Comments Add Comment

एएफसीद्वारा एन्फालाई १० हजार डलर जरिवाना

८ कात्तिक, काठमाडौं । एसियन फुटबल फेडेरेशन (एएफसी) ले अखिल नेपाल फटुबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको अनुसन्धान तथा आचारसंहिता कमिटीले निश्चित मापदण्ड नपुर्‍याई क्लबहरुलाई लाइसेन्स दिएको भन्दै १० हजार अमेरिकी डलर जरिवाना लगाएको हो ।

एन्फाले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगरे ३५ हजार अमेरिकी डलर भन्दा बढी जरिवाना र प्रतिबन्ध पनि लाग्न सक्ने चेतवानी दिएको छ ।

एएफसीले सदस्य राष्ट्रलाई आफ्ना क्लबहरुलाई एएफसी लाइसेन्स वितरण गर्न आग्रह गरेको थियो । सोहीअनुसार एन्फाले नेपालका ९ वटा क्लबलाई लाइसेन्स दिन प्रस्ताव गरेको थियो ।

एएफसीले लाइसेन्स दिएको केही महिनापछि क्रस चेक गर्दै नेपालका तीन वटा फुटबल क्लब मनाङ मर्स्याङ्दी, थ्री स्टार र आर्मी क्लबलाई अडिट रिपोर्ट बुझाउन आग्रह गरेको थियो । सोही क्रममा तीन वटा क्लबले नै एएफसीको न्युनतम मापदण्ड पनि पूरा नगरेको पाएपछि जरिवाना गरेको हो ।

एन्फाका प्रवक्ता किरण राईले एएफसीको न्यूनतम मापदण्ड पूरा नगर्दा कारबाहीमा परेको स्वीकार गरे । उनले भने, ‘मनाङ, थ्रीस्टार र आर्मी क्लबलाई एएफसीले अडिट रिपोर्ट माग गरेको रहेछ । मुख्यगरी युथ डेभ्लोभमेन्ट प्रोग्राम, एकेडेमी लगायत नभएको भन्दै एएफसीले जरिवाना गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment