी हुन् । कांग्रेस कास्कीको मंगलबार बस्ने बैठकमा सर्वसम्मत ३ जनाको नाम सिफारिस हुन नसके सबैको नाम केन्द्रमा जानेछ ।

यो पनि पढ्नुहोस उपनिर्वाचनको रस्साकस्सी, दलहरूको आ-आफ्नै दाउ

किनकी अन्तर्घात हुने भएकाले पनि कसैको नाम काटेर कोही पनि जोखिम लिन चाहँदैनन् । सबै नाम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने र जसले उम्मेदवारको टिकट पाएपनि एक भएर चुनावी अभियानमा लाग्ने रणनीति कास्की कांग्रेसको छ ।

यसअघिजस्तै सर्वसम्मत नभए सबै नाम बुधबारसम्ममा संघमै पठाउने र अबको अभियान निर्वाचन केन्दि्रत गर्ने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

कांग्रेसबाट धनराज गुरुङको पनि चर्चा छ । कांग्रेसका लोकप्रिय नेताका रुपमा पनि चिनिएका धनराजलाई यसपटक कास्की २ बाट उठाउने चर्चा कांग्रेस वृतमा चलिरहेको छ । स्याङ्जा घर भएका नेता गुरुङलाई उम्मेदवार बनाउँदा जित सहज हुने कतिपयको विश्लेषण छ । तर नेता गुरुङले भने कास्कीबाटै सिफारिसको चर्चा चलिरहेकाले अहिले बोल्न उचित नहुने प्रतिक्रिया दिए ।

वामदेवको च्याप्टर क्लोजपछि को ?

नेकपालाई पनि उम्मेदवारको टुंगो लगाउन सजिलो छैन । पाका नेतादेखि कनिष्टसम्मले आकांक्षा देखाइरहेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम नै कास्की २ को उम्मेदवार बन्ने चर्चापछि जिल्लाका नेता पनि असहमत थिएनन् । उनले चुनाव नलड्ने घोषणा गरेपछि को उम्मेदवार होला भन्ने विषय पेचिलो बनेको छ ।

नेकपामा बामदेव नउठ्ने घोषणा गरेपछि सबैभन्दा बलियो र सम्भावित उम्मेदवारको रुपमा लिइएको नाम विद्या भट्टराईकै हो । दिवंगत पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार बन्दा चुनाव जित्न सहज हुने धेरैको अनुमान छ ।

यो पनि पढ्नुहोस ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

तर विद्याको नाममा निर्णय भइनसकेकाले अन्य आकांक्षी पनि लबिङमा छन् । पूर्वसांसद तथा नेकपा नेता सोमनाथ प्यासी पनि उम्मेदवार बन्न चाहन्छन् । जनपक्षीय उम्मेदवार बनेर चुनाव जितेका प्यासीले टिकटका लागि पहल गरिरहेका छन् ।

रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्यलाई पनि दाबेदारका रुपमा हेरिएको छ । नेकपा कास्कीका इञ्चार्ज श्रीनाथ बराल, पूर्वसांसद तुलबहादुृर गुरुङ, भीम कार्की पनि आकांक्षी छन् । पूर्वमाओवादीको भागमा नपर्ने भनिए पनि नेकपा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ को पनि चर्चा छ । उनी कास्की क्षेत्रनम्बर २ को ‘ख’ बाट कांग्रेसका उम्मेदवार विन्दुकुमार थापासँग पराजित भएका थिए ।

नेकपाले १० गतेभित्र ३ जनाको नाम सिफारिस गरिसक्ने कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए । ‘सर्वसम्मत रुपमै ३ जनाको नाम केन्द्रीय कमिटीमा पठाउँछौं,’ थापाले भने, ‘जसले टिकट पाए पनि हाम्रो मुख्य ध्यान पार्टीलाई जिताउने नै हो ।’

कार्यकर्ताबीच मतको जोड-घटाउ

कास्की २ उपचुनाव हुने प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र हो । त्यसैले सत्तारुढ र विपक्षी दुवै दलले यो क्षेत्रको चुनावलाई महत्वका साथ हेरेका छन् ।

यसअघिको चुनाव जितेको नेकपाले निर्वाचन हुने क्षेत्रका वडा-वडामा कार्यकर्तालाई प्रशिक्षित गरिरहेको छ । पहिले कांग्रेसले जितेका वडामा उसले प्रशिक्षणलाई जोड दिएको छ भने तत्कालीन एमालेले जितेको वडामा पनि अहिलेको स्थिति बुझिरहेको छ ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । अधिकांश वडामा नेकपाले जितेको छ । वडा नम्बर वडा नम्बर ३, ४, ९ र ११ मा भने कांग्रेसले जितेको छ । योसहित सबै वडामा हालको अवस्था बुझ्दै कार्यकर्तालाई चुनावी रणनीतिका विषयमा नेकपाले कार्यकर्तालाई प्रशिक्षित गरिरहेको छ । यो क्षेत्रमा रवीन्द्रले नै ठूलो मतान्तरले चुनाव जितेका हुन् । त्यसैले पनि उपचुनाव जित्ने कुरामा नेकपा ढुक्क छ । वडा नम्बर ११ र २० को नेकपाले मंगलबार संयुक्त कार्यक्रम राखेको छ ।

कांग्रेस पनि कार्यकर्तालाई प्रशिक्षण गर्दै यसपटक कुनै पनि हालतमा निर्वाचन जित्ने रणनीतिमा छ । कांग्रेसले यतिबेला सरकारले खेपिरहेको आलोचनाको फाइदा उठाउने चुनावी रणनीति अपनाउने तयारी गरिरहेको छ ।

२०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् । त्यसबखत रवीन्द्र अधिकारीले ह्याट्रिक गरे । ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज पछि परे । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

यो क्षेत्रमा तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । नेकपा र कांग्रेससँगै चुनावको तयारीमा बढी जुटेको अर्को पार्टी, साझा हो । उसले चुनावलक्षित कार्यक्रम पोखरामा गरिसकेको छ भने उम्मेदवारको पनि लगभग टुंगो लगाइसकेको छ । यद्यपि सार्वजनिक भने गरेको छैन । मंगलबार उम्मेदवारको टुंगो लगाउने र बुधबार सार्वजनिक गर्ने तयारी भइरहेको गण्डकी संयोजक महेश भण्डारीले जानकारी दिए ।

तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टी पनि यो क्षेत्रमा प्रतिस्पर्धामा थिए । अहिले यी पार्टी एकीकरण भएर बनेको संघीय समाजवादीले पनि केही दिनभित्रै उम्मेदवार टुंगो लगाउने तयारी गरिरहेको छ ।

यो पनि पढ्नुहोस बागलुङमा कांग्रेसलाई अवसर, जनमोर्चा र नेकपालाई चुनौति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment