Comments Add Comment

भारतमा विधानसभा निर्वाचन : बीजेपीलाई धक्का

८ कात्तिक, काठमाडौं । भारतको महाराष्ट्र र हरियाणा राज्यको विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘दुबै मुख्य मन्त्रीले सबैको साथ लिएर महाराष्ट्र र हरियाणाका जनताको सेवा गरे, त्यसको परिणाम–उहाँहरूलाई जनताले दोस्रो कार्यकालका लागि पनि विश्वास गरे ।’

सामाजिक सञ्जालमा ट्विट गर्दै मोदीले भारतीय जनता पार्टी (बीजेपी)लाई विजय गराएको भन्दै महाराष्ट्र र हरियाणाका मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । जबकी दुबै राज्यमा बीजेपीको सीट संख्या घटेको छ ।

कुल २८८ सिट रहेको महाराष्ट्रमा बीजेपीले १०५ स्थानमा जित हासिल गरेको छ । २०१४ को निर्वाचनमा उसले १२२ स्थानमा जितेको थियो ।

महाराष्ट्रमा नेसनल डेमोक्र्याटीक एलाइन्स (एनडीए) कै सीट घटेको छ । २०१४ को निर्वाचनमा १८५ सीट जितेको बीजेपी सहितको एनडिए यसपटक १६१ स्थानमा खुम्चिएको छ ।

हरियाणामा बहुमत गुम्यो

बीजेपी र शिव सेना सम्मिलित गठबन्धनले निरन्तरता पाउँदा महाराष्ट्रमा सरकार बनाउन समस्या छैन । तर कुल ९० सिट रहेको हरियाणामा भने बीजेपीलाई सरकार गठन मै धक्का लाग्ने भएको छ ।

४० स्थानमा जित हासिल गरेको हरियाणामा बीजेपी सबभन्दा ठूलो दल हो, तर उसले एकल सरकार बनाउन आवश्यक ४६ सीट पुर्‍याउन सकेन । अर्थात मोदीले बधाईका क्रममा भने जस्तो जनताले दोस्रो कार्यकालका लागि बीजेपीलाई मुख्यमन्त्री बनाउन पुग्ने गरी मत दिएनन् ।

हरियाणामा बीजेपीका प्रदेश अध्यक्ष सुभाष बराला पनि निर्वाचनमा पराजित भए । बीजेपीका सात बहालवाला मन्त्रीले चुनाव जित्न सकेनन् । २०१४ को निर्वाचनमा बीजेपीले हरियाणामा ४७ स्थान जितेको थियो ।

कांग्रेसलाई राहत

भारतीय राष्ट्रिय कांग्रेस निर्वाचन नतिजाबाट उत्साहित भएको देखिन्छ । परिणाम सार्वजनिक भए लगत्तै कांग्रेसको आधिकारिक ट्विटर हेन्डलमा लेखिएको छ– हरियाणा र महाराष्ट्र विधानसभा र देशभरीका उपचुनावको नतिजा पार्टीको कर्मठ कार्यकर्ताहरूको मेहनत र समर्पणको परिणाम हो, पार्टी तँपाई सबैप्रति गर्व गर्दछ ।’

कांग्रेसले दुबै राज्यमा अधिकांश मत सर्वेक्षणको अनुमान भन्दा बढी सीट ल्याएको छ । युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपीए)ले ९८ सिट जितेको महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको ४४ सिट छ । तर गत निर्वाचनको तुलनामा यो दुई सीट मात्र बढी हो ।

हरियाणामा अघिल्लो निर्वाचनमा १५ सिटमा खुम्चिएको कांग्रेसले यसपटक ३१ सिट ल्याउन सफल भयो । सन् २००० देखि लगातार तीनपटक सरकार बनाएको कांग्रेसले यसटक त्यो मौका पाउने सम्भावना भने अत्यन्त न्यून देखिन्छ । हरियाणामा सरकार बनाउन उसलाई १५ सिट अपुग छ ।

सरकार बनाउने चाबी

हरियाणामा सरकार बनाउने चाबी गत वर्ष मात्र गठन भएको दलको हातमा पुगेको छ । सन् २०१८ डिसेम्बरमा गठित जननायक जनता पार्टी (जेजेपी) ले १० सिट जितेको छ । जेजेपीको समर्थन पाउने हो भने विजेपीले सजिलै सरकार बनाउन सक्छ । जेजेपीको समर्थन पाए कांग्रेसले पनि बहुमत पुर्‍याउन सक्छ ।

जेजेपीको जितका नायक हुन्– ३१ वर्षीय दुश्यंत चटाला । उनी हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चटालाका नाती हुन् । उनी २६ वर्षमै इन्डियन नेसनल लोकदलबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०१६ मा हरियाणामा भएको आरक्षण आन्दोलनपछि जाट समुदाय बीजेपीसँग आक्रोशित छ । जेजेपीले जाट सामुदायको ‘सेन्टीमेन्ट क्यास’ गरेको एकथरीको विश्लेषण छ ।

हरियाणामा इन्डियन नेसनल लोकदल र हरियाणा लोकहित पार्टीले एक–एक र स्वतन्त्र उम्मेदवारले सात सीट जितेका छन् ।

शरदको शक्ति

महाराष्ट्रमा शरद पवारको नेसनलिस्ट काँग्रेस पार्टीले अघिल्लो निर्वाचनमा भन्दा १३ सीट बढाएको छ । ५४ सीटमा जितेको पवारको पार्टी महाराष्ट्रमा तेस्रो ठूलो दल बन्न सफल भएको छ ।

बीजेपीको १७ र शिवसेनाको ७ सीट घटेको छ । तर, यी दुई दल मिलेर सजिलै सरकार गठन गर्न सक्ने अवस्था छ ।

२०१४ को निर्वाचनमा एक सिटले अघि रहेको भारतीय राष्ट्रिय कांग्रेसलाई पवारको पार्टीले १० सीटले पछि पारेको हो । निर्वाचन परिणाम सुधारमा ७८ वर्षीय पवारको व्यक्तित्वको भूमिका रहेको बताइएको छ । सन् १९९९ मा राष्ट्रिय कांग्रेसबाट निश्काशित भएपछि उनले नेसनलिस्ट कांग्रेस गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment