Comments Add Comment

बुढेशकालमा किन परिवारबाट अवहेलना ?

बालापनमा हात समाएर तातेताते गराउने आमा-बुवा क्रमस बुढो हुँदै जान्छन् । उनीहरुको अनुहार चाहुरिन्छ । आँखाको दृष्टि धुमिल हुन्छ । शरीरको ताकत हराउँछ । उर्जा निथ्रिदै जान्छ । जोश र जाँगर सेलाउँदै जान्छ । बुढेशकालले छोपेपछि आफ्नै ज्यानको हेरचाह गर्न पनि असमर्थ हुन पुग्छन् ।

यस्तो बेला उनीहरुलाई खाँचो हुन्छ, परिवारको । आफ्ना छोराछोरी-नाती-नातिनीको । तर, जसै बुढ्यौलीले गाँज्न थाल्छ, घर-परिवारको व्यवहार पनि रुखो हुन थाल्छ । हिजो जो उनीहरुको काखमा खेल्न हारालुछ गर्थे, उनिहरु टाढिन्छन् । न कुराकानी गर्न रुचाउँछन्, न सन्चो विसन्चो सोध्न आउँछन् । बुढापाकालाई खान र बस्न मात्र दिएपछि जिम्मेवारी पुरा हुन्छ भन्ने सोच्छन् । बुढ्यौलीमा एक्लिदै गएको उनीहरु घर-परिवारबाट पनि अपहेलित हुनपुग्छन् ।

बुढाबुढीलाई पालनपोषण गरेको छ भन्दैमा उनीहरुलाई सम्मानपूर्वक राखिएको छ भन्ने हुँदैन । पालेर राख्नु छुट्टै कुरा हो र सम्मानका साथ पालेर राख्नु फरक कुरा हो ।

तर, यसरी ज्येष्ठ नागरिकहरुप्रति गरिने अवहेलनाको कारण को होलान् ? सन्तानहरु या ज्येष्ठ नागरिक आफैं ? झट्ट हेर्दा यसमा सन्तानको धेरै दोष देखिने भएपनि यसमा कुनै न कुनै हिसाबले ज्येष्ठ नागरिकहरुको समेत दोष देखिन्छ ।

आजको समाज जति धेरै तिब्र गतिमा दौडँदैछ, त्यही गतिमा कसैले रुढीबादी कुरा गर्‍यो भने ऊ समाजबाट अवश्यपनि अवहेलनामा पर्छ । धेरै ज्येष्ठ नागरिक यही विचारका कारण घरपरिवारका अरु सदस्यबाट अवहेलनामा पर्ने गरेका हुन्छन् ।

रुढीवादी विचार

हाम्रो परम्परामा केही रुढीवादी सोच र वैज्ञानिक आधारयुक्त विचार पनि छन् । जस्तो बार हेरेर काम गर्ने परम्परामा रुढीवाद देखिन्छ । त्यसले आधुनिक समाजमा जीवनयापनको लागि समस्या निम्त्याउन सक्छ । आज बिहीबार टाउको नुहाउनु हुन्न, कपडा धुनुहुन्न भन्ने जस्ता रुढीवादी सोचले आजका मानिसको जीवनशैलीमा बाधा पुर्‍याउँछ । तर, आजको यो व्यस्त जिन्दगी र बाहिरी जिन्दगीमा त्यो सोचले कत्तिको काम गर्ला ? आफ्ना आमाबुबाले भनेको कुरा नमानेपछि उनीहरु आफैंले पनि अवहेलनाको अनुभूति गर्छन् । त्यसैले रुढीवादी सोच ज्येष्ठ नागरिकहरुको कमजोरीको विषय हो ।

पुरानो मान्यता

पुरानो मान्यताका कारण पनि धेरै ज्येष्ठ नागरिकहरुले हेपिएको महसुस गर्छन् । समाजमा कतै कतै अझै पनि बुहारीलाई घुम्टो उठाउन दिइँदैन । पछ्यौराले अनुहार लुकाएर हिँड्ने जमाना हराईसकेको छ । त्यसैले बुहारीहरुले पनि आफ्ना सासु ससुराको कुरा मान्दैनन् । फलस्वरुप ज्येष्ठ नागरिकहरुले आफू बुहारीबाट हेपिएको सम्झन्छन् । जस्तो बुहारीले हरेक बिहान सासु ससुराको गोडा छुनुपर्ने पुरानो मान्यता छ । यस्तो नगर्दा आफूलाई हेलाहा गरेको अनुभूति सासु ससुरालाई हुने गर्छ ।

आफैं कमजोर सम्झनु

ज्येष्ठ नागरिक हुनुको अर्थ उनीहरुले आफ्नो हात खुट्टा चलाउन नै बन्द गर्नुपर्छ भन्ने होइन । धेरै ज्येष्ठ नागरिकहरु सेवा निवृत्त भएपछि आफू कामबाट नै निवृत्त भएको सम्झन्छन् । एक अध्ययनका अनुसार मानिसहरु पढ्दापढ्दै थाक्न सक्छ । तर, पढाउँदा पढाउँदै कहिलै पनि थाक्दैन । त्यसैले बुढेशकालमा पनि कसैलाई उपयोगी ज्ञानहरु पढाएर बस्न सकिन्छ । यस बाहेक तपाईंको आफ्नो शोखका कामहरु केही हुनसक्छ । ती कामहरु गरिरहन सकिन्छ । ताकि आफ्नो धुनमा यसरी काम गरिरहँदा अरुले हेपेको अनुभूति हुँदैन । अर्काे तर्फ अरुले पनि आफ्नै काममा दिन बिताउनेहरुलाई हेप्न सक्दैनन् । त्यसैले आफैंले आफैंलाई काम नलाग्ने सम्झनुको साँटो कुनै न कुनै सामान्य काममा व्यस्त भइरहनु राम्रो हुन्छ ।

बेकारको काममा रोकतोक

ज्येष्ठ नागरिकहरुको बानी नै हुन्छ कि उनीहरु काम नपरेको कुरामा पनि हरेक समय अरुलाई सुझाव दिइरहन्छन् । अनुभवले खारिएका उनीहरुको सुझाव लिन चाहनेहरुको लागि त राम्रो हुन्छ । तर, सुझाव लिन नचाहने केही व्यक्तिहरु हुन्छन्, उनीहरुको लागि भने यो रिस उठ्ने कारण हुनसक्छ । अधिकांश सासुहरुले आफ्नी बुहारी काम गरिरहेको बेलामा केही न केही प्रश्न उठाइरहेका हुन्छन् । त्यो पनि अवहेलनाको कारण बन्नसक्छ । ठूलै गल्ती हुन लाग्दा बाहेक यसरी हरेक काममा प्रश्न उठाउनु हुँदैन ।

कुनै पनि हालतमा खुशी नहुनु

कसैकसैलाई सजिलै खुशी गराउनै सकिँदैन । उनीहरुलाई जस्तो व्यहार गर्दा पनि चित्त बुझ्दैन । यसले गर्दा बिस्तारै बिस्तारै जो कोहीलाई पनि रिस उठ्न सक्छ । त्यसैले कहिलै खुशी नहुने व्यवहार छ भने त्यसलाई सुधार्दै जानु पर्छ ।

आदर्श परिवारको कल्पना

धेरै ज्येष्ठ नागरिकहरु प्रवचनकर्ताहरुको भाषणबाट प्रभावित हुन्छन् । धार्मिक कथालाई आधार मानेर सोही अनुसारको आदर्श घरको परिकल्पना गरेर आफ्ना सन्तानहरुलाई उपदेश दिने पनि धेरै हुन्छन् । जुन कुरा कथामा मात्रै सम्भव हुन्छ । त्यो हामीले व्यवहारमा देखाउन खोज्यौं भने यसले हामीलाई समस्या सिर्जना गराउन सक्छ ।

सन्तानमाथि जरुरीभन्दा धेरै विश्वास

कोही आमाबुबाहरुले आफ्ना सन्तानलाई यति धेरै विश्वास गर्छन् कि उनीहरु आफूसँग भएको सबै सम्पत्तिहरु एकैपटक सन्तानको नाममा गरिदिन्छन् । अघिल्लो दिनसम्म सम्पन्नशाली बुबाआमालाई आदर गर्ने छोराले सबै सम्पत्ति आफ्नो नाममा भएपछि आमाबुबालाई हेप्न थाल्छ । त्यसैले सम्पत्तिको सवालमा आफ्ना सन्तानहरुलाई धेरै विश्वास गरिहाल्नु पनि हुन्न । यसको अर्थ विश्वास नै नगर्ने पनि होइन । केही सम्पत्ति आफ्नो नाममा पनि राख्नु पर्छ । ताकि पछि सन्तानले वास्ता गरेनन् भने आफैं पनि बाच्न सकियोस् ।

यस बाहेक अरुपनि विविध कारणले ज्येष्ठ नागरिकहरु अवहेलनामा पर्न सक्छन् । त्यसैले आफ्ना कमजोरीहरुलाई नियन्त्रणमा राखेर बुढेशकालमा पनि सबैको प्यारो बन्ने प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment