Comments Add Comment

एनआरएनएका चुनौती र अवसर

सन् २००३ अक्टोबर ११ देखि १४ मा प्रथम विश्व सम्मेलन गरी सुरु भएको एनआरएनको अभियान अहिले नवौं विश्व सम्मेलनसम्म आइपुग्दा यसले संगठन विस्तार र एकाध लगानीबाहेक उल्लेख्य काम गर्न सकेको देखिँदैन ।

करिब १६ वर्षको इतिहास बोकेको यो संस्था अरु देशका आप्रवासी संस्थाको तुलनामा कलिलो संगठन मान्नुपर्छ, तर यो संगठनलाई सबै प्रवासी र आप्रवासी नेपालीको संगठन बनाउने हो भने यो संस्थाको गहिरो समीक्षा हुन जरुरी छ ।

एनआरएनले उठाएको नारा ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ नवौं विश्व सम्मेलन भएको थियो ।’ सम्मेलनमा विश्वभर ८१ देशका दुई हजार पाँच सयभन्दा बढी गैरआवासीय नेपाली अर्थात एनआरएनको सञ्जालको सहभागिता थियो ।

एकातिर, मुलुकको समृद्धिको यात्रामा ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिइएको छ । अर्कोतर्फ मुलुक हाँक्ने जिम्मेवारी पाएको सरकारले सहीरुपमा कानूनी राज्य चलाउन नसकेका घटना सधैजसो उजागर भइरहेका छन् । हत्याकाण्ड जस्तो जघन्य अपराधमा संलग्न रहेको अभियोग लागेका व्यक्तिलाई समेत राजनीतिक प्रभावका कारण उन्मुक्ति दिइन्छ । आफ्ना आसेपासेहरुलाई राजनीतिक संरक्षण गरिने नयाँ व्यवसायको रुप झागिँदै गएको छ । जसले गर्दा अपराधिक क्रियाकलपामा संलग्न हुने व्यक्तिलाई उन्मुक्ति र संरक्षण गर्नु सामान्य कुरा भएको छ । यी सम्पूर्ण कुरालाई अवलोकन गर्दा देशमा लगानी गर्ने वातावरण नभएको देखिन्छ ।

भनिन्छ, कुनै बेला दास भएर पनि मानिसहरुले देश छाड्थे । श्रम शोषण नै सही अहिले अवसरहरु नयाँ रुपमा अवतरित छन् । विदेशको आर्जनलाई स्वदेशमा लगानीका निम्ति संस्थागत प्रयासले यताका दशकमा विश्वभर नयाँ ऊर्जा दिएको छ । एनआरएन नेपालमा यही अवस्थाको शिशु भनौं, बाल बिम्ब हो ।

साँच्चै लगानीसँग गैरआवासी नागरिकको नाता जोडिएको हुन्छ । पहिचानको कुरा उनीहरुको सांस्कृतिक महत्वको विषय हो । संस्कृति पनि विश्वव्यापीकरण हुँदैछ । लगानीसँगै आउँछ उद्यमशीलता । पुँजीले लगानी खोज्छ र लगानीले मुनाफा खोज्छ ।

आफ्नै मातृमूमिमा लगानी गर्न लाभका सम्भावनाका निम्ति धेरै अध्ययन नै गर्नुपर्छ । गैरआवासीयहरुको लगानीले धेरै मुलुक लाभान्वित भएका छन् । हाम्रो देशमा एनआरएनको संस्थागत उमेर एकदशक हाराहारी हुन लागे पनि संस्थागत लगानी लगभग शून्य नै रहेको छ । एक दशकमा यो अवस्था कुनै कुरामा सीमित भयो । हाम्रा छिमेकी मुलुक भारतमा विदेश गएका भारतीय स्वदेश र्फकन थाले । उनीहरुले आफ्नो जन्मभूमिमा लगानी गर्न थाले । यो एक दशकमा भारतको मुहार नै अलग हुँदैछ । त्यस्तै गरी अर्का चीनको अवस्था त्यस्तै छ । यसमा विदेशमा बस्नेहरुको ठूलो हात छ । उनीहरुको विदेश जाने क्रम कष्टकर र लामो इतिहास छ ।

यो अवस्था नेपालीको होइन । विपन्न हिमाली मुलुक नेपाल आर्थिक तथा सामाजिक रुपमा धेरै विपन्न नै छ । त्यो भन्दा पनि सरकार र यसका अवयवहरु सङ्क्रमणको घङ्घङीमा अल्भिmरहेका छन् । यी विविध कारणहरुले गर्दा सोचे अनुसारको प्रगति हुन सकेको छैन ।

विश्वका २ सय मुलुकमध्ये १०९ भन्दा बढी मुलुकमा प्रभावशाली हैसियत बनाएर नेपाली बसोबास गरिरहेका छन् भन्ने सन्देश नेपालीका लागि ऊर्जाको स्रोत हो । नेपालकै नागरिक मात्र होइन, छिमेकी भारतदेखि भुटान, बर्मा हुँदै समुद्रपारका देशमा रहेका र आफूलाई नेपाली भन्न रुचाउने हरेक व्यक्ति यस सन्देशबाट प्रभावित हुन पुग्छ ।

ऊर्जाशील प्रेरणा प्राप्त गर्ने सन्दर्भमा नेपालीले आफूलाई जाति, धर्म, क्षेत्र र लिंगमा विभाजित गर्ने गरेको छैन । त्यसैले उक्त सम्मेलनप्रति ६० देखि ८० लाख गैरआवासीय नागरिकको प्रत्येक चासो छ । यसरी नेपालीहरुले आर्जेको अनुभव, क्षमता र कमाइ अन्य नेपालीका लागि पनि स्वआर्जनसरह हुन पुगेको छ ।

हाम्रो देशमा एनआरएनए भन्नेवित्तिकै धनीमानीको संगठन भनेर हल्का रुपमा लिइने चलन छ । देश बाहिर रहन गएको सिंगो नेपाल पनि छ भन्ने कुरा एनआरएनएको प्रसंगसँग जोडिन सकेको देखिँदैन ।

विकसित देश बन्नलाई पूर्वाधारको क्षेत्रमा लगानीको खाँचो छ । मुलुकमा लामो राजनीतिक संक्रमणपछि स्थायित्व तथा स्थिर सरकार बनेको अवस्था छ । नेपाल सरकारले पछिल्लो समय संघको लगानी भित्र्याउने योजनासहित नीतिगत व्यवस्था सुधार गर्दै लगेको जानकारी जानकारहरु दिएका छन् । यसर्थ, एनआरएनले भिजिट नेपाल २०२० लाई सफल बनाउन समेत सहयोग गर्नुपर्ने त्यतिकै माग रहेको छ । त्यसको साथसाथै स्वदेशी माटोबाट पर रहनुपर्दा हामी एनआरएनले सिकेको सबैभन्दा ठूलो ज्ञान आˆनो खुट्टामा कसरी उभिनुपर्छ भन्ने हो । यसमा आइपरेका ५२ घुस्सा, ५३ ठक्कर खाँदै हामीले विदेशी भूमिमा आफूलाई स्थापित गर्न सक्नुपर्छ ।

विगतमा गैरआवासीय नेपाली संघ गठन भएदेखि नै सो संघले स्वदेशको भलाइका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट अघि बढिरहेको थियो । त्यसमा पनि नेपाल सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने भनेको छ । त्यसका लागि २० खर्ब रुपैयाँ लगानी चाहिन्छ, बैंकले ७० प्रतिशत ऋण दियो भने पनि बाँकी ३० प्रतिशत स्वपुँजी एवं वर्षको ६०/७० अर्ब रुपैयाँ गैरआवासीय नेपालीबाट नै उठाउने अपेक्षा गरिएको सम्बन्धित क्षेत्रको विज्ञहरुको भनाइ रहेको पाइन्छ ।

समग्रमा भन्नुपर्दा विश्वभरि छरिएर रहेका नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघ -एनआरएनए)को नवौं विश्व सम्मेलन भरखर मात्र सम्पन्न भएको छ । अतः सन् २००३ मा अध्ययनका क्रममा विदेश गएका नेपालीहरुलाई संगठित गरेर सामाजिक कार्य गर्ने लक्ष्यसहित संघको स्थापना भएको थियो । हाल संघले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।

संघकै सहयोगमा भूकम्पबाट तहसनहस भएको गोर्खाको बारपाकमा नयाँ बस्ती बनाइएको छ । हाल गैरआवासीय नेपालीले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत, पर्यटन तथा होटल, बैंकिङलगायत क्षेत्रमा लगानी गर्दै आएका छन् । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका करिब ८० लाख नेपालीको नेतृत्वका लागि अधिवेशनमा अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी कुल ४२ पदका लागि निर्वाचन भएको छ ।

गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्ब वैदेशिक लगानी वाषिर्करुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका साथै नेपाली पर्यटन व्यवसायमा आगामी १० वर्षमा रू. १० खर्बभन्दा बढीको लगानी आवश्यक छ ।

यस्तै आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारको रहे पनि त्यसको अधिकांश हिस्सा निजी क्षेत्रले ओगट्ने आशामा नेपाल सरकार रहेको बुझिन्छ । तसर्थ नेपालको समृद्धिका निम्ति विश्वभरि रहेका ६० लाख नेपालीले दिन सक्ने योगदानका सन्दर्भमा अध्ययन, विश्लेषण र साझा आहृवान गर्न आवश्यक छ ।

रोजगारी, शिक्षा र अन्य विभिन्न कामका लागि ठूलो संख्यामा नेपाली विश्वका विभिन्न मुलुकमा पुगेका छन् । तर जुनसुकै देशमा पुगे पनि नेपाली नागरिकले आˆनो जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गरिरहेकै छन् । यसले नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको अभियानमा सहयोग पुग्नेछ ।

यो अवधारणाले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन सहयोग पुग्नेछ । यसरी गैरआवासीय नेपालीले नेपालमा गरेका लगानीको ठूलो नाफा वा अथाह प्रतिफलको आशा गरेका हुँदैनन् । तर, आफूले गरेको लगानी बापत हिस्सेदार बन्न पाउनुपर्छ भन्ने माग मात्रै हो । तर, लगानीकर्ताहरूले त्यतिकै लगानी गर्दैनन् । त्यसबाट भएको उपलब्धि अर्को क्षेत्रमा लगानी गर्न सकिन्छ । त्यस्तो लगानीबाट जन्मभूमिमै धेरैका लागि रोजगारीको सिर्जना हुनेछ र स्रोत-साधन परिचालनमा सहयोग पुग्नेछ ।

नेपाल सरकारसँग हाम्रो अपेक्षा भनेको गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण सिर्जना हुन सकोस् । यसर्थ नवौं सम्मेलनसम्म आइपुग्दा एनआरएनएका प्रतिनिधिहरुले विगतमा निर्धारण गरिएका लक्ष्य र उद्देश्यहरुमा के-कति प्रगति भए र के-कस्ता अवरोध देखिए भन्नेतर्फ गम्भीर विश्लेषण गरी आगामी दिनमा एनआरएनएको भूमिका अझ प्रभावकारी बनाउने उपाय खोज्न सक्नुपर्छ ।

(खरेल नेपाल सरकारका पूर्व योजना अधिकृत हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment