
१८ कात्तिक, काठमाडौं । साझा पार्टीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नु अनुदार लोकतन्त्रको अभ्यास भएको टिप्पणी गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् । साझा पार्टीले भने सरकारको निर्णय संवैधानिक भएपनि अनुदार लोकतन्त्रको अभ्यास भएको बताएको छ ।
प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पाँच वर्षका लागि संवैधानिक रूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रम्रख प्रतिपक्षी र तत्कालीन सत्तारूढ नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो ।’
सरकारको निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविश्यका लागि गलत नजिर स्थापित गर्ने गैरराजनीतिक कदम भएको पनि साझा पार्टीले बताएको छ । ‘यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन,’ उसले भनेको छ ।
सरकारले विकास र समृद्धिका लागि गर्नुपर्ने अनगिन्ति कामहरू रहेको भए पनि देश रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नगरी ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ तपशीलका विषयहरूमा अल्झिनु खेदजनक भएको उसले बताएको छ ।
प्रतिक्रिया 4