Comments Add Comment

साढे दुई वर्षमा ८० जनप्रतिनिधि पक्राउ, महरा पूर्वआईजीपी ठकुरीसँगै सदरखोरमा

१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले गरेको आदेश र प्रदेश प्रमुख नियुक्ति आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक प्रदेश प्रमुख नियुक्तिले नेकपामा देखापरेको विवाद, ग्यास सिलिन्डरको बढ्दो जोखिमलगायत विषयलाई पनि आजका दैनिक पत्रिकाहरूले उठाएका छन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुखमा नपरेपछि असन्तुष्टि जनाएको कान्तिपुरले लेखेको छ । ‘नेपालको फरक मत’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ–नेता नेपालले सोमबारको बैठकमा आफ्नो प्रस्ताव बारम्बार दोहोर्याएका थिए । तर प्रधानमन्त्री ओलीले पूर्वएमालेको भागमा परेका चारवटा प्रदेशमा आफूनिकट नेतालाई मात्रै लैजाने निर्णय गरेपछि नेपाल फेरि रूष्ट बनेका छन् ।

कान्तिपुरले प्रदेश इञ्चार्ज नियुक्तिदेखि प्रदेश प्रमुख नियुक्तिसम्म नेता नेपाल असन्तुष्ट बनेको उल्लेख गर्दै असहमति श्रृंखलाबारे चर्चा गरेको छ ।

‘महरा पूर्वआईजीपी ठकुरीसँगै सदरखोरमा’ शीर्षकको अर्को समाचार पनि कान्तिपुरमा पढ्न सकिन्छ । समाचार अनुसार बलात्कार आरोपित पूर्वसभामुख महरालाई पुर्पपक्षका लागि थुनामा पठाउने अदालतको आदेशसँगै सदरखोरको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द्र ठकुरीसँगै राखिएको छ । ठकुरी सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् ।

कान्तिपुर लेख्छ–महरालाई सामान्य कैदी बस्ने कोठामा राखिएको हो । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर पूर्वआईजीपी ओमविक्रम राणालाई राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।

राजधानीले साढे दुई वर्षमा ८० जना जनप्रतिनिधि पक्राउ परेको तथ्यांक निकालेको छ । जबर्जस्ती करणीदेखि ज्यानसम्बन्धी कसुरसम्मका आरोपमा जनप्रतिनिधि पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा सभामुख १, सांसद् २ र प्रदेश मन्त्री १ छन् । त्यस्तै १ मेयर, १ उपमेयर, १ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष, ५६ वडाध्यक्ष र १५ वडा सदस्य पनि अपराधको आरोपमा पक्राउ परेका छन् । विभिन्न पदका ७ कर्मचारी पनि पछिल्लो २ वर्षको अवधिमा पक्राउ परेको राजधानी समाचारमा लेखिएको छ ।

अन्नपूर्णले विभिन्न आरोपमा पक्राउ परेका भीआईपीको अस्पताल बस्ने प्रवृत्तिबारे चर्चा गरेको छ । रिपोर्टअनुसार गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता, श्यामसुन्दर यादवलगायत नेता अस्पताल भर्ना भएका थिए । यसरी उच्च पदस्थ एवं धनाढ्य अभियुक्तहरू बिरामी भन्दै अस्पताल बस्ने अनि अन्य आरोपित हिरासतमा बस्नुपर्ने अवस्थाले सरकारप्रति नकारात्मक धारणा बढेको अन्नपूर्णको ठहर छ ।

खाना पकाउने एलपी ग्यासको जोखिमबारे पनि अन्नपूर्णले एक सामग्री छापेको छ ।

राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौटहट जिल्ला अदालतमा मुद्दा भएको खबर नागरिकमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment