Comments Add Comment

राष्ट्रिय पक्षी डाँफेको संरक्षणमा जुटे स्थानीयबासी

१३ कात्तिक, बेनी । म्याग्दीको उच्च हिमाली भेगका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयवासी बताउँछन् ।

जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफे संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका-५ शिखका वडाध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जंगलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग सहकार्य गरेर संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

चराविद् कक्सले सन् १९९९ मा गरेको अनुसन्धानअनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७०० को हाराहारीमा डाँफे भेटिएको उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वकालमा चोरी, शिकारी र आगलागीका कारण डाँफेको संख्या घटेकामा २०६५ सालयता एक दशकको अवधिमा यसको संख्या दोब्बरले वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

पाँच वर्षदेखि पक्षी तथा जंगली प्राणीहरुको खोज-अनुसन्धानमा सक्रिय त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने आठ प्रकारका थोरै उड्ने र जमीनमा दौडने पक्षीका प्रजातिमध्ये डाँफे सबैभन्दा आकर्षक र ठूलो प्रजातिको पक्षी हो ।

नेपालमा डाँफेको संख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताए । उनका अनुसार सन् १९७३ को वन तथा वन्यजन्तु ऐनमा यो पक्षीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । यो पक्षी विशेषगरी नेपाललगायत अफगानिस्तान, पाकिस्तान, तिब्बत र भुटानमा पाइने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment