Comments Add Comment

प्रधानमन्त्रीलाई सल्लाह-अब आराम गर्नोस्

'पदमै बसिरहन लगाउनु भनेको सजायँ दिएजस्तै हो'

प्रधानमन्त्री ओलीले कसैको सल्लाह सुन्नुहुन्न । उहाँका कार्यकारी सल्लाहकारहरुका सल्लाहसमेत सुन्नुहुन्न । तैपनि सार्वजनिकरुपले भन्दा मेरो पनि शुभेच्छा के छ भने अरु धेरै मान्छेहरुले चाहेजस्तै उहाँको जीवन लामो होस् ।

लामो बाँच्नुभयो भने नेकपाका नेताहरुलाई उहाँले अझै धेरै सघाउन सक्नुहुन्छ । आराम गरेर स्वस्थ्यरुपले बसिरहे सरकारमै पनि खटनपटमा उहाँको हात अझै धेरै हुन सक्छ ।

म प्रधानमन्त्री केपी ओलीको धेरै पहिलेदेखिको शुभेच्छुक हुँ । म नभएको भए स्वास्थ्यका कारण उहाँ जेलबाट बाहिर आउने स्थिति थिएन । त्यसैले अहिले पनि उहाँको स्वास्थ्यले राम्रो काम गरोस् भन्ने मेरो चाहना हो ।

अब आत्मबलले मात्रै थेग्दैन

राधाकृष्ण मैनाली

जेलमा रहँदाको विरामी अवस्था र अहिलेको अवस्थामा फरक छ । उमेरको मान्छेलाई आत्मबल र दबाइले थेग्यो । अब अहिले आत्मबल छ, दबाइले काम गर्दैन, शरीरले काम गर्दैन ।

हिजो गोलघरको अवस्थामा त म बाँचें, अब किन बाच्दिनँ भन्ने तर्कले अब काम गर्दैन । उहाँलाई लागेको के हुन सक्छ भने हिजो म योभन्दा पनि हिँड्नै नसक्ने, बोल्नै नसक्ने, दिशा बस्नै नसक्ने, नुहाउन नसक्ने अवस्थामा त बाँचें भने अहिले त्योभन्दा त तगडा छु भन्ने उहाँको अहिलेको मान्यता हो ।

तर, उहाँको दिमागै सहज वातावरणतिर जाने छैन । एकदम असहज मात्रै खोज्ने । अप्ठ्यारो मात्रै खोज्ने ।  दाहिने जाने ठाउँमा देब्रे जान खोज्नेखालको उहाँको स्वाभाव विकास भयो । यही कारणले उहाँ विश्राम लिने र सहजरुपले उत्तराधिकारी खोज्ने कुरामा उहाँको चिन्तन छ जस्तो मलाई लाग्दैन । योचाहिँ उहाँको निम्ति र देशकै निम्ति पनि समस्या हो । तर, त्यतिखेरको ३२/३३ वर्षको उमेरमा औषधिले काम गर्‍यो । औषधिसँगै मनोबलले काम गर्‍यो । अहिले औषधिले किन काम गर्दैन भने शरीर जीर्ण भइसक्यो ।

किड्नी फेरेकै १२ वर्ष भइसक्यो । शरीरमा शिथिलता भएको छ । यस्तो अवस्थामा मनोबलमात्रै उच्च भएर सबै थोक पुग्दैन ।  अहिले पनि मनोबलको उच्चताले केही काम त गर्‍या छ, तर धेरै गर्दैन । अब मनोबलको पर्सेन्टेज घट्दै गयो भन्ने कुरा उहाँले बुझिदिएदेखि सबै कुराहरु सहज हुँदै जाने थिए ।

सुस्वास्थ्य रहन आरामको जरुरत छ

प्रधानमन्त्रीका रुपमा रहँदा ओलीका दुईवटा विकल्प छन् । हेमोडाइलासिस हप्तामा दुई-तीनचोटि गर्ने अथवा मृगौला रि-ट्रान्सप्लान्ट गर्ने । यी दुईवटै कुरा एउटा कार्यकारी प्रमुखका रुपमा रहेर गर्न अप्ठ्यारो छ ।

कार्यकारी प्रमुख भएर, हप्तामा दुई-तीनचोटि हेमोडाइलासिस गरेर, त्यसमा पनि सम्पूर्ण पावर आफूसँग राखेका प्रधानमन्त्रीले काम गर्नुपर्ने हुन्छ । त्यसमाथि पनि ११/१२ वटा शक्ति आफ्नो हातमा लिएको प्रधानमन्त्रीले सरकार चलाउन सजिलो हुँदैन । यो प्रधानमन्त्री ओली आफैंले बुझ्नुपर्ने कुरा हो । प्रधानमन्त्रीले शरीरलाई आराम दिएदेखि उहाँको जीवन अझ लामो हुन्थ्यो ।

स्वस्थ अवस्थामै उहाँलाई प्रधानमन्त्री नहुनोस् भन्दा नकारात्मक अर्थ लाग्छ । तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री भैराख्नुपर्छ भन्नु भनेको उहाँलाई सजायँ दिनुजस्तै हो

प्रधानमन्त्रीको अहिलेकै पनि चाहना हेर्दाखेरि उहाँ पावरभन्दा बाहिर बस्ने कल्पना पनि गर्न चाहनुहुन्न । आरामै नलिइकन, बिरामी हुँदा पनि सत्तामा घिसेपिटे बसिरहने सोच उहाँमा बढ्यो । यो बडो दुःलाग्दो अवस्था हो । त्यसकारण म सार्वजनिकरुपले के आह्वान गर्न चाहन्छु भने सुस्वास्थ्य रहनका लागि उहाँलाई आरामको जरुरत छ । आरामपूर्वक उहाँले अलि धेरै बाँचेर देशको यो अवस्थालाई अझ सुदृढ बनाउनुपर्ने जरुरी छ । त्यसकारण मेरो चाहना हो, प्रधानमन्त्रीले अलि आराम गर्नुहोस् ।

आराम गर्नका लागि प्रधानमन्त्रीसँग थुप्रै विकल्पहरु छन् । अहिले भएका नेताहरु मध्येबाट विकल्प मिलाउँदै बाहिर बस्ने हो भने उहाँको अनुपस्थिति पछाडि पनि उहाँलाई लामो समयसम्म धेरै मानिसहरुले सम्भिmइरहने थिए । तर, सत्तामा यसरी नै घिसेपिटे बसिरहने हो भने उहाँको अनुपस्थिति हुने वित्तिकै उहाँको कुरा काट्नेहरुको संख्या अत्यधीक बढ्छ र उहाँलाई सकार्ने हैन कि दुत्कार्ने मान्छेहरुको संख्या बढ्छ ।

त्यसकारण आफू नहुँदा पनि आफ्ना फलोअर्सहरु बनाइराख्नका लागि उहाँले आराम लिनुपर्छ । पार्टी र सरकारलाई सल्लाह दिँदै बाहिर बस्नुपर्छ । र, उहाँले पार्टी र देशको अभिभावकका रुपमा भूमिका खेल्नुपर्छ । यसो गर्नुभयो भने देशले पनि फाइदा पाउँछ र उहाँको व्यक्तिगत अवस्था पनि सुदृढ हुन्छ । र, भोलि मान्छेले उहाँलाई देशका लागि समर्पित भएको व्यक्तित्वका रुपमा उहाँलाई चिन्छ ।

होइन, यहाँ बसिरहेरै जानेखालको सोच आयो भने शायद त्यहाँदेखि नै उहाँको बदनामी सुरु हुन्छ । त्यसकारण म अहिले नै के आह्वान गर्न चाहन्छु भने उहाँले सत्ताबाट विदा लिने र अभिभावकका रुपमा बसेर पार्टी र सरकारलाई चलाए हुन्छ । यसका लागि कुनै सिस्टम बनाए हुन्छ । जस्तो- मलेसियामा महाथीर प्रधानमन्त्रीबाट हटेर पनि क्याबिनेटमा बरिष्ट नेताका रुपमा बसेकै हुन् ।

अहिले नेपालको क्याबिनेटमा पनि त्यसो गरेर उहाँले खाईपाई आएको क्याबिनेटकै पोजिसनलाई पनि कायम राखेर अर्कोलाई कार्यकारी बनाए पनि हुन्छ । नेतृत्वमा बसिरहन मन लागेदेखि अनेकौं उपायहरु छन् । तर, आफूलाई अलि व्यस्तबाट आरामको अवस्था बनाउनेतिर जानुपर्छ । त्यसो गरिएन भने अब उहाँले देशमा जति योगदान दिनुभएको छ र नाम कमाउनुभएको छ, त्यति नै दुर्नाम कमाउने स्थिति आउन सक्छ ।

प्रधानमन्त्रीमै बसिरहन लगाउनु भनेको सजायँ दिएजस्तै हो

अब प्रधानमन्त्रीले आराम लिनुपर्छ भन्नु भनेको उहाँका लागि नेगेटिभ कुरा होइन, पोजेटिभ कुरा हो । त्यसकारण आराम लिनोस् र देशलाई थप अभिभावकत्व दिनोस् भन्ने मेरो शुभकामना छ । म उहाँलाई सुस्वास्थ्यको शुभकामना दिन चाहन्छु । सुस्वास्थ्य रहनका लागि आरामपूर्ण र सजिलो जिन्दगीमा रहन सुझाव दिन चाहन्छु ।

पार्टीमा एकजनालाई र सरकारमा एकजनालाई ल्याउने हो भने विकल्प त उहाँसँग छँदैछन्, प्रचण्ड र माधव नेपाल । म योभन्दा अर्को विकल्प देख्दिनँ । त्यसकारण दुवै नेतालाई एउटा-एउटा पोष्ट दिएर आराम गर्नु भनेको उहाँको पनि हित हुने कुरा हो

यस्तो अवस्थामा पनि उहाँ प्रधानमन्त्री नै भइराख्नुपर्छ भन्नु भनेको त उहाँमाथिको अर्को सजायँ हो । स्वस्थ अवस्थामै उहाँलाई प्रधानमन्त्री नहुनोस् भन्दा नकारात्मक अर्थ लाग्छ । तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री भैराख्नुपर्छ भन्नु भनेको उहाँलाई सजायँ दिनुजस्तै हो । यसो सोचाइले त प्रधानमन्त्रीलाई  अझ संकटमा पुर्‍याउँछ । दुर्नामीमा पुर्‍याउँछ ।

प्रधानमन्त्री ‘एक्टिभ’ हुँदा त देशको हालत यस्तो छ । ‘प्यासिभ’ प्रधानमन्त्री भए भने के होला देशको हालत ? भ्रष्टाचारले कस्तो रुप लेला ? विकास निर्माणले के गति लेला ? विदेशी मित्रहरुले कसरी अंगाल्लान् ? अहिले उहाँले जति प्रतिष्ठा कमाउनुभएको छ, त्यो घट्दै-घट्दै ‘माइनस’मा जाने स्थिति आउँछ ।

उहाँले अन्तिमसम्म काम पनि गर्ने अनि अन्तिमसम्म गाली पनि खाइरहने स्थितिमा पुर्‍याउनु भनेको उहाँलाई सघाएको होइन ।

प्रधानमन्त्री ओलीले आफ्नो अनुपस्थिति पछाडि पनि जनताले आफूलाई लामो समयसम्म सकारात्मक सोचुन् भन्ने ठान्नुभएको छ । तर, उहाँ अझै पनि सरकारमा बसिरहनुभयो भने उहाँको यो आकांक्षामा तुषारापात हुन्छ । त्यसैले उहाँलाई मेरो यही आग्रह छ कि उहाँले सकारात्मकरुपमा सोचेर अभिभावकका रुपमा बस्ने । क्याबिनेटमै बस्ने हो भने पनि त्यो व्यवस्था मिलाउन सकिन्छ । त्यसो नगरेर चुपै लागेर पार्टीमा मात्रै बसे पनि पार्टीमा उहाँको हैसियत सबैभन्दा माथि नै हुन्छ ।

नेकपाको संकट र समाधानको उपाय

नेकपा अहिले जटिल अवस्थामा छ । देशमा तीनैतहको चुनाव सम्पन्न भएको र नेकपाको दुई तिहाईको सरकार बनेको आदि कुराहरु त छन्, तर यति हुँदाहुँदै पनि जटिलता हिजोभन्दा अझ गहिरो र अप्ठ्यारो भएर गएको छ । विदेश नीतिको सवालमा भन्नोस् या आन्तरिक नीतिको सवालमा ।

यस्तो बेलामा पार्टीलाई एक ढिक्का बनाएर लैजान घिटिघिटी बिरामी भएर प्रधानमन्त्रीमा बसिरहनुभन्दा अलि सजिलो जीवन लिएर यी सबैकुराको व्यवस्थापन गरेर अभिभावकका रुपमा बसिदिएदेखि देशलाई पनि र पार्टीलाई पनि सजिलो हुन्थ्यो भन्ने मेरो कामना हो ।

अहिले मैले देखेको विकल्प भनेको पार्टीमा एकजनालाई र सरकारमा एकजनालाई ल्याउने हो भने विकल्प त उहाँसँग छँदैछन्, प्रचण्ड र माधव नेपाल । म योभन्दा अर्को विकल्प देख्दिनँ । त्यसकारण दुवै नेतालाई एउटा-एउटा पोष्ट दिएर आराम गर्नु भनेको उहाँको पनि हित हुने कुरा हो । यो भन्दा तेस्रो विकल्प नेकपासँग छैन ।

सुन्नचाहिँ म गाइँगुइँ के सुन्दैछु भने वामदेवलाई पार्टी अध्यक्ष बनाउने र ईश्वर पोखरेललाई सरकार प्रमुख बनाउनेखालका खेल पनि त्यहाँभित्र हुन लागेको छ भन्ने मैले बुझेको छु । यसो गरियो भने नेकपामा आत्मघाती कदम हुनेछ । यसो गर्दा नेकपालाई एक ढिक्का बनाउने स्थिति बन्दैन ।

माधव नेपाल र प्रचण्डलाई कर्नरमा पारेर अहिले नेकपा चल्न सक्ने स्थिति म देख्दिनँ । त्यसो गर्न खोजिँदैछ भने त्यो नेकपाका निम्ति र  देशका निम्ति पनि घातक काम हो । यो दिशातिर नगएर स्वाभाविक बाटो भनेको माधव र प्रचण्डलाई पार्टी र सरकारको जिम्मा दिने र केपी ओली ‘गार्जियनसीप’ मा बस्ने भनेको नै सबैभन्दा सहज, राम्रो र नेकपालाई अगाडि लाने बाटो हो । देशलाई बचाउने बाटो हो ।

प्रचण्ड र माधव नेपालमध्ये कसलाई पार्टीको जिम्मेवारी दिने र कसलाई सरकारको जिम्मेवारी दिने भन्ने माइक्रो लेभलमा म जान चाहन्न । दुईवटा पद दुईटाले मिलाएर लगे भइहाल्यो नि । किनभने, यी दुईजना बाहेक तेस्रो उम्मेदवार नेकपाका छैन ।

माधव र प्रचण्ड नै त्यहाँका एक नम्बर विकल्प हुन् । यी दुईवटा विकल्पले मिलाएर पार्टीको सहमतिमा को अध्यक्ष हुने, को प्रधानमन्त्री हुने, टुंगो लगाउनुपर्छ । अरुले तोकिदिनु भन्दा उहाँहरु दुईजनाले मिलाए राम्रो । उहाँहरु दुईटाले सल्लाह गरे भयो । अथवा ओलीले नै तोकिदिए उहाँहरुले मान्नुपर्ने हुन्छ । यो पनि पढ्नुहोस प्रधानमन्त्रीको स्वास्थ्यमा खेलबाड नगरियोस्

मैले नै तोक्ने हो भने त जो पार्टी अध्यक्ष भयो, उसले दीर्घकालीन सोच राख्न सक्छ । प्रधानमन्त्री भनेको त निश्चित अवधिका लागि मात्रै हुन्छ । तर, यसो हेर्दाखेरि प्रचण्ड र माधव नेपाल दुईटै प्रधानमन्त्रीका लागि लालायित छन् भन्ने बुझ्छु म । प्रचण्ड पनि उत्तिकै हुन्, माधव नेपाल पनि आफूलाई तल ठान्दैनन् र लिप्सा नभएका पनि छैनन् ।

यसो नगरिकन यी दुईटा भन्दा अरु विकल्पमा नेकपाले जानुहुन्न । तर, यी दुईटा भन्दा अर्को विकल्पमा जान खोज्या छन् भन्ने मैले सुनेको छु ।

जबजको पक्षधर भनेर वामदेव पनि अहिले कित्ता क्लियर गरेर आए । ईश्वर पोखरेल पहिलेदेखि नै जबजको पक्षधर हुन् । जबजकी हस्ती विद्या भण्डारी राष्ट्रपति भएपछि उनलाई गाह्रो भयो । अब विद्याको ‘इन्फ्लुएन्स’ ले वामदेव र ईश्वर पोखरेललाई अगाडि ल्याउन खोज्ने प्रयत्न चलिराखेको छ भन्ने मैले सुन्याछु । यो चाहिँ नेकपालाई चलाउने भन्दा पनि नेकपामा विग्रह सुरु गर्ने र राष्ट्रमा पनि समस्या ल्याउने विषय हो ।

मैले देखेको के छ भने केपी ओलीले छोड्ने कि नछाड्ने ? यो नै पहिलो प्रश्न हो । ओलीले सजिलो गरी छाड्नुहुन्न । छाडिहाले पनि उहाँले सहज वातावरण बनाउनुहुन्न । उहाँको स्वभावै अप्ठ्यारो मात्रै, खेद्ने खालको स्वाभाव हो । सजिलो खोज्ने उहाँको स्वभाव भएन ।

सजिलो खोज्ने स्वभाव भएको भए सिंगापुरबाट फर्केपछि नै उहाँले विकल्प खोज्नुहुन्थ्यो । यस्तो स्वास्थ्य लिएर अजरबैजान उहाँले किन जानु पर्‍याथ्यो ? बाकूबाट आउनेवित्तिकै सिस्नोपानीमा किन उभिनपर्थ्यो ? स्वास्थ्यमा अलिकति ध्यान दिने हो भने यस्तो हुँदैन ।

(झापा आन्दोलनका अगुवा पूर्वमन्त्री राधाकृष्ण मैनाली प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसहकर्मी हुन् । ओली जेलमा गम्भीर बिरामी हुँदा साथमै रहेका मैनालीले उपचारमा सहयोग पुर्‍याएका थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment