Comments Add Comment

यो हो अमेजन कम्पनीको ‘सबैभन्दा स्मार्ट’ काम

विश्वका सबैभन्दा धनी व्यक्ति हुन् जेफ बेजोस । उनी अमेजन कम्पनीका सीईओ  हुन् ।

जेफ बेजोस जब कुनै सार्वजनिक मञ्चहरुमा बोल्दछन्, तब आफ्नो मन्तव्यको अन्तिममा एउटा प्रसँग छुटाउँदैनन् । आफ्नो भाषणको अन्त्यतिर बेजोसले आफ्नो कम्पनी अमेजनभित्र रहेका केही अनुकरणीय तथा प्रेरणादायी प्रयास तथा कार्यहरुहरुको बारेमा बताउँदछन् ।

उनै बेजोसले एकपटक यस्तै पब्लिक फोरममा सोधियो, ‘तपाइँले आफ्नो कम्पनीमा अहिलेसम्म गरेको सबैभन्दा स्मार्ट काम के हो ?’

अमेजन कम्पनीको इतिहासमै अहिलेसम्म भएको सबैभन्दा स्मार्ट काम के होला ? यो सबैको चासोको विषय नहुने कुरै भएन । तर जब बेजोसले यसको उत्तर दिए, तब सबै तिनछक परे । वास्तवमा बेजोसले जुन कामलाई अमेजन कम्पनीमा गरिएको सबैभन्दा स्मार्ट काम भएका थिए, त्यो पत्याउन गाह्रै पर्ने खालको थियो ।

बेजोसका अनुसार अमेजन कम्पनीमा पावरप्वाइन्ट प्रस्तुतिमाथि रोक लगाउनु नै अहिलेसम्मको सबैभन्दा स्मार्ट काम हो ।

जेफ बेजोसका अनुसार अमेजनमा वर्षौँ अघि नै पावरप्वाइन्ट प्रस्तुति हटाइएको हो । कम्पनीका कुनैपनि बैठक तथा छलफलमा पावरप्वाइन्टको प्रयोग गर्न पाइँदैन ।

विश्वका सबैजसो कर्पोरेट अफिसहरुमा बैठकहरुको एउटा अभिन्न अंग हो पावरप्वाइन्ट प्रस्तुति । व्यवस्थापकहरुले आफ्ना कुरा राख्न, कम्पनीका बारेमा कर्मचारीहरुलाई बताउन, निर्देशन दिनका लागि मात्र नभएर कर्मचारीहरुले आफ्नो कार्यप्रगति तथा प्रयासका बारेमा बताउन पनि पावरप्वाइन्ट प्रस्तुतिको सहारा लिन्छन् । तर अमेजनमा भने सीईओ जेफ बेजोस देखि सबैभन्दा तल्लो दर्जाको कर्मचारीलाई समेत पावरप्वाइन्टमा अल्झिने छुट छैन ।

यहीँ पावरप्वाइन्ट हटाउनु नै सम्भवतः अमेजनमा आफुहरुले गरेको सर्वाधिक स्मार्ट कार्य रहेको जेफ बेजोसको तर्क छ।

यहाँनेर प्रश्न उठ्छ, पावरप्वाइन्ट प्रस्तुति नहुँदा अमेजनका कर्मचारीहरुले बैठकमा आफ्ना कुराहरु कसरी शेयर गर्दछन् ? अमेजनमा बेजोसले बैठकको कस्तो नयाँ तरिका विकास गरेका हुन् त ?

यसको रोचक जवाफ छ । सिएनबिसीको एक रिपोर्ट अनुसार अमेजन कम्पनीमा जुनसुकै बैठकको सुरुवातमा ३० मिनेटको अध्ययन सत्र हुन्छ । बैठकका विषयवस्तुहरु लगायतका विषयमा तयार पारिएको ६ पेज लामो लिखित सामाग्री बैठकका सबै सहभागीलाई पढ्न दिइन्छ । त्यो सामाग्री सबैजनाले गहन रुपमा अध्ययन गर्नुपर्दछ, ३० मिनेट भित्रमा ।

जेफ बेजोसका अनुसार त्यहीँ मेमोले नै बैठकमा असल बहसको अवस्था सिर्जना गर्दछ । कर्मचारीहरुलाई प्रदान गरिएको उक्त सामाग्री अध्ययनका क्रममा कर्मचारीहरुलाई आफूलाई लागेका कुराहरुको टिपोट गर्न भनिन्छ । अनि त्यसरी टिपोट गरिएका विषयहरुमा नै बैठकमा बहस हुन्छ ।

बेजोसका अनुसार बैठकको सुरुवातमा हुने यस्तो सामूहिक अध्ययन सत्रले कर्मचारीहरुलाई बैठकका क्रममा ध्यान नदिने वा निस्कृय बस्ने छुट दिदैन, किनकी सबैलाई व्यस्त रहनै पर्दछ ।

बेजोसका अनुसार बैठकमा कुनै एकजनाले प्रस्तुत गर्ने र अरुले सुन्ने/हेर्ने पावरप्वाइन्ट प्रस्तुतिमा अमूर्त जानकारीहरु समावेश हुन्छन् । तर अमेजनमा बैठकको सुरुमा वितरण गरिने मेमोचाहिँ पूरै टिमले तयार गर्दछ र त्यसमा लेखकको नाम पनि उल्लेख गरिएको हुँदैन । यस्तो मेमो लामो तयारी पछि तयार गरिएको हुन्छ ।

बेजोस भन्छन्, ‘उत्कृष्ट मेमोहरु लेखन/पुनर्लेखन गर्ने, सहकर्मीहरुमाझ वितरण गरी सुझाव माग्ने, केही दिन प्रतिक्रियाका लागि छाड्ने र अन्तिममा सम्पादन गरी अन्तिम रुप दिने गरिन्छ ।’

यो तरिकाले अमेजन कम्पनीमा बैठकको तौर तरिकामा आमूल परिवर्तन ल्याएको पनि जेफ बेजोसको दाबी छ । एजेनसीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment