Comments Add Comment

३७८ वर्ष पुरानो कार्तिक नाचमा जे देखियो

कात्तिक डबलीमा मध्यरातको युद्ध, नृसिंहको हातबार मारिए हिरण्यकश्यपु

गोधुली साँझमा सूर्यको किरणले डाँडा काटिसकेको छ । एक हुल अधबैंशेहरुलाई दोस्रो तल्लामा रहेको कार्यालयबाट सामान ओसार्नै भ्याइनभ्याई छ । कसैले बाजा बोकेर झरेका छन्, कोही कपडा र श्रृङ्गारको सामान बोकेर संग्रहालय छिर्ने ढोकातिर छिर्दैछन् । कसैको ध्यान दानपात्र राख्ने ठाउँतिर छ ।

आयोजकको सक्रियतामा दर्शकको कुनै ध्यान देखिँदैन । उमेर पुगेका तन्नेरीहरु आफ्नै रसरंगमा रुमलिँदै छन् । प्रेमको उत्कर्षमा रहेकाहरुको लागि यो जात्रा बस् बाहाना बनेको छ । पर्यटकहरुको ध्यान ती सबै दृश्यलाई कैद गर्न तिरै छ । झिलिक्क झिलिक गर्ने खेलौना बोकेर मन्दिरको छेउछाउमा लुकामारी खेल्ने बच्चाहरुलाई जात्राको माहोलले छोएको छैन ।

साँझ ढल्कदै जाँदा

साँझ ढल्किँदै जाँदा पाटन दरबार क्षेत्रको माहोल झनै आनन्दित बनेको छ । सदाकोभन्दा यसदिन चहलपहल बढी छ । त्यसैले डबलीको दायाँपतर्फको बाजा राखिएको ठाउँमा भिड लाग्न दिइएको छैन ।

दिउँसैदेखि अर्काे एक हुलको व्यस्तता भीमसेन मन्दिर अघिको फल्चा तिर छ । कोही पिठो मुछिरहेका छन्, कोही विभिन्न परिकार बनाउँदै छन् । कोही तरकारी काटिरहेका छन् । कोही फुर्सदिला छैनन् । त्यसैको सम्मुखमा कोही ढकियामा त कोही प्लास्टिक बिछ्याएर बदाम बेचिरहेका छन् । यो पर्वको बदामसँग पनि विशेष साईनो छ ।

साँझ ७ बजे

साँझ ७ बजेसँगै एउटा कलाकारको टोली डबलीमा उक्लिन्छ । सबै आ–आफ्नै ध्यान छाडेर डबली तिर फर्किन्छन् । कसैलाई त्यहीँ हुँदा पनि नाच तिर ध्यान छैन । छिँडीमा बसेर मोबाइल चलाउनेहरुको पनि संख्यामा कमी छैन ।

नाच हुँदाहुँदै एउटा कुकुर डबलीमा पुग्छ । डबलीको दायाँ तर्फबाट आएका एक युवाले कुकुरलाई अपमानजनक रुपमा लात्तीले हानेर धपाउन खोज्छन् । कुकुरले मानव जस्तै गरी फर्किएर उसको मुखमा हेर्छ । त्यो अचम्म लाग्दो दृश्यतिर धेरैको ध्यान गएको देखिँदैन । त्यसपछि अर्काेले हातले डोहो¥याएर बाहिर निकाल्छन् । त्यत्तिकैमा कृष्णधन नाच सकिन्छ । कलाकारहरु बाहिरिन्छन् ।

राती ८ बजे

कात्तिक महिनाको चिसो सिरेटोले आठ बजे नै मध्यरातको आभाष गराइसकेको छ । कोही घर फर्किने तयारीमा छन् । कोही झनै व्यवस्थित बसाईंको खोजीमा छन् । चारैतिर भिडाभाड छ । तन्नेरीहरुको हल्लाले सो क्षेत्रमा सन्नटा छाउन पाएको छैन । त्यसको साथमा बाजाको तालमा नाचेका कलाकारहरुलाई एकोहोरो हेर्नेहरुको संख्या नै धेरै देखिन्छ ।

मध्यरातमा

घडीले मध्यरातको संकेत गरिसक्दासम्म दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसकेको छ । उता नृसिंह अवतार निस्कने समय हुनै लाग्दा मुकुट नमिलेपछि भित्र श्रृङ्गार दलका सदस्यहरु चिन्तित छन् । यता प्रतिक्षाको रफ्तार बढीरहेको छ । आकाशले मध्यरात सकिएर बिहानी सुरु भएको संकेत गरिसकेको छ । डबलीको आसपास पाँचवटा चिरागमा आगो दन्किइरहेका छन् । एकजना अधबैंशे पुरुष चिरागमा तेल थपिरहेका छन् । त्यत्तिकैमा एकाएक संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको बस्तु निस्कन्छ ।

उसको शरीर हेर्दा मान्छे जस्तो, अनुहार हेर्दा सिंह जस्तो छ । मालाले सजिसजाउ भएको एउटा उग्र स्वरुप बाहिर निस्किएसँगै सबैको भागाभाग सुरु हुन्छ । उसलाई ल्याएर डबलीको बायाँतर्फको भागमा बाँधेर राखिन्छ । त्यत्तिकैमा वाद्यवादन सुरु हुन्छ । नृसिंहको उग्र रुप के गरौं र कता जाऔं जसरी बसिरहेको छ । एकाएक नृसिंह बाँधेको खाँबो नै फालेर डबलीको बीचमा आफ्नो उग्र नृत्य देखाउन थाल्छ ।

नृसिंहको उग्ररुपसँगै खि बाजाको स्वर चर्किँदै जान्छ । नृसिंहको नृत्यकै तालमा धाः बाजा, भुस्या, दमो खिः, पोगा बाजाको ताल चर्किँदै जान्छ । त्यही बाजाको तालले एकाएक अर्काे उत्पाद ल्याउला जस्तो गरी डबलीको अर्काे भागबाट हिरण्यकश्यपुको प्रवेश हुन्छ ।

लामो समयसम्म दुबैबीच ठूलो ‘युद्ध नाच’ चलिरहन्छ । नृसिंहले बध गर्नको लागि पटक–पटक गरेको प्रहार छल्दै हिँडेका छन् हिरण्यकश्यपु । डबलीको चारै तिर दुबैको युद्ध नृत्यको घमासान स्वरुप झण्डै ४५ मिनेटसम्म चल्छ । त्यत्तिकैमा एकातर्फको चिरागमा तेल सकिएर युद्धको ‘क्लाइमेक्स’को संकेत मिल्छ । दुबै पात्र धेरै थाकिसकेका छन् । त्यसैले चिरागमा तेल थप्ने अधबैंशेले अब बधको समय आएको संकेत गर्छन् ।

त्यत्तिकैमा भाग्दाभाग्दै थाकेको हिरण्यकश्यपु मुर्छा पर्छन् । मुर्छित् हिरण्यकश्यपुलाई नृसिंहले सेनाहरुको सहयोगमा आफ्नै काखमा राखेर बध गर्छन् । त्यहाँबाट उनी पहिले आएको संग्रहालयको द्वारनजिकै गएर सबैलाई प्रसाद बाँड्छन् । यसैबाट कात्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नृसिंह अवतारको नाच समाप्त हुन्छ ।

३७८ बर्ष पुरानो नाच

यो नाचका नृसिंह हुन् प्रताप धर शर्मा, हिरण्यकश्यपु हुन् किरण चित्रकार । यी दुई पात्र नै यो नाचका मुख्य आकर्षणहरु हुन् । यी दुई पात्रको अघि अरु पात्रहरुको भूमिका गौण छ । यो नाचमा हिरण्यकश्यपु र नृसिंह बन्नको लागि जो कोही व्यक्ति सक्षम हुँदैनन् ।

३७८ वर्ष पुरानो यो नाचमा नृसिंह अवतार बन्नको लागि पाटनको कृष्णमन्दिरका पुजारी रहेका राजोपाध्याय वंशकै मानिसहरु ब्रतबन्ध गरेका व्यक्ति चाहिन्छ । त्यस्तै हिरण्यकश्यपु बन्नको लागि पाटन सुन्धाराकै चित्रकारहरु अनिवार्य हुन्छन् ।

राजोपाध्याहरुका पनि छुट्टाछुट्टै शाखा छन् । एउटा राजोपाध्यायहरु कृष्णमन्दिरको पुजारी हुँदा अर्काे वंशका राजोपाध्यायहरु तलेजु मन्दिरका पुजारी हुन्छन् । जोर वर्षको समयमा मात्रै प्रताप धरको परिवारका सदस्यहरुले कृष्णमन्दिरमा पूजा गर्छन् र उनीहरु नै नृसिंह बन्ने हकवाला हुन्छन् ।

हिरण्यकश्यपु बन्ने चित्रकारहरुको भने यस्तो नाच नाच्ने अरु नभएकोले हरेक वर्ष आफैं हिरण्यकश्यपु बन्नु परेको बताउँछन् ।

कसरी बन्छन् नृसिंह ?

नृसिंह बन्नको लागि अरु कलाकार बन्न भन्दा धेरै कठिन छ । यो पात्र बन्नको लागि साना बच्चाहरु र बुढेशकाल लागिसकेकाहरुको लागि असम्भव नै हुन्छ भन्दा पनि फरक नहोला । त्यो नाचको लागि अघिल्लो दिन नै खाना खाएपछि दाँतमा केही बाँकी नरहने गरी सफल गर्नुपर्छ । बिहान उठेर कपाल खौरिएपछि स्नान गरेर नाचको लागि माला, मुकुट र बस्त्रहरु मिलाउने काम गरिन्छ ।

नृसिंह बन्ने पात्रले त्यो नाच नाच्नुपूर्व दिनभरी पानी पनि पिउनु हुँदैन । त्यसको तुलनामा हिरण्यकश्यपु बन्नेलाई केही छुट छ । उनीहरुले पानी र फलफूलको रस खान पाउँछन् । चोखोनितो भने दुबैले गर्नैपर्छ ।

साँझ परेपछि दुबैजना सौगलमा रहेको नाट्येश्वर मन्दिर गएर पूजा गर्छन् ।  त्यो मन्दिरमा जाँदा नृसिंह छुट्टै जान्छन् भने हिरण्यकश्यपु छुट्टै जान्छन् । त्यहाँ दुबैजना एकै पटक पुगेभने मन्दिरमा नै विध्वंश सुरु हुन्छ भन्ने विश्वास छ । तर, अहिलेसम्म त्यसरी मन्दिरमा भेट भएको छैन ।

नृसिंहलाई नाट्येश्वर मन्दिरबाट फर्किएपछि पाटन संग्रहालयमा रहेको एक बस्त्र लगाउने कोठामा लगेर बस्त्र र मुकुटले सिंगार्ने गरिन्छ । हिरण्यकश्यपु भने घरबाट नै सजिएर आउने गर्छन् ।

अहिले पनि राजा सिद्धिनरसिंह मल्लका सन्तानहरुले नृसिंहको खुट्टा धुनको लागि मंगलबजारको ढुंगेधाराबाट पानी ल्याउँने गरेका छन् । नृसिंह बन्ने पात्रलाई मुकुट भने तलेजुको मूल पूजारीले लगाउने गरेका छन् । त्यो मुकुट फिटकिरीको मिश्रणबाट बन्ने गरेको बताइन्छ । यस्तो हुँदा दिनभरी भोकै भएको व्यक्तिलाई पनि तान्त्रिक विधिबाट पूजा गरेपछि शक्तिशाली बन्छ भन्ने विश्वास छ । आफूलाई भोकै भएको भन्ने कुनैपनि भान नै नहुने शर्माले अनलाइनखबरलाई सुनाए ।

पाटनका राजा सिद्धिनरसिंह मल्लको समयमा एउटा ठूलो विपत्ति आइप¥यो । त्यसलाई कसरी सुल्झाउने भन्ने बारेमा राजाले आफ्ना शिक्षा दिने गुरु हरिवंश र दीक्षा दिने गुरु विश्वनाथसँग सुझाव माग्दा उनीहरुले नरबलि दिनुपर्ने बताए ।

एकातिर रोग र शोकले ग्रस्त जनतालाई सुख दिनुपर्ने र अर्काेतिर मान्छे मार्नु धर्म विपरित भएकोले तान्त्रिक विद्याका पारंगत पुरोहित विश्वनाथको सुझाव अनुसार यो नाचको सुरुवात भएको हो । यसमा हिरण्यकश्यपुको बध नै नगरेपनि अर्धचेत अवस्थामा पु¥याइन्छ । आफू हरेक वर्ष साँच्चिकै अर्धचेत हुने गरेको चित्रकार बताउँछन् । त्यसपछि उनलाई विभिन्न उपचार गरेर घर लगिन्छ । त्यसैले यो पूजा पनि तान्त्रिक विधिबाट गरिन्छ भने यसको उपचार पनि तान्त्रिक विधिबाट गरिन्छ ।

यसरी सुरु भयो 

यो नाच सुरु भएको ३७८ वर्ष भएको छ । यो अहिलेसम्म अविच्छिन्न रुपमा चलिरहेको विश्वास छ । विसं २००७ सालदेखि ३८ सालसम्म केवल नृसिंह नाच र वराह नाच मात्रै नाचिएको थियो । तर, त्यसपछि यसलाई २७ दिनसम्म मनाउने गरियो । अहिले कात्तिक डबलीमा यो नाच कात्तिक पूर्णिमामा सम्पन्न हुनेगरी १२ दिनसम्म मनाइन्छ ।

यो पर्वको सुरुवात नेसं ७६१ (विसं १६९७)मा  तत्कालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ गरेका थिए । मनोरञ्जनका साथै धार्मिक रुपमा समेत मनोरञ्जन हुँदै आएको यो पर्व योगनरेन्द्र मल्लको पालादेखि उषाहरण तथा माधवानल लीला थपेर २७ दिनसम्म मनाउन थालियो । अमूर्त सम्पदाको रुपमा रहेको यो पर्व २०७० सालदेखि १२ दिनमात्रै मनाउन थालिएको हो ।

यो पर्वको पहिलो दिन सुदामा प्याखँ, भक्त सुरदास प्याखँ, बाथ प्याखँ ३ दिन, युद्ध कला, देवी नृत्य, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण र अन्तिम दिन दधिलीला मनाउने गरिन्छ ।

तस्वीरहरुः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment