Comments Add Comment

सुनकोशीका २ आयोजना : स्थानीयमा डुबानको त्रास, विकासको आश

१५ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुलीको सीमा भएर बग्ने सुनकोशी नदीमा सरकारले २ वटा ठूला जलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन थालेको छ । नदी तटीय क्षेत्रका स्थानीयवासी भने आयोजनाका कारण डुबानको त्राशमा परेका छन् ।

विद्युत विकास विभागले दुई हप्ताअघि सुनकोशी-२ र सुनकोशी-३ जलाशययुक्त आयोजानाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न प्रभावित क्षेत्र निर्धारण गरेर सूचना प्रकाशित गरेको थियो । यी आयोजनामा सिद्री र ईआरएमसीको ज्वाइन्ट भेन्चर कम्पनीले अध्ययनको काम गरिररहेका छन् ।

विभागले सूचना निकालेपछि रामेछापको सदरमुकाम मन्थली बजारसहित नदी तटीय भेगका विभिन्न ग्रामीण क्षेत्रमा त्रास फैलिएको हो । यद्यपि, सरकारले ‘आकर्षक’ मुआब्जा दिने आशा पनि उनीहरुलाई छ ।

तटीय क्षेत्रका कतिपय भागमा बाक्लो बस्ती र बजार बसेका छन् । आयोजनाले गर्दा आफ्नो थातथलो छाडेर हिँड्नुपर्ने अनुमान गर्दै कतिपय निराश छन् भने आयोजना बने स्थानीय क्षेत्रमा विकासको लहर आउने भन्दै कतिपय उत्साहित पनि छन् ।

ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल यी आयोजनाको सम्भाब्यता र वातावरणीय प्रभाव अध्ययन भइरहेकाले अहिले नै त्रसित हुनुनपर्ने बताउँछन् । आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, पूनर्वाससहितको निर्माण लागत र आयोजनाबाट प्राप्त हुने समग्र लाभ विश्लेषण गरेर मात्रै आयोजना बनाउने वा नबनाउने निर्क्योल हुने उनले बताए । बनाउन सकिने अवस्था देखिएमा निर्माणको मोडल पनि अध्ययन प्रतिवेदनमै समेटिनेछ ।

‘यो सूचना आयोजना बनाउन निकालिएको होइन, अध्ययन भइरहेको जानकारी दिनलाई हो,’ भेटवालले भने, ‘ती प्रस्तावित आयोजना बनेमा कसरी बन्छन् र कुन कुन क्षेत्र प्रभावित हुन्छन् भन्ने जानकारी दिन र त्यसबारे स्थानीय बासिन्दाको राय सुझाव माग्न यस्तो सूचना निकालिन्छ । त्यसैले अहिले नै आयोजना बनिहाल्ने भयो भन्ने स्थिति छैन ।’

भेटवालले वातावरणीय प्रभावको अध्ययनसहित सम्भाब्यता अध्ययनको प्रतिवेदनका आधारमा यी आयोजनाबारे थप निर्णय लिने बताए । भविष्यमा लाभभन्दा बढी हानी हुने देखिएमा आयोजना नबन्न पनि सक्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

सन् १९८५ मा जापानी सहयोग नियोग (जाइका)ले कोशी बेसिनका आयोजनाहरुबारे अध्ययन गर्दा यी दुई आयोजना पहिचान गरेको थियो । त्यसअनुसार जाइकाले नै सन् २०१४ मा यी दुई आयोजना कसरी निर्माण गर्न सकिन्छ र कति विजुली निकाल्न सकिन्छ भन्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो । त्यतिबेला देशभरका जालाशयुक्त आयोजनाहरुको अध्ययन भएको थियो ।

त्यसकै आधारमा सरकारले अहिले यसको विस्तृत सम्भाब्यता अध्ययन गरिररहेको हो । अध्ययन सकिएपछि आर्थिक पक्षको लेखाजोखाका आधारमा यी आयोजना बनाउनेबारे सरकारले छलफल अघि बढाउनेछ ।

विद्युत विकास विभागले यसअघि नै सुनकोशी-४ आयोजनाको अध्ययन सकाइसकेको छ ।

यी हुन् प्रभावित क्षेत्र

प्रस्तावित सुनकोशी-२ एघार सय मेगावाट क्षमताको आयोजना हो । सुनकोशी नदीमा रामेछाप नगरपालिका ५ र सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ च्याकुटारमा यो आयोजनको बाँध बनाउन प्रस्ताव गरिएको छ । यो बाँध ३९० मिटर लामो र १६१ मिटर अग्लो हुनेछ ।

यसरी बाँध बनाएर जम्मा गरिएको पानीलाई १०५० घनमिटर प्रतिसेकेन्डका दरले १.२ किलोमिटरको सुरुङबाट सिन्धुलीको च्याकुटार नजिकै निर्माण गरिने विद्युतगृहमा खसालिनेछ । विजुली निकालेपछिको पानीलाई टलरेस सुरुङबाट पुनः सुनकेशीमै खसाल्ने गरी आयोजना बन्नेछ ।

यो आयोजनाले काभ्रेको तेमाल गाउँपालिकाको ९ नम्बर वडासहित रामेछापको खँडादेवी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको केही भाग डुबाउनेछ । त्यसैगरी मन्थली नगरपालिकाको १, २, ६, ७, ८ र ११ नम्बर वडा पनि डुबानबाट प्रभावित हुनेछ । त्यस्तै लिखु गाउँपालिकाको ७ नम्बर वडासहित रामेछाप नगरपालिकाको ५, ७, ८ र ९ नम्बर वडा बाँध सहितको डुबान क्षेत्रका रुपमा प्रभावित हुनेछ ।

यति मात्रै होइन, सिन्धुलीको गोलन्जर गाउँपालिकाको १, २, ३, ६, र ७ नम्बर वडा पनि बाँध, विद्युतगृह र डुबान प्रभावित क्षेत्र कायम गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ७ तथा फिक्कल गाउँपालिकाको २ नम्बर वडा पनि डुबान क्षेत्र निर्धारण भएको छ ।

प्रस्तावित सुनकोशी ३ सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र काभ्रेलाई प्रभावित गर्ने आयोजना हो । यो आयोजना ५३६ मेगावाट क्षमताको हुनेछ । रामेछापको खँडादेवी गाउँपालिका १ र काभ्रेको तिमाल गाउँपालिका ९ को सिमाना लुभुघाटमा यो आयोजनाको बाँध बन्नेछ ।

बाँध ४४८ मिटर लामो हुनेछ भने १६६ मिटर अग्लो । यो बाँध बाँधेपछि ५७० घनमिटर प्रतिसेकेन्डको पानीलाई १.१ किलोमिटर लामो सुरुङबाट लुघुघाट नजिकै विद्युत गृहमा खसालिनेछ । यसको पानी पनि टेलरेस सुरुङबाट पुनः सुनकोशीमै खसालिनेछ ।

यो आयोजनाबाट सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको १, ३, र ४ नम्बर वडासहित बलेफी गाउँपालिकाको वडा नम्बर ५ तथा चौतारा साँगाचोक गढी नगरपालिकाको ९, १०, ११, १२ र १४ नम्बर वडा डुब्नेछन् । यस्तै इन्द्रवती गाउँपालिकाको वडाहरु १०, ११ र १२ सहित मेलम्ची नगरपालिकाको १३ नम्बर वडा पनि डुबान हुने क्षेत्रमा तोकिएको छ ।

यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ७, ९, १०, १२ र १४ नम्बर वडा पनि सुनकोशी ३ को डुबान प्रभावित क्षेत्र हो । पाँचखाल नगरपालिकाको १३ र ८ नम्बर वडासहित भुम्लु गाउँपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा पनि डुबानबाट प्रभावित हुनेछन् । चौरीदेउराली गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको केही भेगलाई पनि आयोजनाले डुबाउनेछ ।

काभ्रेकै तेमाल गाउँपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडाहरुलाई विद्युत, गृह, बाँधसहितको डुबान क्षेत्रका रुपमा कायम गरिएको छ ।

रामेछापको सुनापाती गाउँपालिकाको १, ४ र ५ सहित खँडादेवी गाउँपालिकाको १ नमबर वडा पनि आयोजनाको जलाशय र बाँधबाट प्रभावित हुनेछ । सिन्धुलीकै सुनकोशी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा पनि सुनकोशी ३ को डुबान क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment