
१५ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ ।
महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको बयान बन्द इजलासमा जारी रहेको बताए ।
बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले उनको थुनछेक बहस हुन पाएको थिएन । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार बन्द इजलास र निरन्तर बयानको माग गरेको छ ।
‘सरकारी वकिलको माग स्वीकृत भए इजलासमा वादी, प्रतिवादी, साक्षी र न्यायाधीश मात्रै इजलासमा उपस्थित हुन पाउने छन् भने साँझसम्मै निरन्तर बयान हुनेछ’, एक अधिवक्ताले अनलाइनखबरसँग भने ।
बयानपछि थुनछेक बहस सुरु हुनेछ । बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश दिनसक्नेछन् ।
संसद सचिवालयकी एक कर्मचारीले १२ असोजमा महरा आफ्नो कोठामा आएको र बलात्कार प्रयास गरेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । यो घटना भोलिपल्ट सञ्चारमाध्यममा आयो ।
महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसपछि भने पीडित भनिएकी महिलाले बयान फेरिन् । तर महरा १९ असोजमा सभामुखको निवासबाटै पक्राउ परेका थिए ।
२० दिन लामो अनुसन्धानमा टोली महराले बलात्कार प्रयास गरेको निष्कर्षमा पुगेको छ । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया 4