Comments Add Comment

एमसीसीविरुद्ध पारस किन खेलेनन् ?

कप्तानले गरे विनोद, पवन र ललितको प्रशंसा

१८ कात्तिक, काठमाडौं । नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो खेल खेल्दै गर्दा धेरैको चासो थियो, ‘पूर्वकप्तान पारस खड्का खेल्लान् कि नखेल्लान् ।’

नेपालले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध नेपाल खेल्यो र पाँच विकेटको सहज जित पनि निकाल्यो , तर कप्तान छाडेपछि भएको नेपालको पहिलो खेलमा पूर्व कप्तान देखिएनन् ।

टिममा रहेपनि उनी प्लेइङ ११ मा परेनन् । खेल सकिनासाथ नयाँ कप्तान ज्ञानेन्द्रले यही प्रश्नको समना गरे, ‘पारस किन खेलेनन् ? ‘पारसले सुरुमा खेल्ने कुरा थियो । तर स्वास्थ्य समस्या भएको कारण आज नखेलेको हो’ उनले भनेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै पूर्वकप्तान पारसले पनि आफूलाई रुघाले निकै सताएको बताए ।

साथै नयाँ खेलाडीहरुलाई अवसर दिन पनि प्रशिक्षक र कप्तानसँग सल्लाह गरेर नै नखेलेको उनले बताए । भन्छन्, ‘मैले भन्दै आएको छु, देशका लागि अझै खेल्छु । अहिले नयाँ खेलाडीहरुलाई अवसर पनि होस् भन्न चाहेको हुँ ।’

सोमबार पारससँगै बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मी पनि खेलेका थिएनन् । कप्तान मल्लकाअनुसार एमसीसीसँग पर्सिबाट सुरु हुने तीनदिवसीय क्रिकेट खेल्ने भएका कारण सन्दीपलाई सोमबार रेष्ट दिइएकोे हो ।

कप्तानले गरे विनोद, पवन र ललितको प्रशंसा

केही महत्वपूर्ण खेलाडीहरुलाई रेष्ट दिइएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको नेपालको नेपालको सुरुवात राम्रो थिएन । १८ रन जोड्दा कप्तान मल्लसँगै इशान पाण्डे आउट भइसकेका थिए । तर नेपाल सम्हालियो ।

शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले टिकेर खेले भने विनोद भण्डारी, र पवन सर्राफले फिनिसरको भूमिका खेले । विनोद ५२ र पवन ३८ रनमा अविजित रहे ।

शरद भेषावकर

कप्तानको रुपमा पहिलो खेलमै जित हात पारेका मल्लले विनोद, पवन र ललितको खुलेर प्रशंसा गरेका छन् । ‘पवन र विनोद दुबैले राम्रो ब्याटिङ गर्दै जिताएका छन्’ उनले भने, यो नेपाली क्रिकेटको लागि निकै राम्रो पक्ष हो । म धेरै खुशी छु ।’

‘विनोद फिनिसरको रुपमा देखिँदै आएको छ । उनले निकै सुधार गर्दै गइरहेका छन् । पवन जस्तो प्रतिभावान खेलाडीलाई यस्ता प्रतियोगिताले अझ प्रोत्साहन गर्छ । यस्ता प्रदर्शनले युवा खेलाडीको आत्मविश्वास पनि बढ्छ ।’

ओपनिङ विगतकै समस्या दाहोरिएको भन्दै उनले आगामी दिनमा सुधार हुने विश्वास व्यक्त गरे ।

अलराउण्डरको भूमिकामा जमेका पवनले एमसीसीको महत्वपूर्ण ४ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले उत्कृष्ट सुरुवात गर्दै ठूलो स्कोर बनाउने शंकेत देखाइसकेको थियो । तर ललितनारायण राजवंशी र पवन सर्राफले कसिलो बलिङ गर्दै एकपछि अर्को विकेट लिए । १६२ रन हुँदा तेस्रो विकेट गुमाएको एमसीसी थप ३९ रन बनाउँदा अलआउट हुनपुग्यो ।

एमसीसीका लागि विल रोडसले ५४ र विल्ली गोड्लम्यानले ५२ रन बनाएपनि अन्य ब्याट्सम्यान सस्तैमा आउट भए । पवन र ललितले समान ४–४ विकेट लिए । बाँकी दुई विकेट करण केसी र अविनाश बोहराको नाममा रह्यो ।

ललितनारायण राजवंशी

कप्तान मल्ल भन्छन्, ‘एमसीसीले निकै राम्रो सुरुवात गरेको थियो । त्यहि गतिमा गएको भए दुई सय एक रनमा रोक्न निकै गाह्रो पथ्र्यो । तर हामीले उत्कृष्ट पुनरागमन गर्‍यौं । यसको श्रेय पवन र ललितलाई जान्छ । दुबैले उत्कृष्ट बलिङ गरे ।’

नेपाललाई खेल जिताउन मुख्य भूमिका खेलेका पवनले भने, ‘पहिलेदेखि नै दाईहरुले मलाई विश्वास गर्नुभएको थियो । आज टिमलाई जिताउन पाउँदा खुशी छु ।’

कप्तान ज्ञानेन्द्र मल्ल

तस्वीरहरु  : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment