Comments Add Comment

उपनिर्वाचन महंगो हुने रहेछ : प्रमुख निर्वाचन आयुक्त

२० कात्तिक, काठमाडौं । मितव्ययी ढंगले उपनिर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सकेसम्म पुरानै सामग्रीहरुको प्रयोग उपनिर्वाचनमा गरिने छ ।

बुधबार आयोग कार्यालय कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘उपनिर्वाचन अलि महंगो नै हुने रहेछ भन्ने महसुस गरेका छौं । निर्वाचन आयोगले नै गर्ने सन्दर्भमा अधिकतम खर्च कटौतीको नीति अपनाएका छौं ।’

थपलियाका अनुसार १४ मंसिरमा हुने उपनिर्वाचनको लागि सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमध्ये ४२ प्रतिशत रकम स्थानीय तहमा निकासा गरिएको छ । सुरक्षा निकायबाट पनि त्यतिनै रकम खर्च हुने अनुमान गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचनमा कुनै पनि मतदाताले असुरक्षा महसुस नगर्ने गरी आवश्यक प्रवन्ध मिलाइएको जानकारी दिए ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कूल १ सय एक दलले भाग लिन लागेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये १६ वटा नयाँ दल छन् ।

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको कार्यसूची छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेशसभा अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर-१ ‘ख’ मा पनि उपनिर्वाचन हुने छ ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।

यो पनि पढ्नुहोस प्रदेश प्रमुखहरुको हेरफेर निर्वाचन आचारसंहिता विपरीत होइन : निर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment