Comments Add Comment

नाफाको जिन्दगी बाँचिरहेका कविलाई हृयाप्पी बर्थ डे !

आजभन्दा २१ हजार ९०२ दिनअघि पहिलो चोटी जन्मिए कवि तीर्थ श्रेष्ठ । उनी दोस्रो पटक पनि जन्मिए । मृत्युलाई नजिकबाट महसुस गरेर दोस्रो जिन्दगी बाँचेका तीर्थले यसलाई नाफाको जिन्दगी पनि मान्छन् । साथीभाइ जमघटमा खुशीको माहोलमा पिउँदै गर्दा नाफाको जीन्दगीबारे तीर्थले किस्सा सुनाउँछन् ।पछिल्लो समय साह्रै खुशी देखिन्छन्, उनी । तर सधैं खुशी देखिने तीर्थ कहिलेकाहीँ भावुक बनिदिन्छन् । प्रसंग पनि त्यस्तै छ ।

तीर्थ जन्म दिने आमासँग हुर्किन पाएनन् । राम्रोसँग जन्म दिने आमाको अनुहार पनि देखेनन् भन्दा हुन्छ । उनलाई जन्म दिने आमाको अनुहार कस्तो थियो भन्ने ठ्याक्कै भन्नुपर्‍यो भने सकस हुन्छ । तर यसको अर्थ यो होइन कवि तीर्थ श्रेष्ठले आमाको मायाको महशुस नै गर्न पाएनन् । बरु उनले त आमाको महत्व, माया, ममता र स्नेह अरुलेभन्दा बढी बुझेका छन् ।

आमा हुनु साह्रै असजिलो छ,

पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने,

मैदानमा पुगेर उकाली भइदिनुपर्ने

आमा हुनु साह्रै असजिलो छ ।

एक दिन वेलुकाको बसाइमा यो कविताको कहानीको चोयो फोए कवि तीर्थले । ‘एकजना महिलाले पोलेको अण्डा छोडाएर खुवाउनु भएको थियो । सानो हुँदाको घटना सम्झिएँ, मलाई त्यसरी अण्डा खुवाउने आकृति आमा हो भन्ने कुरा धेरै पछि थाहा पाए ।’

खासमा तीर्थ श्रेष्ठलाई जन्मदिने आमालाई क्षयरोग भएको थियो । त्यही कारण उनलाई मूल घरभन्दा केहीपर सानो घरमा राखिएको थियो । यो कुरा त्यति बेला तीर्थलाई थाहा थिएन ।

केही समयपछि आमाको निधन भयो । सानै अवोध बालक थिए उनी । आमालाइ कहाँ लगे पत्तै पाएनन् । आमा गुमाए । सामाजिक परिस्थिति र नियतीले आफ्नै बाबुको बिहे देखे उनले । ‘सौतेनी’ आमा पाए । ‘आमाहरु सौतेनी हुँदैनन्, सौतेनीहरु आमा हुँदैनन्’ यस्ता भावमा कविता लेखेका तीर्थले खुलेरै कुरा गरे । ‘सौतेनी’ आमा शब्दमा भएपनि उनले व्यवहारमा त्यस्तो कहिल्यै महसुस गर्नुपरेन । ‘उहाँ मेरै आमा हो । मलाई त आमाको अगाडि त्यो शब्द थपिन्छ भन्ने पनि लाग्दैन, थपिनु पनि हुँदैन,’ आफूलाई भाग्यमानी ठान्छन् ।

उनी थप्छन्, ‘बरु मैले त दुई आमाको ममता पाएँ । मलाई कान्छी आमाले पनि त्यति नै माया गर्नुभयो, जति जन्मदिने आमाले गर्छन् । कान्छी आमाको त्यही माया र समर्पणमा आमाको कमी हुन दिएनन् ।’ आफ्नो पहिलो कविता संग्रहमा दुवै आमाको तस्वीर राखेर उनले समर्पण गरे । आमा योगमायाले जन्मदिइन् र आमा पूर्णलक्ष्मीले संसार चिनाइन् । त्यसपछि वल्ल साथी भाइहरुलाई थाहा भयो तीर्थका दुइ आमा रहेछन् ।

तर तीर्थले आमाको वर्णन यसरी गर्न चाँहदैनन् । ‘आमा र सौतेनी एकै ठाउँमा जोडिने कुरै होइनन् । जसले सौतेनी व्यवहार गर्छ, उसमा मातृत्व नै हुँदैन । जसमा आमा छ, मातृत्व छ, त्यसमा सौतेनी हुँदैन,’ उनी भन्छन् । आफूलाई संसार चिनाउने आमा पूर्णलक्ष्मीले पनि संसारबाट विदा लिएको ३८ बर्ष भइसकेको छ । जतिबेला आमा पूर्णलक्ष्मीको देहवसान भयो, तीर्थ तीन दिनसम्म रोए । रोएर आउने भए उनी जिन्दगी भर आमाकै लागी रोइदिन्थे, तर आमा अगडि हुनुपर्थ्यो । यो सम्भव थिएन । ‘धर्सैधर्साको चक्रव्यूह’मा पनि उनले आमा १, आमा २, आमा ३, आमा ४, आमा ५ भनेर समपर्ण गरेका छन् ।

‘धर्सै धर्साको चक्रव्यूहमा बुढी आमा’ मात्रै होइन, आज संसारका योगी, सन्यासीदेखि आम सबै चत्रव्यूहमा फसिरहेका छन् । आगत र अतितको बीच आफ्नौ छायासँग भयभीत यौटी आमा प्रत्येक दिन आˆनो घरको भित्तामा यौटा धर्सो कोर्छिन् र परदेशिएको छोराको प्रतिक्षामा दिन काट्छिन् । जन्मेदेखि मृत्यु पर्यन्तसम्म धर्सैधर्साको चक्रव्यूहमा फसिरहेको छ जीन्दगी । कहिले धर्साहरु सरल र सिधा कोरिन्छन् र जीन्दगी सरल लाग्छ, सललल् वग्छ नदी जस्तै । कहिले तिनै धर्साहरु वाङ्गाटिङ्गा हुन्छन् र जीन्दगी फेरि लड्वडाउँदै लड्वडाउँदै बर्खाको खहरे झैं बाटो खोज्दै हिँड्छ जीन्दगी पनि । र कहिले अजिंगरभन्दा पनि लामा लामा बन्छन्धर्साहरु र जीन्दगीलाई नै निल्न खोज्छन् । आफ्नै जिन्दगीमा आफै अभिमन्यू बनेर धर्सैधर्साको चक्रव्यूहको जीन्दगीबाट मुक्ति दिलाउन खोज्दा खोज्दै जीन्दगीको धर्सो मेटिन्छ एक दिन स्वाठ्ठ । ‘नभेटिए जाती भन्दा भन्दै’ २०१६ कात्तिक १६ गते सिंहनाथ टोल, वागबजार पोखरामा भेटिए तीर्थप्रसाद श्रेष्ठ ।

कालो बादलबाट खसेको

अन्धकारमा भित्र बसेको,

ईश्वर हो कि भिखारी ?

बोल्दछ ईश्वर हृदय घुसेको

घर, घर, आँगन चारी

बोल्दछ, आर्तध्वनिमा बोल्दछ

करुणामृत दिल भारी ।

….

माग्दछ भिक्षा ईश्वर मेरो

आँगनमा एक भिखारी ?

१२ वर्षकै उमेरमा लक्ष्मीप्रसाद देवकोटाको भिखारी कविताको अनुकरण गर्दै लेख्न थाले, उनले । देवकोटाको भिखारी कविता नपढेको भए सायद कवि हुन्थेनन् कि तीर्थ । देवकोटाको कवितामा जस्तै जीवन दर्शन दिने खालका ‘हिउँमा लेखिएका नामहरु’ जस्ता कविता लेख्छन् उनी ।

कसैलाई कसैले यस्तो लेखिनु पर्छ कविता भनेर भन्नेहरु नै गलत ठान्दै आˆनै मेहेनतले सरल शब्दमा ‘आमा’ जस्ता कविता लेख्छन् तीर्थ श्रेष्ठ । प्राकृतिक विम्वहरुलाई सोचेर एकै सटिकमा कविता लेख्ने तीर्थ कहिलेकाहीँ कवितालाइ परिस्कृत गर्छन् भने धेरै जसो त्यसै छाडी दिन्छन् । यसो गरेको अल्छी भएर होइन उनी भन्छन् । त्यसै छाडेको ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’ जस्तो जीवन दर्शनमा मिल्ने कविता एक सटिकमा रचेका थिए ।

अनि, अमिताभ वच्चनका हरिप फ्यान हुन तीर्थ । उनकै जस्तो हेयर स्टाइल दुवै कान छोपीने गरी कपाल पाल्थे उनी । हाफ स्वीटरभित्र रहेको सेतो सटको ठूलो कल्लर कोटको कल्लरबाट बाहीर निकालेर उस्तै देखिन खोज्थे । अमिताभ वच्चनका पिता हरिवंश राय वच्चनको ‘मधुशाला’ कविता पहिले पढेका हुन् । पछि अमिताभ वच्चनले सो कविता रेकर्ड गराएपछि ˆयानलाई झन हरिपै भयो । कन्ठस्तै पारे, अहिले  सुनाउँछन् बेलाबेलामा ।

नेपाली साहित्य र पोखरेली माटोमा तीर्थलाई नचिन्ने सायदै कोही होला । उनीसँग भएका एक दर्जन चश्मा मध्ये कविताको चश्मा लगाउनेहरुले उनलाई एक कविको रुपमा चिन्छन् । संस्कृतिको चश्मा लगाउनेहरुले एक संस्कृतिकर्मीको रुपमा चिन्छन् । राजनैतिक चश्मा लगाउनेहरुले पुरानो कांग्रसी भनेर चिन्छन् । पर्यटनको चश्मा लगाउनेहरुले एक पर्यटक चिन्तक भनेर चिन्छन् । समाजसेवाको चश्मा लगाउनेहरुले एक समाजसेवीको रुपमा चिन्छन् । गृहस्थीको चश्मा लगाएर हेर्नेले एक सफल पति,असल वावु, प्यारो अजा भनेर चिन्छन् । केही पनि चश्मा नलगाई नांगा आँखा हेर्नेहरुले एक सह्रदयी, प्रेमिल र आत्मीय प्यारो दाइ भनेर चिन्छन् । एकपटक कसैले भेटेपछि तीर्थ श्रेष्ठ उसको मन र मष्तिष्कमा सधैंको लागि बास बस्न सफल हुन्छन् ।

साहित्यकार तीर्थ श्रेष्ठ । साहित्यकारको रुपमा पनि तीर्थको पाटो आफैंमा तारिफयोग्य छ । फणिन्द्र नेपाल, विनय रावलसँग मिलेर उनले शुरु गरेको तरलवादी आन्दोलन नेपाली साहित्यको एक महत्वपूर्ण आन्दोलन हो । जिन्दगीको कुरुक्षेत्रबाट र तीर्थ श्रेष्ठका कविताहरु दुई कविता संग्रह, महाभारतका गीतहरु र जिन्दगीको गोधुलीमा दुई मुक्तक संग्रह, मेरै हिमाल जस्तो एक गिती संग्रह र पाइलाका नीबहरु संयुक्त फोटो कविता संग्रह र धर्सैधर्साको चक्रव्यूह गरी जम्माजम्मी ७ वटा किताबका स्रष्टा हुन् उनी । राष्ट्रिय प्रतिभा पुरस्कार, वाशु शशी स्मृति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शिरोमणि पुरस्कार, नेपाल सरकारले अर्पण गरेको प्रबल जनसेवा श्री पदक, भूपी काव्य पुरस्कार लगायतका दर्जनौ पुरस्कार र सम्मानहरुबाट सम्मानित भइसकेका छन् उनी ।

दोस्रो जन्म २०७० भदौ ३ गते पाए, उनले । पुनर्जन्म पाएपछि पनि उनी त्यही पुरानो गुरुङ बस्ती पुगेका छन् । पुगीरहन्छन् । सोनी कंपनीको एस एल आर क्यामरा बोक्छन अनि सोझ्याउँछन लेन्स प्रकृतितिर ।अनि लेख्छन् । पहाड १, पहाड २, तामागी, पन्चासे, हिमशिखरहरु, लुम्ले, पहाडमा, धम्पुस ओ धम्पुस, ठूलाखर्क, पोथना, लान्द्रुक, मलाई इलाम हुन मन लाग्यो जस्ता प्राकृतिक कविताहरु ।

तिमीलाइ नभेटेको धेरै दिनभयो लाग्छ- आफैंलाइ नभेटेको धेरै दिन भयो तिमीलाई नभेटेसम्मआफू हुनुको बोध हुँदैन मलाई  तिमीलाइ नदेखेसम्म आफू हुनुको अर्थ हुँदैन मलाई तिम्रो आँखाको ऐनामा नदेखेसम्म आफू छु भन्ने विश्वास हुँदैन मलाई ।

आतुर मन लिएर ‘प्रियासँग’ भेट्नँकाँडाहरु’ पन्छाउँदै सम्झनाको एकादेशमा’ पुग्छनँ आदिम प्रेमी’बनेरँप्रणयको गीत’गाउँदै ।’समय’ मिलाएर फेरी आउने बाचा गर्दै ‘प्रेमको पुस्तक’ उपहार दिएर ‘स्पर्शको अभाव’ बोकेर ‘गाँउको आकाश’ हेर्दै फर्किन्छन् । कुशल साहित्यिक संगठक र कार्यकर्ता हुन् उनी। पोखरेली वाङ्मयको इतिहास रच्ने सँस्थाको प्रतिनिधित्व गर्छ-पोयुसाप अर्थात पोखरेली युवा सांस्कतिक परिवारले ।पोखरेली युवा सांस्कृतिक बनाउन यसको जगमा उनले वर्षौसम्म सिंचेको पसिना, मेहनत र सोचको ठूलो भूमिका छ ।

पोखरामा निर्माणाधीन अवस्थामा रहेको सृजना ग्राम पनि तीर्थ श्रेष्ठले देखेको सपना हो । संलग्नताको हिसाबले पोखरेली युवा साँस्कृतिका परिवार, सिर्जनशील कलाकार समूह, भैरव सँस्कृतिक संरक्षण, संगी प्रशिक्षण केन्द्र, नेपाल बाल संगठक, नेवा छें कास्की, विन्ध्यवासिनी धार्मिक क्षेक विकास समिति लगायत दर्जनौं संस्थामा क्रियाशील छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव हुन्, उनी । पोखरा बहुमुखी क्याम्पसम्सको सस्थापक तीर्थ कन्या क्याम्पस, विन्ध्यवासिनी संस्कृत विद्यापीठ जस्ता शैक्षिक संस्थामा पनि आवद्ध छन् ।

अक्सर कृम कलरको कुर्ता पाइजामामा बिहान, बिहान विन्ध्यवासिनी मन्दिरमा भेटिने तीर्थ श्रेष्ठ नैहुन् । जीवन दर्शनका पुस्तक उनी आफु पनि पढ्छन र अरुले पनि पढ्नु पर्छ भनेर मन्दिर परिसरमै पुस्तकालय बनाएका छन् । ‘धर्मग्रन्थहरु’ ‘निर्वाणको यात्रा’ ‘यशोधरा इच्छा’ लेख्छन् ।उनका वांगा कुरा सुनेर कुनै अर्कै जस्तो लाग्न सक्छ । किन कि उनी अहिले अष्ठवर्क गीता अध्ययन गर्दैछन् । वांगो यस अर्थमा लाग्छ । सही के हो थाहा नपाउनेलाई सहीभन्दा वाङ्गो लाग्न सक्छ । विन्ध्यवासिनी परिसरमै भएको गणेश मन्दिरमा १ सय ८ लड्डु चढाउँदै देश समृद्घ बनोस् भन्ने कामना गर्छन् ।

नेपाली कवितामा लामो समयदेखि साधनरत कवि तीर्थ श्रेष्ठ जीवन र जगतको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा कविता बुन्ने सीप भएका मौलिक शिल्पकार हुन् । नेपालयले प्रकाशन गरेकोँधर्सैधर्साको चक्रव्यूह’मा १ सय आठ वोटा कविताका लड्डु खाँदै भन्छु हयाप्पी बर्थ डे तीर्थ दाइ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment