Comments Add Comment

टी–२० क्रिकेटमा बंगलादेशले भारतलाई हरायो

१८ कात्तिक, काठमाडौं । पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित गरेको छ ।

दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले सात विकेटले पराजित गरेको हो । उसकै भूमिमा भारतलाई बंगलादेशले टी–२० क्रिकेटमा पराजित गरेको यो पहिलोपटक हो ।

१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले ४३ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ६० रन बनाए । त्यस्तै, सौम्या सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, रिषभ पन्तले २७ र श्रेयस ऐयरले २२ रन बनाएका थिए ।

तीन खेलको टी–२० क्रिकेट सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment