Comments Add Comment

एक्स्ट्रीम कार रेस पहिलोपटक नेपालमा हुने

२८ कात्तिक, काठमाडौं । विश्वका विभिन्न ५ स्थानमा आयोजना हुने फर्मुला वान इ–कार रेसिङ पहिलोपटक नेपालमा आयोजना हुने भएको छ । मुस्ताङमा सन् २०२१ मा यो इभेन्ट हुने निश्चित भएको हो ।

फर्मुला इ च्याम्पियनसीपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागले मंगलबार मुस्ताङ नै पुगेर साइट अवलोकन गरेका छन् । उनका साथमा पर्यटन मन्त्री योगेश भट्टराई र नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीसमेत पुगेका थिए ।

अवलोकनपछि बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी रेस नेपालमा आयोजना हुने घोषणा गरियो । पर्यावरण सन्तुलन तथा वैकल्पिक उर्जा, खासगरी विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन यो कार्यक्रम महत्वपूर्ण सावित हुने मन्त्री भट्टराईले बताए ।

विश्वव्यापी रुपमा यस रेसिङमा एक सीटयुक्त विद्युतीय रेसिङ कारको प्रयोग हुने गरेको छ । नेपालमा भने विद्युतीय एसयूभी गाडी प्रयोग गर्ने तयारी छ । यो कार्यक्रम सन् २०२१ को मे महिनामा आयोजना हुनेछ । कार्यक्रमलाई ‘एक्स्ट्रिम रेस’ नाम दिइएको छ । कार्यक्रम संयोजनको जिम्मा नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । रेसमा १२ टोली सहभागी हुने बोर्डले जनाएको छ ।

यो रेस आयोजनाका लागि लाग्ने खर्च आफैंले व्यहोर्ने अगागले बताएका छन् । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment