+
+
Shares

सकिमना पुन्हि : रैथाने खानासँग जोडिएको पर्व 

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १९:५४

कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व भक्तपुरमा मनाइएको छ । कात्तिक पूर्णिमाको दिन उपत्यकाका नेवार समुदायले पौष्टिकताको संकेत गर्दै मनाइने यो पर्व रैथाने खानाको संकलन गर्ने पर्वको रुपमा चिनिन्छ । यो पर्व अनुसार हरेक वर्ष आफ्नो क्षमता अनुसारको अन्न तथा गेडागुडीले मन्दिरको अघि आएर पूजा गर्ने गरिन्छ । यसैदिन पिँडालु उसिनेर खाने पनि प्रचलन रहेको छ ।

हिउँदमा बाली भित्र्याएर कमजोर भएका किसान समुदायलाई पौष्टिकता युक्त खानाको ज्ञान दिनको लागि यो पर्व मनाउने गरिएको छ । प्रचुर मात्रामा प्रोटिन पाइने खालका गेडागुडीसँगै पिँडालुलाई समेत उसिनेर खाने गरिन्छ ।

यो दिन साँझ ५ बजेतिर सबैजना आफ्नो क्षमता अनुसारको गेडागुडी लिएर आफ्नो घर नजिकैको मन्दिरमा आउने गर्छन् । यही दिन उनीहरुले विधिपूर्वक महादेवको पूजा आराधना समेत गर्ने गरेका छन् । नेवारी भाषामा ‘सकि’ अर्थात् पिँडालु र ‘मना’ भनेको उम्हाल्ने भन्ने हुन्छ । पिँडालु उसिनेर खाने पर्व भएकोले नै सकिमना भनेर यो पूर्णिमाको नाम राखिएको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेलेले जानकारी दिए ।

उनका अनुसार यस दिन ऋतु अनुसार उब्जनी हुने आफ्नो उत्पादनलाई विधिपूर्वक आफ्ना इष्टदेवलाई चढाएपछि मात्रै आफूले खाने गरिन्छ । हरेक मन्दिरको अघि गेडागुडीले नै मन्दिर र भगवान्को आकृति बनाएर यो पर्व मनाइन्छ । झण्डै दुई÷तीन घण्टा पूजा गरेपछि आफ्नो घरबाट प्रसादको रुपमा ल्याएका सामग्रीहरु छिमेकीहरुलाई समेत दिएर आफ्नो बाँकी रहेको सामान फिर्ता लगिन्छ ।

भक्तपुरमा रहेका विभिन्न महादेवका मन्दिरहरुमा यस दिने विशेष पूजा हुने गर्छ । यसदिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाइन्छ भन्ने धार्मिक विश्वास छ । पूजाआजा गरिसकेपछि राति अबेरसम्म उनीहरु मन्दिरमा नै भजनकीर्तन गरेर बस्ने गर्छन् ।

भेले यो पर्वलाई रैथाने खानाहरुको संकलन गर्ने पर्वको रुपमा मान्छन् । ‘जाडो सुरु भएपछि किसानहरुलाई प्रोटिनको आवश्यकता हुने भएकोले प्रोटिन पाउने गेडागुडीहरु खानुपर्छ भन्ने सन्देश दिनको लागि यो पर्व आयोजना गरिन्छ ।’ उनले भने ‘यो पर्वमा मकै, गहुँ, भट्टमास, केराउ आदि प्रयोग गर्ने गरिन्छ । यो पूजामा धान चामल भने नचल्ने उनले बताए ।

यो पर्व हामीहरुको प्राचीन समाज विकासको प्रक्रियासँग पनि जोडिएको विश्वास समेत छ । व्यवस्थित कृषिप्रणालीको सुरुवात हुनु पहिले जंगली फलफूलमा आश्रित समाज थियो । सोही समयमा प्रचुर मात्रामा प्रोटिन पाइने कन्दमुल खाएर यो पर्व मनाउने गरेको भन्दै यसको ऐतिहासिकता निकै पुरानो रहेको समेत बताइन्छ ।

धार्मिक विश्वास अनुसार आजको दिनमा उसिनेको पिडालु खाएमा वर्षभरी शरीरलाई चाहिने प्रोटिन प्राप्त हुन्छ भन्ने विश्वास छ । यो पर्व जीवन्त राख्न टक्सार टोलमा अहिले पनि दाफा भजन गरिन्छ । यो भजनमा प्रत्यक गुठियारहरुको अनिवार्य रुपमा हली मली अन्न गेडा गुडी भुटिएको ल्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?