Comments Add Comment

राजपाले समाजवादीसँग चुनावी तालमेल गर्ने, ६ सीट जोगाउने चिन्ता

एक गाउँपालिका प्रमुख र ५ वडाध्यक्ष गुम्ने डर

Photo Credit : फाइल फोटो

१९ कात्तिक, जनकपुरधाम । पार्टी एकताका लागि गृहकार्य गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीवीच चुनावी तालमेलको गृहकार्य सुरु भएको छ । राजपाको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले आगामी मंसीर १४ गते हुने उप-निर्वाचनमा उपेन्द्र-बाबुराम नेतृत्वको समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ ।

उप-निर्वाचनमा उम्मेदवार चयन गर्नुपूर्व समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । २०७४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि यी दुई पार्टीबीच तालमेल भएको थियो ।

तालमेलले ६ सीटमा फाइदा पुग्न सक्ने

आगामी मंसिर १४ गते देशभरिका ५२ स्थानमा उपचुनाव हुँदैछ । यीमध्ये धेरै ठाउँमा राजपा र समाजवादी पार्टीको जित्ने सम्भावना नरहे पनि तराईका केही स्थानीय तहमा दुई पार्टीवीचको तालमेलले खास अर्थ राख्छ ।

विभिन्न गाउँपालिका २१ वटा वडाहरुमा हुने उपचुनावमध्ये यसअघि दुईवटा वडामा मात्र राजपा र समाजवादीले जितेका थिए । त्यहाँ हुने तालमेलले पुरानो जीतलाई जोगाउन सक्ने देखिन्छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ७ मा यसअघि राजपाले जितेको थियो भने पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्ष पदमा समाजवादी पार्टीले जितेको थियो । ती स्थानको तालमेलले अर्थ राख्ने राजपा नेताहरु बताउँछन् ।

त्यसैगरी विभिन्न नगरपालिकातर्फ २२ वठा वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । तीमध्ये महोत्तरीको मटिहानी २ र रौतहटको गढीमाई २ मा यसअघि राजपाले वडाध्यक्ष जितेको थियो । त्यस्तै महोत्तरीको बलवा ८ मा समाजवादीले वडाध्यक्ष जितेको थियो । दुई पार्टीवीचको तालमेल यी वडाहरुका लागि पनि अर्थपूर्ण हुने देखिन्छ ।

त्यसैगरी राजपाले ०७४ सालमा महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा जितेको थियो । आगामी मंसिर १४ गते पिपरा गाउँपालिका अध्यक्षका लागि उपचुनाव हुँदैछ । यहाँ पनि राजपालाई समाजवादी पार्टीको साथ चाहिएको नेताहरु बताउँछन् ।

यसअघि राजपा र समाजवादीले नजितेका तराई मधेसका अन्य वडाहरुमा पनि दुई पार्टीको तालमेलले सकारात्मक अर्थ राख्न सक्ने राजपा नेताहरुको दाबी छ ।

तर, ०७४ सालको गणितलाई हेर्दा दुई पार्टीवीचको चुनावी तालमेलले तीनवटा प्रदेशभा, कास्कीको प्रतिनिधिसभा र धरान उपमहानगरपालिकाको चुनावमा भने खासै प्रभाव पार्न सक्ने देखिँदैन ।

आगामी मंसिर १४ गते एउटा प्रतिनिधिसभा, तीनवटा प्रदेशसभा, एक उपमहानगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

तदर्थ समिति गठन निर्देशिका परिमार्जन

यसैवीच, मंगलबार बसेको राजपाको बैठकले पार्टीको तदर्थ समिति गठनसम्बन्धी निर्देशिकालाई संशोधन गर्ने निर्णय गरेको छ । तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ -ग) मा संशोधन गरी वाक्याको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’ भन्ने वाक्यांश थप्ने निर्णय गरिएको महासचिव केशव झाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment