Comments Add Comment

‘कालीगण्डकी ए’मा खेलवाड : जथाभावी बाटो खन्दै, जलाशयमा माटो खसाल्दै

७ कात्तिक, काठमाडौं । जथाभावी सडक निर्माणले देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना ‘कालीगण्डकी ए’ लाई क्षति पुर्‍याएको छ । यो पिकिङ रन अफ दि रिभर (पानी केही समय जम्मा गरेर पिक आवरमा चलाउने) प्रणालीको अर्ध जलाशययुक्त आयोजना हो ।

स्याङ्जा र गुल्मीमा रहेको १४४ मेगावाटको यो आयोजनाको बाँधस्थल र जलाशय आसपास जथाभावी सडक निर्माण भइरहेको छ । नदीको दायाँतर्फबाट कालीगण्डकी करिडोर निर्माण गर्दा सरकारले त्यहाँबाट निस्किएको ढुंगा, माटो र बालुवा रिजर्भ्वायरमा नै खसालेको थियो ।

यसबाहेक अन्य स्थानीय सडकहरु पनि कालीगण्डकीको आसपासबाट निर्माण गर्न स्थानीय निकाय सक्रिय छन् । इन्जिनिरिङविनाका यस्ता सडक खन्दा निस्किएको माटो र ढुंगा पनि नदीमा खसालिएको छ ।

कालीगण्डकी जलविद्युत् आयोजनाका प्रमुख पशुपति गौतमका अनुसार ६ घण्टा पिकिङ गर्न सकिने यो आयोजनाको जलाशय बालुवाले पुरिँदै जान थालेको छ ।

‘अहिले ४ घण्टा मात्रै पिकिङ गर्न सकिने अवस्था छ,’ उनले भने, ‘माथिल्ला क्षेत्रमा सडक बनाउने क्रम जारी रह्यो भने आयोजना अझै प्रभावित हुन्छ ।’

यो आयोजना सन् २००२ बाट सञ्चालनमा आएको हो । त्यसबेला नै बालुवाबाट प्रभावित हुन सक्ने आँकलन गरिएको थियो । तर, अहिले अनुमानभन्दा बढी बालुवा पावरहाउसमा पुग्न थालेको छ । बालुवा थ्रिग्याउने काम गर्दा पनि प्लान्टमा बालुवाको असर कम भएको छैन । यसले गर्दा आयोजनाको टर्वाइन छिटो–छिटो बिग्रिने र पटक–पटक मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

‘हामीले प्रत्येक वर्ष उत्पादन नै रोकेर तीनवटा मध्ये एउटा प्लान्ट मर्मत गर्दै आएका छौं,’ उनले भने, ‘तर अहिले टवाईन छिटो खिइने समस्या बढ्दै गएको छ । बालुवाले टर्वाइनलाई छिट्टै बिगार्ने हुँदा आयोजनालाई चुनौती थपिएको छ ।’

आयोजनामा ४८–४८ क्षमताका ३ वटा टर्वाइन छन् । जति प्रयास गर्दा पनि बालुवाको असर कम गर्न नसकिएको आयोजनाको भनाइ छ । स्थानीय सरकारहरुले सडक निर्माण तीव्र पारेपछि त्यसको असर जलाशय र पावरहाउसम्म नै देखिन थालेको उनले बताए ।

‘कालीगण्डकीको जलाधार क्षेत्र निकै ठूलो छ । माथिल्ला भेगमा निर्माण भएका सडकको असर पनि आयोजनासम्म परिरहेको छ,’ उनले भने, ‘हामीले यस्तो असर नपरोस् भनेर स्थानीय तहहरुसँग पहल गरिरेका छौं । सडक निर्माण गरेपछि त्यसको माटो उचित व्यवस्थापन गर्ने कार्ययोजना नबनाए आयोजना झनै प्रभावित हुने निश्चित छ ।’

१७ वर्षअघिबाट सञ्चालनमा आएको योजनाले गत असारसम्म १२ अर्ब ९२ करोड युनिट विजुली उत्पादन गरिसकेको छ । यो परियोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एडिबी र जापान सरकारको संयुक्त लगानीमा निर्माण भएको हो ।

कुल ४५ करोड २८ लाख अमेरिकी डलर खर्च भएको यो परियोजना निर्माण इटालीको इम्प्रेजिलो एसविए कम्पनीबाट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment