Comments Add Comment

एक पटकमा हामी कतिजनासँग सम्बन्ध जोड्न सक्छौं ?

यो संसारमा तपाईंको कतिजनासँग सम्बन्ध छ ? कहिलै ख्याल गर्ने गर्नु भएको छ ? सम्बन्धलाई नै आफ्नो प्रतिष्ठा मान्ने व्यत्तिहरु पनि हामीले धेरै भेट्न सक्छौं । सम्बन्ध जस्तो सुकै होस् । सामाजिक प्राणी भएकोले हामी समाजमा विभिन्न व्यक्तिसँग अनिवार्य रुपमा सम्बन्ध राख्न बाध्य हुन्छन् ।

हाम्रा कोही सुख दुःख सुनाउन सक्ने रोमान्टिक साथीहरु हुन्छन् । कोही आफन्तहरू, पेशेवर, व्यक्तिगत साथीहरु, सामाजिक सञ्जालका साथीहरु जस्ता विभिन्न किसिमका साथीहरु हुन्छन् । बाहिर हिँड्ने र बहिर्मुखी स्वभावका मानिसहरुको दैनिका साथीहरु थपिने गर्छन् । तर, हामीले एकै पटकमा कतिसाथीसँग सम्बन्ध राख्न सक्छौं ? कोही दैनिक कुराकानी गर्ने साथीहरु हुन्छन् भने कोही साप्ताहिक रुपमा कुराकानी हुनेहरु त कोही आकलझुकल कुराकानी हुने साथीहरु पनि हुन्छन् । कहिलेकाहीँ कुराकानी हुने साथीहरुलाई छाड्ने हो भने हामी एकै पटकमा १५० जनासँगमात्रै सम्बन्ध अघि बढाउन सक्छौं भन्ने एक रिपोर्टले देखाएको छ ।

बेलायतका एक मानव विज्ञानका ज्ञाता रोबिन डनबारले यसबारेमा अध्ययन गरेर एउटा प्रतिवेदन पनि सार्वजनिक गरेका छन् । सो अध्ययनको प्रतिवेदनमा उनले भनेका छन् ‘कुनैपनि मानिसले एक समयमा १५० जना मानिससँग मात्रै सम्बन्ध राख्न सक्छ । यस्तो सम्बन्धमा नियमित सम्पर्क हुने र कहिलेकाहीँ सम्पर्क हुने मित्रहरु, श्रीमती, आफन्त र परिवारका सदस्यहरु समेत सामेल छन् ।

डनबारले मानिसहरुको दिमागी संरचनालाई आधार मानेर यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले चिम्पान्जी, गुरिल्ला, बाँदर जस्ता जनावरहरूको अध्ययन गरेका थिए । ती जनावरको अध्ययनपछि मानिसको अध्ययन गरेका उनले यस्तो निष्कर्ष निकालेका हुन् । डनबार भन्छन् ‘यदि हामी आफ्नो दिमाग अनुसार कति सामाजिक समूहमा सामेल हुन सक्छौं ? भन्ने जानकारी पाउनको लागि नियोकार्टेक्स मानव शरीर र उसको दिमागको अंशलाई हेर्न सकिन्छ ।

उनी भन्छन्, “तर, हामी यसैलाई आधार मानेर १५० नै हाम्रो सबै सम्बन्धको सीमा संख्या हो भन्ने रुढ सोच भने राख्न सक्दैनौं । कैयौं पटक हाम्रो सम्बन्ध चार-पाँच जना मानिससँग मात्रै नजिक हुन्छ । फेरि उनीहरुको अलावा केही राम्रो साथीहरु पनि हुन्छ । जुन संख्या १० देखि १५ जनासम्म पुग्न सक्छ ।’ उनी भन्छन् ‘हाम्रो चिनजानमा ५०० मानिसहरु हुनसक्छन् । यस्तो मानिसको सम्पर्क १५०० जनासम्म मानिससँग हुनसक्छ ।’

प्रायः मानिसहरुले यो दायरामा रहेर सम्बन्ध निभाउँछन् भन्ने औषत् सम्बन्ध संख्या मात्रै भएकोले मानिसको स्वभाव अनुसार कम र बढी हुनसक्ने उनले स्पष्ट पारेका छन् । यति नै संख्या अधिकतम सीमा भने नभएको उनले बताएका छन् । फेसबुकको साथीहरुको सीमा जस्तै आफ्नो नियमित सम्बन्ध हुने साथीहरु पनि केही थप गर्नु परेमा पहिले केहीलाई हटाएर मात्रै थप्नु उनले सुझाव दिए ।

यो संख्याले के संकेत गर्छ ?

डनबार भन्छन् ‘यो संख्या सधै पाँच वा यसको गुणक भएको देखेर म आफैं छक्क परेको छु । यो संख्याले केवल एक किसिमको दायरा बताउने हो । जसमा रहेर मानिसहरुको सम्बन्ध काम गर्ने गर्दछ । जो मानिस बहिर्मुखी स्वभावका हुन्छन् । उनीहरुको सम्पर्कमा धेरै मानिस हुनसक्छन् । अन्तर्मुखी स्वभावका मानिसहरुको यो सीमा १५० भन्दा पनि कम हुनसक्छ । यो सम्बन्ध पुरुषहरुको तुलनामा महिलाहरुको धेरै हुने गर्छ ।

डनबारले यो पनि भनेका छन् कि हामीले दैनिक कति जना भेट्छौं त्यसको आधारमा पनि यस्तो संख्या तय हुने गर्छ । किनकी हामीले दैनिक एक साथीको लागि कति समय खर्च गर्ने भन्ने आधारमा साथीहरुको सम्बन्धको संख्या तय हुन्छ । थोरै समय खर्च गर्नेले धेरै सम्बन्ध जोड्न सक्छ भने एउटै साथीसँग धेरै समय खर्च गर्नेले कम सम्बन्ध जोड्नसक्छ ।

धेरैले डनबारको यो सिद्धान्तलाई धेरै गम्भीरताका साथ लिएका छन् । उदाहरणको लागि, स्वीडेनको कर प्राधिकरणले यसको कार्यालयहरूमा काम गर्ने व्यक्तिहरुको दरबन्दी नै १५० मात्रै कायम गरेको छ । त्यसो त सबैले सामाजिक मस्तिष्कको यो सिद्धान्तलाई विश्वास गर्दैनन् । केही मानिसले सामाजिक व्यवहारहरुलाई संख्यामा बाँध्न नसकिने तर्क पनि गर्छन् । जे होस्, यी डाटाको माध्यमबाट हामी मानव समुदायको विकासलाई राम्रोसँग बुझ्न सक्छौं ।

स्पेनको लियोन विश्वविद्यालयका क्रिस्टिना एसेडो कार्मोना भन्छिन्, ‘हाम्रो सामाजिक सम्पर्कको संख्या सीमित गर्नमा धेरै कुरा महत्वपूर्ण छ । तर, त्यस्तो अनुसन्धानले हाम्रो बुझाईलाई सुधार गर्दछ ।’

यही विषयमा अमेरिकाको एउटा अनुसन्धानले एक समयमा कुनैपनि मानिसले २९० जनासँगको सम्बन्ध निभाउन सक्ने देखाएको छ । उदाहरणको लागि, यदि एक व्यक्ति धनी छ, तब उसले सम्बन्ध निभाउनको लागि एक सहायक भर्ती गर्न सक्छ । यसका लागि उसले कडा परिश्रम गर्नुपर्दैन । आजको समयमा जति धेरै व्यक्तिहरू तपाईंसँग सम्बन्धित हुन्छन् त्यति नै धेरै यसलाई राम्रो मान्ने भएकोले धेरै औषत्मा मानिसले २९० वटासम्म सम्बन्ध निभाउन सक्ने सो अध्ययनले देखाएको छ ।

बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment