Comments Add Comment

सामुदायिक कुकुर मुक्ति मोर्चाको हड्ताल !

एकाबिहानै आज पुन्टुले घर छाड्यो । घर पनि के घर भन्नु मालिकको घर हो । खुशी भएको बेलामा त आफ्नै जस्तो गर्थे । रिस उठ्यो भने कालो अरिंगालको जस्तो व्यवहार । त्यही घरको सेवाको लागि भनेर पुन्टुले आफ्नो बैंश त्यसै त्याग्यो । त्यही घरको सुरक्षाको लागि उसले सारा जीवन इमान्दार भएर बस्यो । तर, उसको आवश्यकता बारे घरकाले केही पनि सोचेनन् ।

हुन त मालिकले सडकबाट नउठाएको भए आज पनि कति टोले कुकुरहरुसँग झगडा हुँदा उसको शरीर छिया छिया भएको हुँदो हो  । तर, त्यो समस्या आज उसलाई छैन । त्यही सम्झिएर ऊ आजसम्म बसिरहेको थियो । तर, आज उसले ठूलै हिम्मत गरेर घर छाडेको थियो ।

कोजाग्रत पूणिर्माको भोलिपल्ट प्रतिपदाको दिन घर छाड्नको लागि राम्रो हुँदैन भन्ने कुरा पुन्टुले पनि घरकाले कुरा गरेको बेलामा सुनेको थियो । तर, उसको मनमा के भयो कुन्नी यही प्रतिपदाको रात नै त्यो घरको पहरेदारी गर्ने अन्तिम दिन जस्तो लाग्यो । भारी मन बनाएर उसले सोही रात घर छाड्ने निधो गर्यो । घर छाड्दै गर्दा गेटमा पुगेर एक पटक फरक्क फर्किएर घरलाई हेर्यो । एकाएक घर विरानो जस्तो लाग्न थाल्यो ।

आफ्नो भन्नु केही थिएन । मालिकलाई कुन्नी के मन परेको थिएन । उनलाई हिजो खाना खान पनि दिएनन् । त्यो आज मात्रै होइन । आफ्नो घरको रिस पोख्नेदेखि हरेक किसिमको रिसको भार उसैले बोक्नु पथ्र्यो । बोलेपनि रिस नबोलेपनि रिस । सुते पनि रिस, उठेपनि रिस । कहिलेकाहीँ त लाग्थ्यो आफूलाई मालिकको रिस पोख्नको लागि मात्रै घरमा ल्याएर पालिएको हो ।

हिजो बिहानैदेखि पुन्टुलाई घर छाड्ने मुड चलिरहेको थियो । मालिकको जस्तै उसले पनि संगठन खोलेर कुकुरहरुको हक अधिकारको लागि आवाज उठाउने निधो गरिरहेको थियो । उसले त्यसको लागि रातिको मौसम उपयुक्त मान्यो । पुरै सन्नाटा छाएको त्यो शहरको मूल सडकमा निस्किएर अज्ञात गन्तब्य तिर लाग्यो पुन्टु । यही टोलमा बस्यो भने त भोलिपर्सी फेरि समातेर ल्याइहाल्छन् । फेरि उही टोकसो फेरि आवेगको शिकार । उसले पल्लो गाउँमा जाने निधो गर्यो । पल्लो गाउँमा गएर संगठन विस्तार गर्ने उसको योजना थियो ।

घरबाट निस्किएपछि उसलाई धेरै टोले कुकुरहरुले आक्रमणको प्रयास पनि नगरेका होइनन् । टोले कुकुरहरुको तुलनामा बढी सुकिलो पुन्टुले सबैलाई आफ्नो पीडा र योजना सुनाउँदै आफ्नो त्यो महान् सोचमा सामेल गराउँदै लग्यो र खोलाको किनारामा रहेको एउटा पुल मुनीबाट क्रान्तिको बिगुल बजाउने योजना बनायो ।

पुन्टु सडकमै जन्मियो । अरुको जस्तो उसको स्याहार सुसार हुन सकेन । एउटा घरबेटीले घरको सुरक्षाको खातिर उसलाई सडकबाट उठाएर लगे । दुई वर्षसम्म उसले त्यो परिवारलाई आफ्नै सम्झिएर सेवा गरेकै हो । उसले पनि मालिकको गुन सम्झिएको थियो । यदि उसले नल्याएको भए उसको हालत पनि काली, खैरीको जस्तै दिनभरी लखरलखर हिँड्ने बाहेक केही पनि हुने थिएन । त्यहाँ कमसेकम पानी परेको बेलामा एउटा सुरक्षित छानो छ । घरबेटीकै छोराबाट अर्काे एउटा नाम पाएको हो, पुन्टु । कति मायालु छ नाम । त्यो बाहेक त घरबेटीबाट खासै उल्लेखनीय केही पनि पाएको छैन ।

पुन्टुलाई अरुलाई बढी भएको खाना ल्याएर दिएको खासै मन पर्दैन । तर, उसले त्यो भन्दा धेरै कहिलै पाउँदापनि पाएन । त्यसैलाई चित्त बुझाएर ४ वर्षसम्म त्यही घरमा बस्यो ।

सानो हुँदा त घरबेटीको छोरासँग खेल्दा खेल्दै दिन बित्ने गथ्र्याे । तर, घरबेटीको छोरा पनि ठूलो हुँदै गयो । ऊसँग खेल्ने फुर्सद पनि कहाँ मिलोस् । पुन्टु निसाहारा हुन थाल्यो । केवल बिहान बेलुकाको जुठो र निस्तो भात खानको लागि मात्रै त्यो घरको रखवारी गर्नु परेजस्तो भएको थियो उसलाई । त्यही व्यवहारबाट आजित भएको पुन्टुले अन्ततः घर छाड्यो ।

घर छाडेको त्यो रात पुन्टु फगत एक्लो घुमिरहेको थियो । त्यो शहरमा ऊ फगत एक्लो पनि थिएन । उसले घर छाडेपछि बिस्तारै देख्न थाल्यो ऊ जस्तै सयौं कुकुरहरुको हालत उसकोभन्दा चिन्ताजनक अवस्थामा थियो । त्यही समयमा उसमा नयाँ सोच उठेको थियो, कुकुर मुक्तिमोर्चा गठन गर्ने । त्यो उसले आफ्नै मालिकबाट सिकेको राजनीतिको पाठ हो ।

घर छाडेको भोलिपल्ट पुन्टुले टोलका दुई चार आफू जस्तै बेसाहाराहरुलाई जम्मा पारेर भुस्याहा कुकुरहरुको एउटा संगठन खोल्ने निधो गर्यो । संगठनको नाम राखियो समुदायिक कुकुर मुक्ति मोर्चा । उद्देश्य थियो आफू जस्तै सामुदायिक कुकुरको हक अधिकारको स्थापित गर्ने र घरबेटीको स्वार्थको लागि कलिलो यौवन गुमाउन पुगेका कुकुरहरुलाई मुक्ति दिने ।

पुन्टी आफैं पनि घरबेटीको स्वार्थमा बन्ध्या बन्न बाध्य भएकी कुकुर हो । उनले घरबेटीको स्वार्थमा बैंश त त्यागिन् । आखिर के पाईन् ? यही रित्तो साहारा । त्यही आक्रोशलाई अब क्रान्तिमा बदल्ने उद्घोष गरे टोलका सबै कुकुरहरुको भेलाले ।

संगठन सुरुवातसँगै उनीहरु देशभरीका कुकुरहरुले भोग्नुपरेको पीडालाई खोतल्ने प्रयास गरे । जब उनीहरुले कुकुरले भोग्नुपरेको पीडा खोतल्न थाले उनीहरु घोर समस्याको ओढारबाट भित्र छिरेजस्तै महसुस भयो ।

जीवनभरी आफ्नो मालिकको पछिपछि पुच्छर हल्लाउँदै गएर आखिर कुकुरले के पाए ? यही एउटा इमान्दारिताको पगरी । त्यसले के दियो ? आखिर त्यो इमान्दारिताको पगरीले नै धेरै कुकुर कुकुरर्नीहरु बन्ध्या भएका छन् । तिनै इमान्दारिताको कारणले नै धेरै कुकुरहरु एउटा दास दासीको अवस्थामा बस्न बाध्य भएका छन् । त्यसैले उनीहरुको सामुदायिक कुकुर मुक्ति मोर्चाले यही आवाजलाई बुलन्द पार्ने अठोट गर्यो ।

कात्तिक कृष्ण चतुर्दशी आयो । वर्षभरी अमानवीय व्यवहार गरेका धर्मात्माहरुले पनि भैरवको बाहन भनेर कुकुरको पूजा गर्ने दिन आयो । वर्षभरीको मानव बन्न नसकेकाहरुले आफूलाई नर्कबाट तारिदिनको लागि भनेर एक दिन पूजा गरिटोपल्ने दिन आउन लाग्यो ।

त्यसको ठीक एक साता अघि सामुदायिक कुकुर मुक्ति मोर्चाले एउटा निर्णय गर्यो । कुकुर तिहार बहिस्कार गर्ने

माग थियो, कुकुरहरुको उचित सम्मान र पाल्तु कुकुरलाई पनि प्रजनन्को अधिकार । तिहारको एक साता अघिदेखि उनीहरुको आन्दोलनको कार्यक्रम सुरु भयो ।

उनीहरुको पनि आन्दोलन चरणबद्ध रुपमा अघि बढ्दै गयो । सोही कार्यक्रम अनुसार कुकुर तिहारको दिन पूजा बहिस्कार गर्ने र सबै आम सभामा सहभागी हुने निर्णग गरिएको थियो । सन्देश आदानप्रदान गर्न एकाध कुकुरहरुलाई घरमा राखिएको थियो । तर, त्यो कुकुरलाई पनि केही पनि नखान भनिएको थियो । केही पाल्तु कुकुरहरु पनि घरबाट भागेर सम्मेलनमा सहभागी हुन पुगेका थिए । सम्मेलन कसैले पनि नदेख्ने ठाउँमा गोप्य रुपमा गरिएको थियो ।

कुकुर तिहारको चर्चा सुरु हुन थाल्यो । त्यो दिन सबै सामुदायिक कुकुरहरु भेला भएर सामूहिक रुपमा कुकुर तिहार बहिस्कार गर्ने निर्णय निकाल्यो ।

कुकुर तिहार आयो । नर्क तर्नको लागि कुकुरलाई पूजा गर्ने धर्मात्माहरु हातमा माला र अक्षता लिएर कुकुर खोज्न हिँडे ।

पुन्टीले पनि अघिल्लो तिहारमा पाएको सम्मानलाई एकाएक सम्झिइ । खोलाको किनारमा सबै कुकुरहरु एकत्रित भएर बसेका थिए । त्यो दिनको बनावटी सम्मानलाई पनि पुन्टीले एकाएक सम्झिइ । एक हिसाबले त्यो घरलाई पनि फेरि सम्झिइ । त्यो दिन त उसलाई अरुभन्दा पहिले मिठो मिठो खानेकुरा दिएका थिए । त्यो पनि सम्झिइ । ती सबै घरबेटीको ढोंग सम्झिइ । उमेरमा नै आफू बन्ध्या बन्नु परेको आक्रोश सम्झिइ र त्यो घरबेटीलाई एकपटक घृणाको नजरले हेरी र आफ्नो काममा लागी ।

कुकुरहरुको हड्तालका कारण एकाध पाल्तु कुकुर धनीहरु बाहेक अरु कसैले पनि पूजा गर्नको लागि कुकुर भेटेनन् । हाम्रो संस्कृति अनुसार यस दिन कुकुरको पूजा नगरी खाना खानु हुँदैन । त्यसैले उनीहरु कुकुरकै खोजीमा सारा टोल चाहार्न थाले । हातमा माला र अक्षता बोक्नेहरुले टोलको चोक भरियो । कुकुरहरु भेटिएनन् ।

कुकुरको सम्मेलन एकातिर त्यही दिन पारिएको थियो । पूजा गर्ने दिन नै कतिपय घरका कुकुरहरु समेत भागेर सम्मेलनमा सहभागी हुन गएका थिए । त्यसैले पाल्तु कुकुरका पनि कतिपय घरबेटीहरु कुकुर खोज्दै भौतारिँदै थिए ।

बिहानदेखि माला बोकेर हिँडेकाहरुले पनि कुकुर भेट्न सकेनन् । विस्तारै गाउँबासीहरुले कुकुरलाई आफूहरुले गरेको असभ्य व्यवहारको अनुभूति हुँदै थियो । पाठ सिक्दै गए । एक आपसमा भाषागत सञ्चार हुन त सकेन । तर, दिनभरीको भोकले थलिएका गाउँलेहरुले यही दिन कुकुरले पनि आफ्नो पीडा पोखेको हुनसक्ने सम्झिएर कुकुरप्रति पनि सम्मान गर्नुपर्ने महसुस गरे ।

सारा गाउँलेहरुले महसुस गरेको कुरा र उनीहरु कुकुरको सम्मान गर्न सहमत भएपछि सम्मेलन स्थगित गरेर उनीहरु घर फर्किए ।

यो सम्मेलन र हड्तालले कुकुरहरुलाई पनि आवश्यकता अनुसारको सन्तानोत्पादन गराउन दिने, उनीहरुलाई पनि एउटा परिवारको सदस्यको जस्तो व्यवहार गर्ने जस्ता व्यवहारहरु गरिँदै गयो । पहिले एकाएक घर छाडेको पुन्टु पनि उचित सम्मा पाउने भएपछि फेरि आफ्नै पुरानो मालिकको घर फर्कियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment