Comments Add Comment

लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु

२८ कार्तिक, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको आध्यात्मिक एवम् पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ ।

त्रिपिटक वाचनका लागि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत २० बढी देशका १ हजार जना भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिका भेला भएका छन् । त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । त्रिपिटक च्यान्टिङ (वाचन) समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक कार्यक्रम सुरु भएको हो ।

यस पटक लुम्बिनीमा ३ वटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिंदा ) गर्दा सुनाएका बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागि देशना गरेका महासमय सुत्र पनि पाठ (वाचन) गरिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले त्रिपिटक वाचनले लुम्बिनीको गरिमा र महत्वलाई बढाएको बताए । सम्राट अशोकले लुम्बिनीसँगै कपिलवस्तुको २ स्थानमा अशोक स्तम्भ राखेको ठाँउ पहिचान भएको र कनकमुनि बुद्धको जन्म स्थल निगालिकोटमा प्रदेश सरकारले कनकमुनी बुद्धको प्रतिमा राख्ने योजना बनाएको मुख्यमन्त्री पोखरेलले बताए । नवलपरासीको रामग्राममा बुद्धकालिन सम्पदाहरुको संग्रहालय बनाउने योजना रहेको पनि उनले बताए ।

कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटक अन्तर्गतको दीर्घ निकायको बह्रमजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुआत गरेका छन् ।

दोस्रो दिन म्यान्मारका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गनेछन् भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचनको नेतृत्व गर्ने छन् । त्रिपिटक ग्रन्थ पालि भाषामा लेखिएको छ । जसलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरीनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचन संग्रह गरिएको छ ।

बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न संघमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो ।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटकअन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन् । मायादेवी मन्दिर परिसरमा सञ्चालित त्रिपिटक वाचन तीन दिनसम्म चल्ने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment