Comments Add Comment

एयरपोर्टका कर्मचारीप्रति सांसदहरुको आक्रोश : हामीलाई हेप्ने ?

२७ कात्तिक, काठमाडौं । ‘म आफू त विदेश धेरै गएको छैन तर, बच्चाहरु ओहोरदोहोर गरिरहनु पर्ने भएकाले बारम्बार एयरपोर्ट जानुपर्ने हुन्छ । तर, विमानस्थलमा कर्मचारीले मलाई सांसद भनेर चिन्नुहुन्न । पास लगेर जाँदा पनि पुलिस लाएर घोक्र्याउने जस्तो व्यवहार गर्नुहुन्छ’ नेकपा सांसद रामवीर मानन्धरले गुनासो गरे ।

‘म भैरहवादेखि काठमाडौं धेरै आवतजावत गर्छु । जहाज कहिले पनि सही समयमा उडेको हुन्न । ३/४ घण्टा एयरपोर्टमा कुर्नुपर्छ । विमानस्थलका कर्मचारीलाई यो देशमा सांसद छन् भन्ने थाहै छैन । एउटा पियनको जति पनि हामीलाई हैसियत दिँदैनन् । हामीलाई टेर्दैनन् । मतलवै गर्दैनन् । बुधबार मात्र धनगढीबाट काठमाडौं आउँदा म भिआइपी रुममा चार घण्टा एक्लै बस्दा बोर भएँ ’ राष्ट्रिय जनता पार्टीकी सासंद अमृतादेवि अग्रहरिले भनिन् ।

‘नेपाल सरकारले प्रोटोकल तोकेको छ । को पछि को भन्ने स्पष्ट छ । हामी आइजीपीभन्दा माथि कि तल ? हामी नेपाली सेनाको प्रधानसेनापतिभन्दा माथि की तल ? उनीहरुले चाहिँ भिआइपी कक्ष प्रयोग गर्न पाउने । परिवार सहित त्यहाँ जान पाउने । अनि माननीयहरु चाहिँ यसो छोरीहरु पुर्‍याउन जाँदा बाहिर कुरिराख्नु पर्ने ? त्यो कर्मचारीसँग झगडा गर्ने हाम्रो हैसियत होइन नि ? हाम्रो इज्जतै छैन ! कर्मचारीले गाली गर्छन् । कर्मचारीले हेप्न पाउँछन् ? म माननीय, पूर्वरक्षामन्त्री भनेर परिचय दिँदा पनि कर्मचारीले मन्त्री होस की को होस, हामी नियमअनुसार काम गर्छौं पो भन्छन् । त्यसैले म त लोगो पनि लगाएर हिँड्दिन’ कांग्रेस सांसद, भीमसेनदास प्रधानले भने ।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सामु सांसदहरुले यस्तो गुनासो पोखे । समितिले जहाज होल्ड भएर जनताले पाएको सास्ती, नेपाल वायुसेवा निगमको सुधार, नेपाल भ्रमण वर्षको तयारी तथा पर्यटकीय पूर्वाधार निर्माणका सम्बन्धमा छलफल राखेको थियो । समितिमा बोल्ने सांसदहरुको चासो भने विदेशमा रहने आफ्ना छोराछोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याउन जाँदा कर्मचारीले गर्ने सुरक्षा जाँच, कडीकडाउ र व्यवहारमा बढी केन्द्रित देखिन्थ्यो ।

उनीहरुको गुनासो प्रहरी र विमानस्थल र अध्यागमनका कर्मचारीले माननीयलाई चिनेनन्, चिनेर पनि वास्ता गरेनन् र टेरेनन् भन्नेमा बढी थियो ।

सांसदहरुको गुनासो सुनिसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सांसदहरुलाई सानो चित्त नबनाउन आग्रह गरे । पिक आवरमा त्रिभुवन विमानस्थलले दोब्बर क्षमतामा काम गरेको हुन्छ । अत्यन्तै दवावमा काम गर्ने कर्मचारीले कडा स्वरमा बोल्ने गरेको भए त्यसलाई मानवीय कमजोरीका रुपमा लिन मन्त्रीले आग्रह गरे ।

तर, सामान्य अवस्थामा पनि सोही व्यवहार दोहोरिएमा भने त्यसलाई सुधार गरिने उनले उल्लेख गरे ।

‘हामी आफ्नो मन पनि सानो भएर हो कि हिनताबोध भएर हो, विमानस्थलमा भीआईपीको विवाद धेरै नै आउँछ,’ उनले भने, ‘हामीले एउटा मापदण्ड बनाएका छौं, यस अनुसार चल्ने हो भने समस्या नै आउँदैन ।’

भीआईपी सुविधा प्रयोग गर्नेले यसको दूरुपयोग गर्न नहुने उनको भनाइ थियो । ‘म पावरमा छु, सांसद हुँ, मन्त्री हुँ, फलानो पदको नेता हुँ भन्ने, कर्मचारीलाई हेप्ने, पुलिसलाई थर्काउने, उसले रोक्न खोज्छ, म फलानो दलको नेता हुँ बुझिस, यहाँ जागिर खान मन छ कि छैन भन्दै थर्काउने प्रवृत्ति छ, अब राजनीतिक दलको नेतृत्व तहमै चेतना जगाउनु पर्ने आवश्यकता छ’ भट्टराईले भने ।

भीआईपी सुविधा लिँदैमा आफ्नो स्तर माथि उठ्ने र नगर्दा तल झर्ने नहुने समेत उनले बताए ।

‘मन्त्री भएपछि मात्र त्रिभुवन विमानस्थलमा भीआईपी सुविधा लिन थालेको हुँ, त्यसअगाडि कहिले पनि प्रयोग गरिनँ, सुरक्षाका साथीहरुले सर यताबाट जानुस भन्थे, म कहिले पनि गइन्’ उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment