+
+
Shares

३३ बुँदे संकल्प गर्दै कांग्रेस बागमती प्रदेशस्तरीय भेला सकियो

काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरू भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले काभ्रेको धुलिखेलमा दुई दिने बागमती प्रदेशस्तरीय भेला सम्पन्न गरी ३३ बुँदे 'बागमती संकल्प' गरेको छ।
  • भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता र जवाफदेही सरकारको पक्षमा काम गर्ने पहिलो संकल्प गरेको छ।
  • कांग्रेसले आगामी दिनमा मधेश, कोशी र लुम्बिनी प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरू भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको हो ।

भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत् उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने पहिलो संकल्प गरेको छ

असल शासन, विधि र जवाफदेहीतालाई एक–अर्काका परिपुरकका रुपमा लिँदै विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै भेलाले पछिल्ला दिनमा संघीय सरकारबाट भइरहेका अलोकतान्त्रिक र अमर्यादित कार्यप्रति चिन्ता व्यक्त गरेको छ ।

‘संघीय सरकारलाई संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान र मानवीयतालाई केन्द्रमा राख्न ध्यानाकर्षण गराउने,’ भेलाको दोस्रो संकल्पमा उल्लेख छ ।

कांग्रेसको नेतृत्वमा बागमती प्रदेश सरकार र स्थानीय सरकारले सुरु गरेका असल अभ्यास र नवीन सिर्जनात्मक अभियानहरूलाई सूचीबद्ध गरी नागरिक पंक्तिमा पुर्‍याउने र एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने भेलाले निष्कर्ष निकालेको छ ।

‘संघीयता र संविधानको मर्मबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको ‘तीन स’ अनुरुप समुन्नतिको मार्गमा अगाडि बढ्न संघीय सरकारलाई अपिल गर्दै त्यसमा आफू समर्पित रहने संकल्पको ३२ औं बुँदामा भनिएको छ ।

पार्टीको संगठन सुदृढीकरण गर्न र डिजिटल अभिलेखमार्फत् सदस्यको योगदानलाई लिपिवद्ध गर्न तथा पार्टी अभियानमा आम सदस्यलाई सिधै जोड्न ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा थप सक्रिय रहन पार्टी पंक्तिलाई प्रेरित गर्ने र समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने संकल्प पनि भेलाले गरेको छ ।

भेलामा बागमती प्रदेश सभा सदस्यहरू, स्थानीय सरकार प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र एवं स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कांग्रेसले ६ र ७ जेठमा महोत्तरीको बर्दिबासमा मधेश प्रदेशस्तरीय, ८ र ९ जेठमा सुनसरीको लौकीमा कोशी प्रदेशस्तरीय तथा १४ र १५ जेठमा रूपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका रहेको छ ।

सुदूरपश्चिमको धनगढीबाट सुरू भएको कांग्रेसको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ यसअघि गण्डकी र कर्णाली प्रदेशमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?