Comments Add Comment

सर्वेन्द्र खनालको जीवनशैली : दूध-भातमा हुरुक्कै, गानाबजानामा खप्पिस

प्रहरी अहिले हिरो हुन थालेका छन्, सिनेमाको पर्दामा । थुप्रै सिनेमा छन्, जसमा वर्दीधारी हिरोले भ्रष्ट नेता, ठग ठेकेदार, सिल्ली साहु-माहजन र कामचोर कर्मचारी लाई तह लगाउँछन् । असत्य र अन्यायको जगमा चकचकी मच्याउँने गुण्डालाई रामधुलाई हान्छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि बेलाबखत यस्तै ‘हिरोइज्म’ देखाउने गरेका छन् । कहिले ‘म्याच फिक्सिङ’ को काण्डमा त कहिले गुण्डा नाइकेको इन्टकाउन्टर गरेर । कहिले उनी सवारी जाम हटाउन सडकमै उत्रिए, कहिले पेट्रोलियम पदार्थमा ठगी गर्नेहरुको झांको झारे ।

ललितपुरको बडिखेलमा १२ बर्षअघि एकै परिवारका पाँच जनाको विभत्स हत्याको अपराधी खोज्नेदेखि जमिम साहका हत्या आरोपितलाई हतकडी लगाउने र कुख्यात भारतीय अन्डर वल्र्ड नाइके बब्लु दुबेलाई पक्राउ गर्नेसम्ममा खनालले आफ्नो ताकत देखाइदिए ।

यी सबैमा सर्वेन्द्र खनालको ‘हिरोइज्म’ छवी प्रकट हुन्छ । यद्यपि उनी पर्दामा देखिने हिरो र सिनेमाप्रति त्यती लगाव राख्दैनन् । ‘नाटकिय कुरामा म न विश्वास गर्छु, न इन्जोए’ खनाल भन्छन् । त्यसैले त उनी चाख मानेर सिनेमा हेर्दैनन् । मनोरञ्जन लिदैनन् । ‘फिल्ममा देखाइने जस्तो दृश्य त मैले वास्तविक जीवनमै देखें-भोगेंको छु’ खनाल भन्छन्, ‘मलाई यर्थाथतामा रमाउने बानी परेको छ ।’

उनी बर्दीमै रमाउँछन् । ड्युटीमै रमाउँछन् ।

कसरी बित्छ दैनिकी ?

स्वभाविक हो, प्रहरी महानिरीक्षकको कुर्सीलाई अनेक दबाव, जोखिमले घेराबन्दी हालेको हुन्छ । यस्तो अवस्थामा के उनको दैनिकी तनावग्रस्त हुन्छ ?

‘त्यस्तो तनावग्रस्त नै भन्ने त हुँदैन’ खनाल सुनाउँछन्, ‘आफ्नो काम, कर्तव्यलाई तनावको रुपमा लिने कुरा पनि भएन ।’ बेलाबखत रातको निद्रा भने विथोलिन्छ । खासगरी प्रहरी सेवामाथि गरिने आलाकाँचो टिका-टिप्पणीले उनलाई वेचैन बनाउँछ । त्यसैले उनी राती अबेरसम्म पनि जागै हुन्छन् । बिहान उठ्दा ५ वा ६ बजेको हुन्छ । ठ्याक्कै उठ्ने समय पनि निश्चित छैन । यद्यपि ६ बजेभन्दा अघि ओछ्यान छाड्छन् ।

विहान फ्रेस भइसकेपछि एक वा दुई गिलास कागती पानी पिउँछन् । पानी पिइरहँदा उनको दिमागमा दिनभरको कामको खाका तयार भइसक्छ । आजको दिन के गर्ने ? बाँकी कामहरु कसरी फत्ते गर्ने ? नयाँ काम कसरी थाल्ने ? इत्यादि ।

४५ मिनेट ब्याडमिन्टन कोर्टमा

त्यसपछिको समय उनी फिटनेसका लागि समय दिन्छन् । विहान नियमितजसो ब्याडमिन्टन खेल्न जान्छन्, पुलिस क्लबमा । खेलाडी वा प्रहरी अधिकृतहरु उनका ब्याडमिन्टन खेल्ने साथी हुन् । ब्याडमिन्टन कोर्टमा करिब ४५ मिनेट बिताउँछन् । पसिनाले निथ्रुक्क भएपछि प्रहरी प्रधान कार्यलय नक्साल जान्छन् । प|mेस हुन्छन् । बर्दीमा ठाँटिन्छन् । त्यसपछि उनको यन्त्रवत् दैनिकी सुरु हुन्छ । बाँकी रहेका कार्य सम्पादनदेखि नयाँ योजनासम्मको कामले उनलाई बेफुर्सदिलो बनाउँछ ।

पारिवारिक जीवन

साँझ ७ वा ८ बजेभित्र उनी घर र्फकन्छन्, यदि सबै कुरा ठिकठाक छ भने । अन्यथा उनको सेड्युल बद्लिन सक्छ । कहिले जरुरी मिटिङ वा काम-कारबाहीले अर्कैतिर डोहोर्‍याउन सक्छ । त्यसो त घर पुगेपछि पनि आनन्दले सुस्ताउने फुर्सद कहाँ ?

देशभरका शान्ति सुरक्षाको जिम्मा उनकै काँधमा छ । त्यसैले हरेक दिन केही न केही समस्याले उनलाई अल्झाइरहन्छ ।

घर पुगेपछि केही क्षण परिवारका लागि समय दिन्छन् । टेलिभिजन हेर्ने फुर्सद त्यती मिल्दैन । यतिका धपेडी भएपनि तनाव भने लिने गरेका छैनन् । ‘कामको चाप एवं दबावलाई म स्वभाविक रुपमा लिन्छु’ खनाल भन्छन्, ‘तर, प्रहरी सेवाको विरुद्धमा गरिने कतिपय टिका-टिप्पणीले चाहिँ चित्त दुखाउँछ ।’

उनलाई शारीरिक चोटपटकले विचलित बनाउँदैन । जीवनमा थुप्रै पटक शारीरिक पीडा झेलेका छन् । ‘इन्सपेक्टरहुँदै आजको विन्दुसम्म आइपुग्दा कैयौ शारीरिक चोट सहेको छु’ खनाल भन्छन्, ‘शारीरिक चोट त पचाउन सक्छु, तर भावनामा चोट पुर्‍याउने कुराले मलाई विचलित बनाउँछ ।’

कहिलेकाहीँ राती नै ब्युँझन्छु

सामान्य अवस्थामा उनलाई निदाउन समस्या हुँदैन । ओछ्यानमा पल्टनसाथ भुसुक्क निदाइहाल्छन् । यद्यपि कामको जिम्मेवारी बढेको बेला उनलाई निद्रा पर्दैन ।

कहिलेकाहीँ रातमा नै निद्राले छाड्छ । बिहान हुनै लाग्दा निद्रा लाग्छ । त्यस्तो बाहेक खासै समस्या केही पनि छैन ।

दुध र भात भनेपछि हुरुक्कै

खानपिनमा उनलाई दूधका उत्पादनहरु मनपर्छ । दुध भात भएपछि अरु केही चाहिदैन ।  ‘बिहान दूध भात खान्छु’ खनाल भन्छन्, ‘तरकारीमा बकुल्ला साहै्र मनपर्छ, हरियो केराउ पनि मनपर्छ । मलाई टिपिकल नेपाली खानामा मन गढेको छ ।’ उनलाई नेवारी खानाले मन लोभ्याउने गर्छ । सागपात पनि प्रशस्त खान्छन् ।

भनिन्छ, बिहानको खाना पर्याप्त र त्यसपछि क्रमस घटाउँदै लानुपर्छ । यद्यपि महानिरीक्षक खनाल भने बिहानको खाना नियन्त्रण गर्छन् । सकेसम्म हल्का खान्छन् । भरपेट खाएर काम गर्न असहज मान्छन् । साँझ भने मन खोलेर खान्छन् । ‘राती घर फर्किसकेपछि एक किसिमले कामको चाप र दौडधूप हुँदैन, त्यसैले मजाले खाइदिन्छु’ उनी भन्छन् ।

बिहानको खाना सकेसम्म म घरमा नै खाने गरेका छन् । बिहानैदेखि बाहिर छन् भने कहिलेकाहीँ मात्रै बाहिर खाना खान्छन् । ‘म नियमित बिहान खाजा खान्न’ उनी भन्छन्, ‘बिहान साढे ९ बजेसम्म घरबाट निस्कनु पर्यो भने मात्रै बिहान खाजा खाएर आउँछु ।’

उनलाई ब्रेकफास्टमा पाउरोटी मनपर्छ । खानामा पौष्टिकता चाहिँ खोज्ने फुर्सद नै हुँदैन । त्यसैले त्यतातिर ध्यान दिने गरेको छैनन् ।

पहिरनमा आशक्ति छैन

पहिरनप्रति उनलाई त्यसतो आशक्ति छैन । स्थान र समय अनुसार सुहाउँदो पहिरन लगाउने गर्छन् । ‘ठाउँ अनुसारको फिट हुनको लागि फेसनमा अलिकती ध्यान दिन्छु’ उनी भन्छन्, ‘आत्मविश्वासको लागि आफूलाई फिट हुने कपडा लगाउनुपर्छ भन्ने लाग्छ ।’

कपडाको सवालमा उनको अलिकती फरक विचार छ । कपडा जस्तो सुकै हो त्यो लगाएर बस्नमा सहज हुनुपर्छ भन्ने लाग्छ । कुनै कार्यक्रम अनुसारको कपडा लगाउनुपर्छ । गरगहनाहरुमा खासै शोख छैन । औंठी सिक्री लगाउने गरेको छैनन् ।

गानाबजानामा रुची

संगीतमा उनलाई पहिलेदेखि नै निकै रुचि थियो । क्याम्पस पढ्ने समयमा त गितार पनि किनेर बजाउने गरेका थिए । ‘त्यतिबेला के भएर हो त्यो गितार फुट्यो त्यसपछि अर्काे गितार किनिन’ खनाल भन्छन्, ‘संगीतमा नारायण गोपालका गीतहरु धेरै सुन्छु । आफैं पनि गाउँछु ।’

तर, धेरै समय नै मिल्दैन, नाचगान गर्न । अब अवकास पाएपछि भने ढुक्कसँग नाचगान गर्ने रुची छ ।

बेलाबखत घुमफिरमा

उनलाई घुमफिरमा निकै रुची छ । यद्यपि त्यस्तो अनुकुलता मिलेको छैन । घुम्नका लागि भनेर कामबाट विदा लिएका छैनन् । कामकै सिलसिलामा भने नेपालको थुप्रै्र जिल्लाको फन्को लगाएका छन् ।

‘कहिलेकाहीँ समय भयो भने चितवन सौराहा तिर जान्छु’ उनी भन्छन्, ‘तर, ट्रेकिङ, हाइकिङ भने जाने गरेको छैन ।’

जहाजमा हुँदा पुस्तक पढ्ने

समय मिलेसम्म उनी अध्ययन पनि गर्छन् । नयाँ नयाँ पुस्तक पढ्छन् । ‘पहिले प्रहरी भित्रै साहित्यिक प्रतिस्पर्धा पनि हुन्थ्यो, त्यतिबेला धेरै पढिन्थ्यो’ उनी भन्छन्, ‘अरु बेलामा पनि साहित्यिक पुस्तकहरु धेरै पढ्छु ।’

जहाजमा यात्रा गर्दा कहिलेकाहीँ पनि उनी पुस्तक पढ्ने गर्छन् । तर, प्रहरीको नेतृत्व सम्हाल्न थालेपछि भने खासै पढ्न समय मिल्ने गरेको छैन ।

डाक्टर बन्न मन थियो, पुलिस बनेँ

उनी पहिलेदेखि नै अँग्रेजीमा अब्बल थिए । विशेष रुची चाहीँ डाक्टर बन्छु भन्ने थियो । २०३८ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेपछि साइन्स पढे । उनले एमपिए अर्थात मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेशनसम्म अध्ययन गरे । व्यवस्थापनमा स्नातक गरेपछि प्रहरीमा जागिर खुल्यो ।

व्यवस्थापनमा स्नातक गरेपछि प्रहरीमा जागिर खुल्यो । त्यसपछि त्यतै धेरै समय दिन थाले । परीक्षा दिनुपर्ने दिन लाठी चार्ज गर्न जानुपर्ने थियो । यसरी नै उनको औपचारिक अध्ययन टुंगियो । ‘इंस्पेक्टर हुँदा बिहे गरेँ’ उनी भन्छन्, ‘पहिलेदेखि नै कसैले नराम्रो काम गर्नेलाई तह लगाइहाल्नु पर्ने बानी थियो । त्यसैले हुनसक्छ, डाक्टर बन्ने सपना बोकेको मान्छे प्रहरी सेवातिर लागेँ । म पहिलेदेखि नै प्रहरी अलिकती अरुको दुखलाई पनि आफ्नै सम्झिने खालको हुनुपर्छ भन्ने स्वभावको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment