Comments Add Comment

तिहारमा पटकाको जोखिम

दशैंको पूणिर्मा सकिएसँगै गाउँदेखि शहरसम्म तिहारको माहोल बन्न थालेको छ । सयपत्री र मखमली फूल धपक्कै फूलेका छन् । बजारमा तिहार लक्षित सामाग्रीहरुको बिक्रि-वितरण हृवात्तै बढेको छ । तिहारमा फूलदेखि फलफूलसम्म, दियोदेखि मैनबत्तीसम्म, रंगी-बिरंगी टीका सामग्रीदेखि सेलरोटी र अनर्सासम्मले बजारमा कब्जा जमाउन थालिसकेका छन् । यी सबैकाबीच युवाहरु भने तिहारको माहोललाई रोमाञ्चक बनाउने पटाकाको जोहो गर्नमा जुटेका छन् । यद्यपि, तिहारमा पटाका पड्काउनु अपराध झैं हुने सूचनाहरु प्रशासनले हरेक वर्ष जारी रहन्छ ।

तिहारमा हुुन सक्ने सम्भावित अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति नै अपनाउँछ । राती १० बजेपछि देउसी-भैलो खेल्न प्रशासनले नै रोक लगाउन थालेको केही वर्ष भईसकेको छ । जिउ-ज्यानकै जोखिम हुुने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटाका पड्काउन समेत निषेध गर्दै आएको छ ।

यसपटक पनि केही दिनपछि नै उक्त सूचना सार्वजनिक हुनेछ । पटका नियन्त्रण गर्न विभिन्न नाकामा विशेष चेकजाच प्रारम्भ हुँदैछ । हो-हल्ला, धुवाँ तथा प्रदूषणलाई नै तिहार मान्ने विरुद्ध प्रशासनले पटाकाका नियन्त्रण गर्न थालेको हो भन्ने कुरा अहिले अधिकांशले बुझ्न थालिसकेका छन् ।

त्यसो त जसरी लोला र रंगहरुबीच होली मनाउन कल्पना समेत गर्न सकिँदैन, ठिक त्यसैगरी आतिसबाजी र पटाका बिना तिहारको रोमाञ्चकता नै नहुने तर्क युवापुस्ताको रहँदै आएको छ । तर, पछिल्ला केही वर्षदेखि तिहारको आतिसबाजी पर्यावरणका लागि खतरनाक साबित हुन थालेको छ । यसको कारण हो अन्धाधुन्द पटाका पड्काउनु । पटाकामा हानिकारक रसायनहरुको प्रयोग गरिएको हुन्छ । मध्यरातसम्म पटाका पड्काउँदा त्यसले हाम्रो पर्यावरणलाई नै हानि पुर्‍याउँछ । त्यसो त मध्यरातसम्म पटाका पड्काउँदा ध्वनि प्रदूषणका कारण राति सुत्न समेत गाह्रो हुन्छ ।

तिहारमा पटाका पड्काउने तथा आतिसबाजी गर्ने प्रचलन कहिलेदेखि प्रारम्भ भयो भन्ने कुराको कुनै ज्ञात प्रमाणिक इतिहास नै उपलब्ध छैन । यद्यपि, सत्य कुरा के हो भने पटाका र तिहार एक-अर्काका परिपूरक हुन् । पटाका र आतिसबाजीलाई खुशी र उल्लासको प्रतीक समेत मानिन्छ । खासगरी बालबालिकाहरुको तिहार त पटाका बिना पुरा नै हुँदैन भन्ने आम मान्यता छ । यस्तो बेलामा तिहारमा पटाका पड्काउनमा पूर्ण प्रतिबन्ध लगाउनु पनि उचित छ कि छैन भन्ने कुरामा पनि सोच्ने कि ?

नेपालको तुलनामा भारतमा तिहारको मौकामा अत्यधिक पटाका पड्काइन्छ । यद्यपि, त्यहाँ पनि सर्वोच्च अदालतले नै एउटा फैसला गर्दै राति ८ बजेदेखि १० बजे भित्र मात्र पटाका पड्काउन सकिने व्यवस्था गरेको छ । यसका साथै त्यसरी पड्काइने पटाकाहरुले पर्यावरणलाई कमभन्दा कम हानि पुर्‍याउने हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

पटाकाका सौखिनहरुले बुझ्नु पर्ने अर्को एउटा महत्वपूर्ण कुरा के छ भने पछिल्ला केही वर्षयता पटाकाको मूल्य अत्यधिक रुपमा बढिरहेको छ । पटाकाको मूल्य बढेसँगै यसले तिहारको बजेट समेत बिगारिरहेको छ । खर्च बढाउने पटाका पड्काएर खासै केही पनि उपलब्धी समेत हुँदैन । पटाकाको साँटो तिहारमा अत्यधिक प्रकाश फैलाउने बिजुली-बत्तीमै जोड दिने कि ?

त्यसै पनि तिहार भनेको प्रकाशको पर्व हो । संस्कृति र संस्कार बढाउने पर्व हो । खुशीयाली बढाउने पर्व हो । यो सुन्दर पर्व हो-हल्ला र कोलाहल मच्चाउनका लागि हुँदै होइन ।

पटाकाले सुन्दर तिहारको मुहार नै परिवर्तन गरिदिएको छ भने अर्कोतिर वातावरणलाई समेत प्रदूषण गराइरहेको छ । पटाकाले गर्ने पर्यावरणसँग सम्बन्धी हानि सोझै तथा तुरुन्दै देखिँदैन, यद्यपि यसले दीर्घकालीन प्रभाव पारिरहेको हुन्छ । त्यसैले प्रशासनले जारी गर्ने निषेधाज्ञा पालना गर्दै तिहारलाई पटाका रहित बनाउने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment